गतिरोध अन्त्यका लागि दाहाल-कोइरालाबीच भेटवार्ता

काठमाडौं- वर्तमान राजनीतिक गातिरोधको अन्त्य र सहमतीय सरकारको गठनका विषयमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति सुशील कोइरालाबीच कोइराला निवास महाराजगञ्जमा छलफल भएको छ। उनीहरुबीच केही समयका लागि संविधान सभा पुनःस्थापना गरेर विगतमा सहमति भएका बुँदाहरु समेटेर संविधान जारी गर्ने अथवा ताजा जनादेशमा जाने भन्ने विषयमा छलफल भएको थियो।
राजनीतिक गतिरोध गहिरिँदै जाँदा दलहरुबीचको दूरी बढ्न थालेको भन्दै तिहारअगाडि नै राजनीतिक निकासका लागि सहमति खोज्न पनि उनीहरुबीच गम्भीर कुराकानी भएको बताइएको छ।

एमाओवादीका अध्यक्ष दाहालले सम्भव भएसम्म संसद् पुनःस्थापना गर्ने र यदि त्यसो नभए ताजा निर्वाचनमा जानेलगायतका विषय समेटिएको प्रस्ताव लिएर नेका सभापति कोइरालासँग छलफल गरेको बुझिएको छ।

अध्यक्ष दाहालको सो प्रस्तावका सम्बन्धमा प्रतिक्रिया दिँदै सभापति कोइरालाले भने, ‘अध्यक्ष दाहालको प्रस्तावमा विश्वासिलो आधार र पत्याउन सकिने अवस्था देखिएन।’ उनले अध्यक्ष दाहालको बोली र व्यवहारमा फरक भएको र पटकपटक आफूहरुलाई धोका दिएकाले विश्वास गर्ने आधार छैन भने।

सभापति कोइरालाले संविधान सभाको पुनःस्थापनाभन्दा ताजा जनादेशमा जानुपर्ने नेपाली कांग्रेसको धारणा रहेको बताए। उनले भने, ‘नेपाली कांग्रेसलाई संविधान सभा वा संसद्को पुनःस्थापना कुनै हालतमा पनि मान्य हुने छैन।’

‘निर्वाचनमा जानका लागि वर्तमान सरकारको विघटन भई नयाँ सहमतिको सरकार निर्माण हुनु आवश्यक छ,’ सभापति कोइरालाले सञ्चारकर्मीसित भने। त्यस्तै एमाओवादी अध्यक्ष दाहालले संविधान सभा पुनःस्थापना गरी सहमति भएका विषयलाई समावेश गरी संविधान जारी गर्न सकिने र त्यसो हुन नसके निर्वाचनमा जान सकिने बताए।

अध्यक्ष दाहालले सोही प्रस्तावमा आजै नेकपा (एमाले) अध्यक्ष झलनाथ खनाल र अर्का वरिष्ठ नेता माधवकुमार नेपालसँग छलफल भएको जानकारी गराए। अध्यक्ष खनाल र वरिष्ठ नेता नेपालले एकै स्वरमा वर्तमान प्रधानमन्त्री बाबुराम भट्टराईले पदबाट राजीनामा दिई नयाँ सहमतीय सरकारको गठन गर्न मार्गप्रशस्त गर्नुपर्ने र ताजा जनादेशमा जानुपर्ने सुझाव दिएका थिए। रासस

Leave a Reply

Your email address will not be published.