लुम्बिनी भ्रमण वर्ष २०१२ बाट उपलब्धि भएन

भरत केसी- सरकारले १० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ घोषणा गरेको लुम्बिनी भ्रमण वर्ष २०१२ का कार्यक्रम प्रभावकारी नहुँदा भ्रमण वर्षबाट अपेक्षित उपलब्धी नहुने देखिएको छ। भ्रमण वर्षमा पर्यटकलाई लुम्बिनी र बुद्धसँग सम्बन्धित यस क्षेत्रका दर्शनीयस्थलमा पुग्ने कार्यक्रम नहुँदा भ्रमण वर्षमा पर्यटक आगमनको लक्ष्य पूरा नहुने देखिएको हो। निक्कै तामझामका साथ घोषणा र उद्घाटन गरिएको लुम्बिनी भ्रमण वर्ष २०१२ सकिनै लाग्दा उपलब्धिविहीन जस्तै बन्न पुगेको छ।

भ्रमण वर्षको बाँकी तीन महिना मात्र रहँदा अहिलेसम्ममा लुम्बिनी भ्रमणमा आउने पर्यटकको सङ्ख्या आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या पाँच लाख २३ हजार ९३४ पुगेको छ। अबका तीन महिना पर्यटक आगमनको मौसम भए पनि भ्रमण वर्षको व्यापक प्रचारप्रसार नहुनु तथा पर्यटक आकर्षणका लागि कुनै नयाँ योजना नहुनुले भ्रमण वर्षको लक्ष्यअनुसार पर्यटक आगमनको लक्ष्य पूरा नहुने अवस्था देखिएको हो।

लुम्बिनी भ्रमण वर्षमा बुद्ध जन्मस्थल लुम्बिनीमा १० लाख पर्यंटक भित्र्याउने र तिनलाई लुम्बिनीलगायत बुद्धसँग सम्बन्धित क्षेत्रहरू कपिलवस्तुको तिलौराकोट, नवलपरासीको रामग्राम र बुद्ध मावली देवदहलगायतका क्षेत्रको भ्रमण गराएर लुम्बिनीमा पर्यटकको बसाई लम्ब्याउने तथा लुम्बिनी तथा बुद्धधर्मको संसारभर प्राचारप्रसार गर्ने योजना अगाडि सारिएको थियो। तर, भ्रमण वर्षको व्यापक प्रचारप्रसार नहुनु तथा लुम्बिनी तथा बुद्धसँग सम्बन्धित क्षेत्रमा यससँग सम्बन्धित कुनै तयारी तथा पर्यटकलाई ती क्षेत्रमा पुर्‍याउने कार्यक्रम नहुँदा पर्यटक आगमन बढ्न नसकेको हो।

लुम्बिनीमा अधिकांश पर्यटक स्थलमार्ग हुँदै पुग्ने गर्छन्। नेपालको सबैभन्दा धेरै स्थल मार्गबाट पर्यटक नेपाल भित्रिने रुपन्देहीको बेलहिया नाका हो। यो नाकाबाट नेपाल प्रेवश गर्ने करिब ८० प्रतिशतभन्दा बढी पर्यटक लुम्बिनी पुग्ने गरेको अध्यागमन कार्यालय बेलहियाका प्रमुख यादवराज पाण्डे बताउनुहुन्छ।

ती पर्यटकको बसाई औसतमा एक दिनभन्दा बढी नहुने उहाँको भनाइ छ। लुम्बिनीको पर्यटन व्यवसायको प्रवर्द्धनका लागि लुम्बिनीमा पर्यटकको बसाई लम्ब्याउनु जरुरी रहेको उहाँका ठहर छ। लुम्बिनीमा पर्यटक भित्र्याउन नेपालबाटै बुद्ध जन्मस्थल र यससँग सम्बन्धित क्षेत्रको भ्रमण प्याकेज बनाउनुपर्ने बताउँदै उहाँ भन्नुन्छ–यसका लागि भैरहवा विमानस्थलको विस्तार, नेपाली पर्यटन व्यवसायीको व्यवसायिक सोच आवश्यक हुन्छ। अध्यागमन कार्यालयको तथ्याङ्कअनुसार गतवर्षको तुलनामा यस वर्ष पर्यटक आगमन सङ्ख्यामा वृद्धि भए पनि लुम्बिनी भ्रमण वर्षको लक्ष्यलाई पूरा गर्न नसक्ने देखिन्छ।

