उपेन्द्र यादवको टक्कर को सँग? गच्छदारसँग?

gachhadar and upendraकाठमाडौं- मधेसी जनअधिकार फोरम नेपाल सम्पूर्ण शक्तिका साथ चुनावी अभियानमा जाने भएको छ। संविधान सभा निर्वाचनको मिति नजिकिँदै जाँदा उक्त पार्टीले घोषणापत्र तयारी, उम्मेदवार छनोट र चुनावी अभियानजस्ता कार्यक्रमलाई अघि बढाउँदै चुनावमा जाने निर्णय गरेको हो। पार्टीको यही भदौ १४ देखि १७ गतेसम्म बसेको केन्द्रीय समितिको बैठकले संविधानमा राष्ट्रिय पहिचानसहितको सङ्घीयता, समावेशी लोकतान्त्रिक गणतन्त्र, संवैधानिक सर्वोच्चता एवम् विधिको शासनको लागि चुनावमा सम्पूर्ण शक्तिका साथ जाने निर्णय गरेको हो।

“धर्मनिरपेक्षता, आत्मनिर्णयको अधिकारसहित स्वायत्त मधेस प्रदेशको स्थापना, भ्रष्टाचार नियन्त्रण, विभेदको अन्त्य एवम् समानताको अधिकारजस्ता मूल्यमान्यतालाई आत्मसात् गर्दै निर्वाचनमा सम्पूर्ण शक्तिका साथ जानेछौँ,” पार्टीका प्रवक्ता रत्नेश्वरलाल कायस्थले आज आयोजित पत्रकार सम्मेलनमा भने। केन्द्रीय समितिको बैठकले पार्टीको निर्वाचनमा उठ्ने उम्मेदवारको मापदण्ड पनि तय गरेको तथा चुनावी तालमेलको लागि समिति गठन गरेको छ।

“आगामी निर्वाचनका लागि योग्य एवम् सक्षम उम्मेदवारको चयन गर्नेछौँ, त्यसका लागि विभिन्न मापदण्ड तय गरेका छौं,” प्रवक्ता कायस्थले भने। उम्मेदवारको चयन गर्दा लोकप्रिय तथा जनाधार भएको र नैतिक पतनको आरोपमा सजाय नपाएको स्वच्छ छविका चरित्रवान् व्यक्ति हुनपर्ने मापदण्ड सो पार्टीले तयार गरेको छ। त्यस्तै पार्टीप्रति निष्ठावान्, अनुशासित एवम् सङ्घर्षशील क्षमतावान् भएको, विगतका आन्दोलनमा सक्रिय रुपमा सहभागी भएको, घाइते, अपाङ्ग र सहिद परिवारको सदस्य भएको निष्कलङ्क राजनीतिक चरित्र भएको व्यक्ति उम्मेदवार हुने मापदण्ड राखिएको प्रवक्ता कायस्थले जानकारी दिए।

अघिल्लो निर्वाचनमा सो पार्टीले प्रत्यक्षतर्फ ३१ सिट जितेको थियो। समानुपातिकमा २१ र एक मनोनीत गरी ५३ सभासद् थिए। यसपटक पार्टीले प्रत्यक्षतर्फ उम्मेदवार चयन गर्दा हरेक निर्वाचन क्षेत्रीय समितिले कम्तीमा तीन जनताको नाम जिल्ला समितिमा पठाउने, जिल्लाले कम्तीमा एक महिलाको नाम चयन गरी क्षेत्रीय समितिमा पठाउने र क्षेत्रीय समितिले सम्भव भएसम्म अन्तिम नामावली केन्द्रीय समितिमा सिफारिस गर्ने जनाएको छ।

समानुपातिकतर्फ भने जिल्ला समितिले कम्तीमा एक महिला र एक पुरुषसहित पाँच जनासम्मको समावेशिताका आधारमा नाम सिफारिस गरी क्षेत्रीय समितिमा पठाउने छ। त्यस्तो नाम आगामी असोज १ गतेसम्म केन्द्रमा आउने र केन्द्रको निर्णय अन्तिम हुने पार्टीले जनाएको छ।

पार्टीले अर्को संविधान सभाको निर्वाचनमा पार्टीको उद्देश्यसँग सहमत हुने मधेसी, आदिवासी, जनजाति, दलित तथा उत्पीडितका क्षेत्रमा कार्यरत राजनीतिक दलसँगको चुनावी तालमेललाई प्राथमिकता दिनेछ। त्यस्तो तालमेल राष्ट्रिय, क्षेत्रीय र स्थानीयस्तरमा हुने वरिष्ठ नेता भरतविमल यादवले बताए।

आवश्यकताअनुसार तालमेल, समकिरण र मोर्चा बनाउन वरिष्ठ नेता यादवको संयोजकत्वमा रामसहायप्रसाद यादव, रत्नेश्वरलाल कायस्थ, श्रवणकुमार अग्रवाल र अमरेशनारायण झा सदस्य रहेको कार्यदल गठन गरिएको छ।

“धरातलीय यथार्थ हेरेर मधेसी, आदिवासी, जनजाति, दलित तथा उत्पीडितको क्षेत्रमा कार्यरत राजनीतिक दलसँगको चुनावी तालमेललाई पार्टीले प्राथमिकता दिनेछ,” वरिष्ठ नेता यादवले भने। उनले तराईका अलावा विभिन्न निर्वाचन क्षेत्रमा ४० भन्दा कम नहुने गरी प्रत्यक्षको उम्मेदवारी उठाइने बताए। काठमाडौँदेखि मुगुसम्म उम्मेदवारी दिने पार्टीको सोच छ।

पार्टीले चुनावी घोषणापत्र तयार गर्न सचिव कायस्थको संयोजकत्वमा घोषणापत्र मस्यौदा समितिसमेत गठन गरेको छ। सो समितिमा रेखा यादव, डा उमाशङ्करप्रसाद, अमरेशनारायण झा, हृदयनारायण चौधरी, विनोद विश्वकर्मा र समुन चौधरी सदस्य रहेका छन्। पार्टीले निर्वाचनको अभियान सञ्चालनको जिम्मेवारी पनि वरिष्ठ नेता यादवलाई नै दिएको छ। सो समितिमा लालबाबु राउत, रेणुकुमारी यादव, मो इस्तियाक राई, अर्जुन थापा, अभिषेकप्रताप शाह, डा खालिदहुसेन हक,बालकिशोर यादव, अमरेशनारायण झा, मौलानानुरुल होदा, रुन्दीराम, शम्भु झा र ललितबहादुर थापा सदस्य रहेका छन्।

क्षेत्रीयस्तरमा प्रचारको कामलाई तीव्रता दिन विराट् क्षेत्रमा सञ्जय सिंह, सलहेस क्षेत्रमा शैलेन्द्रप्रसाद शाह, सिम्रौनगढ क्षेत्रमा रामसहाय यादव, लुम्बिनी क्षेत्रमा अभिषेकप्रताप शाह, अवध क्षेत्रमा मो इस्तियाक राई र काठमाडौँ उपत्यका क्षेत्रमा वीरेन्द्र प्रधान संयोजक तोकिएका छन्। केन्द्रीय समितिको बैठकले केन्द्रीय सल्लाहकारमा ललितबहादुर थापा, क्षेत्रीय समिति सदस्यमा सीताराम साह र कोमलप्रसाद यादव तथा विराट् क्षेत्रका सदस्यमा श्यामप्रसाद मण्डललाई मनोनयन गरेको पार्टीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। सूर्यचन्द्र बस्नेत/रासस

Leave a Reply

Your email address will not be published.