यसवर्ष बाँके र बर्दियामा धान उत्पादन घट्यो

निरज गौतम, नेपालगन्ज- मध्यपश्चिमाञ्चल विकास क्षेत्रको अन्नभण्डार मानिने बाँके र बर्दिया जिल्लामा यसवर्ष धान उत्पादनमा कमी आएको छ। ती जिल्लाका कृषि विकास कार्यालयका अनुसार, समयभित्र अनुकूल वर्षा नभएका कारण कम क्षेत्रफलमा खेती भएका कारण उत्पादनमा कमी आएको हो। तथ्याङ्कअनुसार गत वर्ष ५२ हजार हेक्टर क्षेत्रफलमा धानखेती गरिएको बर्दिया जिल्लामा यसवर्ष समयमा पर्याप्त वर्षा नभएका कारण ४५ हजार २०० हेक्टर क्षेत्रफलमा मात्र धानखेती गर्न सकिएको हो।

गतवर्ष बर्दिया जिल्लामा एक लाख ८२ हजार ७०० मेटि्रक टन धान उत्पादन भएकोमा यसवर्ष भने एक लाख ५८ हजार २०० मेटि्रक टन मात्र उत्पादन भएको छ। अनुकूल समयमा पर्याप्त वर्षा नभएका कारण बाँके जिल्लामा पनि धानखेतीको क्षेत्रफल यसवर्ष घट्नुका साथै उत्पादनमा पनि भारी कमी आएको छ।

जिल्ला कृषि विकास कार्यालय बाँकेका प्रमुख युगलकिशोर तिवारीका अनुसार यसवर्ष करिब ३५ हजार हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएकामा प्रतिहेक्टर तीन दशमलव २१ मेटि्रक टन धान उत्पादन भएको छ। यस जिल्लामा गतवर्ष ३६ हजार हेक्टर क्षेत्रफलमा धान रोपाइँ गरिएकोमा एक लाख १९ हजार ७२० मेटि्रक टन धान उत्पादन भएको प्रमुख तिवारीले बताए।
बाँके जिल्लाको कूल खेतीयोग्य जमिन करिब ५७ हजार हेक्टरमध्ये १५ हजार हेक्टरमा मात्र सिँचाइ सुविधा पुर्‍याउनु सकिएको छ भने बर्दिया जिल्लामा बबई सिँचाइ आयोजनाबाट त्यहाँका कृषक लाभान्वित हुने गरेको कृषि विकास कार्यालयले जनाएको छ।
यसवर्ष धानको उत्पादन घटेर त्यस जिल्लाका कृषक आर्थिक मारमा परेका छन्। त्यसमाथि सरकारले धान खरिदको समर्थन मूल्य नतोक्दा उनीहरू थप चिन्तित भएका छन्।
नेपालगन्जस्थित नेपाल खाद्य संस्थानको अञ्चल कार्यालयले छठपछि किसानसँग धान खरिद गर्ने योजना बनाए पनि सरकारीस्तरबाट धानको समर्थन मूल्य नतोकिदा खरिद कार्यसमेत प्रभावित भएकाले किसानहरू इन्तु न चिन्तुको अवस्थामा पुगेका छन्।
सरकारले समर्थन मूल्य तोके लगत्तै स्थानीयस्तरमा धान खरिद गर्न सुरु गरिने संस्थानले जनाएको छ। संस्थानले बाँके जिल्लामा मोटो धान प्रतिक्विन्टल रु एक हजार ६७५, कम मोटो रु एक हजार ८०५ र मसिनो रु दुई हजार ५ खरिद मूल्य निर्धारण गरिसकेको छ। रासस

Leave a Reply

Your email address will not be published.