अध्यागमन कार्यालय बेलहियाका अनुसार सन् २०१२ को सेक्टेम्बरसम्ममा ९३ हजार ५४३ पर्यटक बेलहिया नाकाबाट नेपाल भित्रिएका छन्। यो सङ्ख्या सन् २०११ भन्दा झन्डै नौ हजारले बढी हो। गत वर्ष सोही अवधिमा ८४ हजार ६९४ पर्यटक नेपाल भित्रिएका थिए। सो कार्यालयको तथ्याङ्कअनुसार सन् २०१२ को जनवरीमा उक्त नाकाबाट सात हजार ९५८ पर्यटक नेपाल आएका थिए भने सन् २०११ को सोही महिनामा उक्त सङ्ख्या सात हजार ५५१ रहेको थियो। यस्तै २०१२ को फेबु्रअरी २२ हजार २६९, मार्चमा २३ हजार ३०९, अप्रिलमा सात हजार १४०, जुनमा एह हजार ६५७, जुलाईमा एक हजार ४७५, अगष्टमा दुई हजार ७०७, सेप्टेम्बरमा १८ हजार ६० र अक्टुबरमा आठ हजार ९६८ पर्यटक नेपाल भित्रिएका छन्।

पर्यटक आगमनको मौसम सुरु भएकाले अब यो सङ्ख्या बढ्दै जाने कार्यालय प्रमुख पाण्डे बताउनुहुन्छ। यस्तै सोही अवधिमा लुम्बिनी आएका पर्यटकको तथ्याङ्क हेर्दा जनवरीमा ६ हजार ५९१, फेबु्रअरी २००४५, मार्चमा २०५१९, अप्रिलमा आठ हजार २९५, जुनमा एक हजार ३१६, जुलाईमा दुई हजार ६५१, अगष्टमा १७९२४, सेक्टम्वरमा ७९५५ तेस्रो मुलुकका पर्यटकले लुम्विनीको भमण गरेका थिए।

यसबाहेक सोही अवधिमा तीन लाख ३९ हजार ८५२ आन्तरिक तथा ९७ हजार ४२० भारतीय पर्यटकले लुम्बिनीको भ्रमण गरेको सूचना शाखाले जनाएको छ। लुम्बिनी विकास कोषका कोषाध्यक्ष ओमप्रकाश अर्यालले भ्रमण वर्षको सुरुवातमा प्रचार गरिएजस्तो योजना बन्न नसकेको र भ्रमण वर्षको व्यवस्थापन कमजोर हुनाले प्रभावकारी हुन नसकेको बताउनुहुन्छ। उहाँले भ्रमण वर्षको व्यापक प्रचारप्रसार गरेर १० लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएपनि प्रचारप्रसारको काम अपारदर्शी हुँदा प्रभावकारी बन्न नसकेको बताउँदै भने- भ्रमण वर्षमा १० लाख पर्यटक ल्याउने योजना पूरा हुँदैन।

लुम्बिनी क्षेत्रका पर्यटन व्यवसायी तथा सिद्धार्थ टुरिस्ट एसोसियसन तथा ट्राभल्स एजेन्ट भैरहवाका सल्लाहाकार सागर अधिकारी सरकारले घोषणा गरेको लुम्बिनी भ्रमण वर्ष हल्लाको खेती भएको बताउनुहुन्छ। उहाँले भ्रमण वर्षलाई प्रभावकारी बनाउन निजी क्षेत्र जति जिम्मेवार भयो सरकारी क्षेत्र गम्भीर नहुँदा उपलब्धिविहीन भएको बताउँदै भने ‘सरकारी बजेट सक्ने काम मात्र भ्रमण वर्षको उपलब्धी भयो।’रासस

Leave a Reply

Your email address will not be published.