पूर्वसैनिकको सुन्दरीमा रुपान्तरण

वासिङटन, एजेन्सी– चिकित्सा क्षेत्रमा सेक्स चेन्ज अर्थात लिंग परिवर्तनले अहिले पनि समाजमा बहस निम्त्याउने गरेको भए पनि विश्वमा पहिलो लिंग परिवर्तन भएको ६० वर्ष पुगेको छ। विश्वमा नै सफल लिंग परिवर्तन भएको वर्ष सन् १९५२ मा शल्यक्रियाका साथै हर्मोन थेरापी समेत गरिएको थियो। त्यसबेला एक अमेरिकाली अखबारले लिंग परिवर्तनको पहिलो घटनालाई ‘सुनकेस्रा सुन्दरी बने पूर्वसैनिक’ शिर्षकमा भँगेराटाउके अक्षरमा समाचार छापेको थियो।
६० वर्षअघि न्युयोर्कवासी एक नम्र युवक जर्ज योर्गेन्सनले संसारको शक्तिशाली राष्ट्र अमेरिका हल्लाइदिए। जर्ज डेनमार्क गए र त्यहाँबाट जर्जको साटो ग्ल्यामरस क्रिस्टीनमा रुपान्तरण भएर अमेरिका फर्किए। छरितो पातलो शरीरकी २७ वर्षीय क्रिस्टीन फर कोट लगाएर न्युयोर्क एयरपोर्टमा उत्रिदाँ सबै जिल्ल परे।
बालापन राम्रैसँग बिताएक पूर्वसैनिक जर्ज किशोरावस्थामा पुग्दा उनी आफू गलत शरीरमा फसेको अनुभूति र विश्वास हुन थालेको थियो। क्रिस्टीनबारे सन् १९८० मा फिल्म निर्माण गरेका डेनिस डक्युमेन्ट्री फिल्म निर्माता डक्टर टीट रिट्जका अनुसार त्यसबेलाका तस्बिर हेर्दा जर्ज गेजस्ता देखिए पनि उनले आफूलाई कहिल्यै समलैंगिकतासँग जोडेनन्। टीटका अनुसार जर्ज आफूलाई पुरुष शरीरमा कैद भएकी महिला मान्थे।
क्रिस्टीनले आफ्नो आत्मकथामा जर्ज अर्थात पुरुषका रुपमा आफू पुरुषप्रति आकर्षण अनुभव गर्ने उल्लेख गरेकी छिन्। पुरुषप्रति आकर्षित हँुदासमेत उनलाई कुनै पुरुषले यौन सम्बन्ध गाँस्ने प्रस्ताव राख्दा उनलाई नरमाइलो लाग्ने आफ्नो आत्मकथामा खुलाएकी छिन्।
सन् १९४० ताका क्रिस्टीनले एक पुरुष अर्थात जर्जका रुपमा अमेरिकाली सेनामा केही समय काम गरीन्। सेनामा कार्यरत रहँदा जर्जले एक डेनिस डक्टर क्रिस्चियन ह्यामबर्गरको एउटा लेख पढ्ने मौका जुर्‍यो। लेखमा डक्टर क्रिस्चियनले जनाबरको हार्मोनमाथि परीक्षण गरी लिंग परिवर्तन थेरापी प्रयोग गरेको उल्लेख गरेका थिए।
लेख पढेपछि सन् १९५० मा डक्टर क्रिस्चियनलाई भेट्न जर्ज डेनमार्क भ्रमणमा गए। जर्जका आमाबाबु दुवै डेनिस मूलका भएकाले उनी त्यहाँ जाँदा उनको परिवारले कुनै विरोध गरेन। तर उनले आफ्नो डेनमार्क भ्रमणको उद्देश्य कसैलाई बताएका थिएनन्।
जर्जले एकपल्ट भनेका थिए, ‘म त्यसबेला अलि आत्तिएको थिएँ। त्यतिखेर अधिकांस मानिस मलाई बौलाहा ठान्थे। तर डक्टर क्रिस्चियनलाई भने ममा केही अनौठो कुरा छ भन्ने लाग्थ्यो।’
डेनमार्कमा डक्टर क्रिस्चियनसँग भेट गरेपछि जर्जले एक वर्षसम्म हार्मोन थेरापी गराए। एक वर्षपछि जर्जको शल्यक्रिया शुरु भयो। शल्यक्रिया गरी जर्जको पुरुष जननेन्द्रिय महिला जननेन्द्रियमा परिवर्तन गर्नु थियो। शल्यक्रियापछि पुरुष जर्जबाट महिला बनेकी क्रिस्टीनले आरामदायी जीवन गुजारिन्।
