प्रधानमन्त्रीलाई बास बस्न राउटेको निम्तो

दाङ- लोपोन्मुख राउटेहरुले प्रधानमन्त्री डा बाबुराम भट्टराई आफ्नो बस्तीमा नआएकोप्रति गुनासो व्यक्त गरेका छन्। घोराहीमा आज आयोजित साक्षात्कार कार्यक्रममा राउटे मुखिया प्रकाश शाहीले विभिन्न जातजातिका बस्तीमा पुगेका प्रधानमन्त्रीले आफूहरुलाई उपेक्षा गरेको भन्दै दुःख व्यक्त गर्नुभयो। मुखिया शाहीले प्रधानमन्त्री अनि राष्ट्रपतिलाई आफ्नो बस्तीमा निम्तो दिँदै राउटेका दुःख बुझ्न माग गर्नुभयो। बस्तीमा आएका अतिथिलाई आफूहरुले खाँदैआएको खानेकुरा खुवाउने पनि उनले बताए।

राउटेसँग पहिलो पटक आयोजित साक्षात्कारमा सहभागी राउटेले आफूहरुले समयमै भत्ता नपाएको बताए। राउटेले भने– “आफ्नो बस्तीमा प्रधानमन्त्री आएमा हाम्रा दुःख बुझ्नेछन्।” प्रधानमन्त्री र मन्त्रीहरु आएपछि आफ्नो भत्ता बढ्ने आशा उनीहरुले व्यक्त गरे।

साक्षात्कारमा राउटे उत्थान प्रतिष्ठानका अध्यक्ष सत्यदेवी अधिकारी र नेपाल आदिवासी जनजाति महासङ्घका केन्द्रीय सदस्य यज्ञबहादुर बुढाले राउटे जातिको संरक्षण तथा प्रवर्द्धनका लागि विशेष कार्यक्रम ल्याउन सरकारसँग माग गरे। रासस

Leave a Reply

Your email address will not be published.