११ जना सहसचिव सचिवमा बढुवा

काठमाडौं- मन्त्रिपरिषद्को आज बसेको बैठकले ३३ जना सहसचिवमध्येबाट ११ जनालाई सचिव पदमा बढुवा गरेको छ। त्यसैगरी कृषि विकास मन्त्रालयका सचिव डा गणेशराज जोशीलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको सचिवमा सरुवा गरेको छ।

बढुवा हुनेहरूमा नारायणकुमार मलेगु, उद्धव बास्कोटा, जनार्दन नेपाल, लक्ष्मणकुमार पोखरेल, सुमनप्रसाद शर्मा, शान्तराज सुवेदी, आत्माराम पाण्डे, रणबहादुर श्रेष्ठ, शारदाप्रसाद त्रिताल, नरेन्द्र दाहाल र शान्तबहादुर श्रेष्ठ रहेको नेपाल सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री राजकिशोर यादवले जानकारी दिए।
यसैगरी अर्थ मन्त्रालयका सचिव कृष्णहरि बाँस्कोटालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिएको छ भने नारायणगोपाल मलेगुलाई पनि सोही कार्यालयको सचिवको जिम्मा दिइएको छ।

बढुवा भएका सचिव शान्तराज सुवेदीलाई अर्थ मन्त्रालयको जिम्मा दिइएको छ भने लक्ष्मणकुमार पोखरेललाई उपराष्ट्रपतिको कार्यालयमा पदस्थापन गरिएको छ।

कृषि विकास मन्त्रालयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव जयमुकुन्द खनाललाई लगिएको छ भने रणबहादुर श्रेष्ठलाई भूमिसुधार तथा व्यवस्था मन्त्रालय र शान्तबहादुर श्रेष्ठलाई सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मा दिइएको छ।

यसैगरी उद्योग मन्त्रालयमा कृष्ण ज्ञवाली, महिला बालबालिका तथा समाज कल्याणमा दिनेशहरि अधिकारी, राष्ट्रपति कार्यालयमा धु्रव शर्मा, शान्ति तथा पुनःनिर्माण मन्त्रालयमा सुशील घिमिरे र युवा तथा खेलकुद मन्त्रालयमा हरि नेपाललाई सरुवा गरिएको छ।

 

Leave a Reply

Your email address will not be published.