दुई अर्ब लगानी गर्नुस् ‘प्रधानमन्त्री राष्ट्रिय सम्मान’ पाउनुस्

काठमाडौं, पुस २३- उद्योग मन्त्रालयले ‘प्रधानमन्त्री राष्ट्रिय सम्मान’ प्रदान गर्न मापदण्ड तयार गरिरहेको छ। दुई अर्बभन्दा बढी लगानी गर्ने लगानीकर्तालाई सम्मान गर्ने उद्देश्यअनुरुप यस्तो मापदण्ड तयार गर्न लागिएको हो। हालः यस्ता लगानीकर्ताको राष्ट्रिय सूची तयार गर्ने काम भइराखेको मन्त्रालयका प्रवक्ता यामकुमारी खतिवडाले सूचना तथा सञ्चारमन्त्रालयमा आज आयोजित नियमित सञ्चारकर्मीसित सम्मेलनमा जानकारी दिए। उनका अनुसार चालु आवभित्र यो सम्मान प्रदान गरिनेछ। सूची तयार गर्ने जिम्मेवारी उद्योग विभागलाई दिइएको र विभागले प्राथमिकताका साथ काम गरिराखेको उनले बताए। पत्रकारसम्मेलनमा प्रवक्ता खतिवडाले औद्योगिक कोरिडोरको सुरक्षाका लागि औद्योगिक सुरक्षाबल स्थापनासम्बन्धी निर्देशिका तयार भइराखेको र देशका विभिन्न स्थानमा हस्ताकला ग्राम बनाउन जमिनको खोजी भइराखेको जानकारी दिए।

विशेष आर्थिक क्षेत्र सञ्चालनका लागि गठन आदेश मस्यौदा तयार गरी स्वीकृतिका मन्त्रिपरिषद्मा पेस गरिएको र रुग्ण उद्योगहरु सञ्चालनका लागि काम भइराखेको पनि प्रवक्ता खतिवडाले जानकारी दिए। रासस

Leave a Reply

Your email address will not be published.