अध्यक्ष दाहाल र सभापति कोइरालाबीच भेटवार्ता

काठमाडौं- राष्ट्रिय सहमति सरकार गठनको विषयमा एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल र नेपाली काँग्रेसका सभापति सुशील कोइरालाबीच भेटवार्ता भएको छ। अध्यक्ष दाहालको निवास लाजिम्पाटमा भएको भेटमा काँग्रेस सभापति कोइरालाले राष्ट्रिय सहमतिको सरकार गठनमा सहयोग गर्न एमाओवादीलाई आग्रह गरेका थिए। 
भेटमा सभापति कोइरालाले एमाओवादी र नेकपा(एमाले)ले दुई–दुई पटक सरकारको नेतृत्व गरिसकेको अवस्थामा काँग्रेसलाई सरकारको नेतृत्व दिँदा संविधान सभाको निर्वाचनमा सहज हुने धारणा राखेका थिए।
सभापति कोइरालाको जिज्ञासामा अध्यक्ष दाहालले वर्तमान सरकारलाई नै राष्ट्रिय सहमतिको सरकार बनाउनका लागि सहयोग गर्न आग्रह गरेका थिए। भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सभापति कोइरालाले आफूले एमाओवादी अध्यक्षसँग राष्ट्रिय सहमतिको सरकार गठनमा सहयोग गर्न आग्रह गरेको जानकारी दिए।
‘आफ्नो आग्रहमा एमाओवादी अध्यक्ष दाहालले आफ्नो पार्टीको बैठक बसेर निर्णय गर्ने र नेपाली कांग्रेसलाई सरकार गठनका सम्बन्धमा उचित जवाफ दिने बताउनुभयो” भेटपछि सभापति कोइरालाले बताए।
छलफल एकदमै सकारात्मक रहेको र वर्तमान राजनीतिक सङ्कटको निकासका लागि दुवै दल मिलेर जाने विषयमा सहमति भएको बताइएको छ। राष्ट्रपतिले राष्ट्रिय सहमतिको सरकार गठनका लागि दिनुभएको समयसीमा दुई दिनमात्रै बाँकी रहेको अवस्थामा एमाओवादी अध्यक्ष दाहाल र काँग्रेस सभापति कोइरालाबीच भेटवार्ता भएको हो। रासस

Leave a Reply

Your email address will not be published.