मातृका पनि एमाओवादीमै फर्किए, पार्टीको नाम ‘नेकपा माओवादी केन्द्र’ बन्ने

विभिन्न दलबीच एकीकरण गर्ने तयारीमा रहेको एमाओवादीले पार्टीको नाम परिवर्तन गरी नेकपा माओवादी (केन्द्र) राख्ने भएको छ। नारायणकाजी श्रेष्ठ नेतृत्वको एकता केन्द्र मसालसँग एकीकरण गरेपछि पुष्पकमल दाहाल नेतृत्वको नेकपा माओवादीले पार्टीको नाम परिवर्तन गरी एकीकृत नेकपा माओवादी राखेको थियो।
व्यवस्थापिक संसदमा तेस्रो ठूलो दलको रुपमा रहेको एमाओवादीले नेकपा क्रान्तिकारी माओवादीबाट विद्रोह गरी आएका रामबहादुर थापा पक्षधर, मणि थापा नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल, मातृका यादव नेतृत्वको नेकपा माओवादी, तटस्थ रहँदै आएकी जयपुरी घर्ती तथा नेत्र विक्रम चन्द नेतृत्वको माओवादीबाट विद्रोह गरेका बसन्त घर्तीमगरसँग एकता गर्न लागेको हो।

बिहीबार नै एकीकृत पार्टीको घोषणा हुने क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मणि थापाले जानकारी दिए। उनलका अनुसार एकीकृत पार्टीमा केन्द्रिय समिति पाँचसय भन्दा बढीको नबनाउने गरी केन्द्रीय समितिको घोषणा हुनेछ। केन्द्रीय समितिको घोषणापछि महाधिवेशन आयोजक समिति गठन गरिने बताइएको छ।

महाधिवेशन नभएसम्मका लागि रामबहादुर थापा संयोजकमा गठन गरिएको विधान समितिले अन्तरिम विधान पेश गर्ने, एमाओवादी अध्यक्षले प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदन पारित गर्ने कार्यक्रम छ। यसैबीच एकीकरण प्रक्रियाबाट बाहिरिएका नेकपा माओवादी अध्यक्ष मातृका यादव पुन एकीकरण गर्न सहमत भएका छन्। यसअघि उनी एकीकरणबाट बाहिरिएका थिए।

Leave a Reply

Your email address will not be published.