ध्रुवे हात्तीलाई फसाउन पोथी हात्ती छाडियो

चितवन- हिंस्रक हात्ती नियन्त्रणमा समस्या परेपछि सो हात्तीको आकर्षणका लागि रेडियो कलरले देखाएको सङ्केतको आसपासमा चितवन निकुञ्जले पोथी हात्ती छाडेको छ। गएराति निकुञ्जको पश्चिम क्षेत्र टाइगरटप्स नजिकै रेडियो कलरको सङ्केत आएपछि सो क्षेत्रमा पालुवा पोथी हात्ती उसको आकर्षणका लागि छाडिएको निकुञ्जका रेञ्जर विष्णु थपलियाले जानकारी दिए। 
उनका अनुसार पोथी हात्तीमा आकर्षण हुने भएकाले हिंस्रक हात्ती लोभिने र अन्यत्र नजाने र नियन्त्रणमा सहज हुनेहुनाले यस्तो प्रविधि अपनाएको हो। हात्ती नियन्त्रण हुन नसकेको र माडीवासीको माग सम्बोधन हुन नसकेको भन्दै चितवनमा राजनीतिक दलसमेत आन्दोलित बनेका छन्।
आन्दोलनमा एमाओवादी, नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा–माओवादी, राप्रपा, राप्रपा नेपाल, नेकपा (माले) र राष्ट्रिय जनमोर्चालगायत दलको सहभागिता छ। उनीहरूले हिजो साँझ एक घन्टा चक्काजाम गरेकामा आज बिहान ११ देखि ३ बजेसम्म चितवन बन्दको समेत आह्‍वान गरेका छन्।
यता माडीवासी भने हात्तीको दीर्घकालीन समाधान गर्न निकुञ्ज असफल भएको भन्दै थप आन्दोलनमा उत्रिएका छन्। आन्दोलनमा एक समूह उत्तेजक बन्दै तोडफोडमा समेत उत्रिएपछि हिजो साँझ स्थानीय र प्रहरीबीच यहाँ झडपसमेत भएको छ।
हिजो उनीहरूले प्रहरी कार्यालय, गाविस कार्यालय र मध्यवर्ती क्षेत्रमा तोडफोडमा उत्रिएपछि झडपको स्थिति पैदा भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। सो क्रममा स्थिति नियन्त्रणमा लिन प्रहरीले तीन सेल अश्रुग्याससमेत प्रहार गरेको थियो भने सयौँ प्रहरी जिल्लाबाट त्यस क्षेत्रमा सुरक्षाका लागि खटाइएको छ।
सो क्रममा दुईजना घाइते भएको स्थानीय सन्तोष पनेरुले जानकारी दिनुभयो। हात्ती आक्रमणले गत शनिबार राति यहाँको माडीमा एक बोट दम्पत्तीको ज्यान गएपछि हात्ती मार्ने माग गर्दै स्थानीयले गरेको आन्दोलनका कारण विगत चार दिनदेखि चितवनको जनजीवन प्रभावित हुँदै आएको छ। रासस

Leave a Reply

Your email address will not be published.