शल्यक्रिया कसरी भयो र के भयो भन्ने खासै कसैलाई थाहा छैन। दशकौंअघि लिंग परिवर्तन गर्न प्रयास गर्ने केही सर्जनको प्रयासले नै डक्टर क्रिस्चियन र उनको टोली जर्जको लिंग परिवर्तन गर्न मार्गदर्शन गरेको थियो होला भन्ने लख काटिन्छ।
विश्वमा लिंग परिवर्तन गर्ने प्रथम प्रयास सन् १९३० को दशकमा तत्कालिन पश्चिम जर्मनीको बर्लिनमा गरिएको थियो। बर्लिनमा एक महिला लिलि एल्बीको लिंग परिवर्तन गर्ने प्रयास गरिएको थियो। प्रयास असफल भयो र लिलिको मृत्यु भयो। लिलिको लिंग परिवर्तनको शल्यक्रिया प्रयासको असफलताले सिकाएका पाठ डक्टर क्रिस्चियनको चिकित्सक टोलीलाई मार्गदर्शक बनेका हुन सक्ने अड्कल गरिन्छ।
क्रिस्टीनमाथि डकुमेन्ट्री बनाएका टीटको भनाइ अनुसार क्रिस्टीन सन्तुष्ट भएको हिसाबले जर्जको लिंग परिवर्तन सर्जरी सफल भएको मान्नु पर्छ। क्रिस्टीनले आफ्नो शारीरिक संरचनाबारे कसैलाई पनि खुलस्त बताइनन्। तर उनले आफ्ना अन्तर्वार्तामा केही आधारभूत कुरा भने बताएकी थिइन्। सन् १९५८ मा उनले एउटा अन्तर्वातामा भनेकी थिइन्, ‘हो, म सन्तान जन्माउन सक्दिँन। तर यसको अर्थ म प्राकृतिक रुपमा सहवास गर्न सक्दिनँ भन्ने कदापी होइन।’
लिंग परिवर्तनपछि उनले आफ्ना बाबुआमालाई लेखेकी थिइन्, ‘प्रकृतिले गरेको गल्ती मैले सुधारें र अब म तपाइकी छोरी बनेकी छु।’ परिवारले उनलाई साथ दिएको थियो।
क्रिस्टीनले हलिउडमा समेत आफ्नो करियर बनाइन्। अमेरिका फर्केपछि क्रिस्टीनको भव्य स्वागत भयो। हलिउडले उनलाई खुला स्वागत गर्दै अँगालोमा बाँध्यो। उनलाई नाटक र फिल्मका अफर आउन थाले। ठूल्ठुला पार्टीमा समेत उनलाई निम्त्याउन थालियो।
आफ्नो पछिल्लो जीवनमा क्रिस्टीन औधी सफल भइन्। कुरा छिनेको केही समयपछि नै उनको पहिलो बिहेको कुरा भंग भयो। दोस्रो सम्बन्ध भने रजिस्ट्रारको कार्यालयमा पुगेर टुंगियो। जन्म प्रमाणपत्रमा उनलाई एक पुरुष उल्लेख गरिएका कारण रजिस्ट्रार कार्यालयले उनलाई पुरुषसँग बिहे गर्ने अनुमति दिएन।
डकुमेन्टरी निर्माता टिटका अनुसार क्रिस्टीनले एक्लै बस्नु परे पनि राम्रोसँग आफ्नो जिन्दगी बिताइन्। सन् १९८९ मा ६२ वर्षको उमेरमा क्रिस्टीनको मृत्यु भयो। मृत्युको एक वर्षअघि मात्र उनले डेनमार्कमा उनको लिंग परिवर्तन गर्ने डक्टर टोलीसँग भेट गरेकी थिइन्। त्यसबेला उनले सञ्चारमाध्यमसँगको कुराकानीमा उनको लिंग परिवर्तन इतिहासको एक कोसे ढुंगो भएको बताएकी थिइन्।

Leave a Reply

Your email address will not be published.