विवाह पञ्चमीमा अयोध्याबाट विशेष जन्ती आउने

जनकपुरधाम- यही पुस २ गते हुने सीता–राम विवाह महोत्सव (विवाह पञ्चमी) मा यसपटक भारतको अयोध्याबाट भगवान् रामको विशेष जन्ती आउने भएको छ। सीता–राम विवाह महोत्सव मूल समारोह समितिका अध्यक्ष एवम् जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णवका अनुसार यसपटक अयोध्याबाट विशिष्ट साधुसन्त र महन्त भगवान् रामको जन्तीमा आउने छन्।
जनकनन्दिनी सीताको विवाह भएको दिनको स्मरणमा मिथिलावासीले गोस्वामी तुलसीदासद्वारा रचित रामायणमा भएको वर्णनअनुसार सीता–राम महोत्सवलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन्।
त्रेतायुगमा मिथिला नरेश जनकले आफ्नी छोरीको स्वयम्बरका लागि राखेका शिवधनुषलाई अयोध्याका राजा दशरथका ज्येष्ठ सुपुत्र रामले उठाएपछि सीता र रामको विवाह सम्पन्न भएको थियो।
सोही विवाहको स्मरणमा यहाँ मार्ग शुक्ल पञ्चमीका दिन परापूर्वकालदेखि विवाह पञ्चमी महोत्सव मनाउने चलन छ। विवाह महोत्सव मनाउने क्रममा मिथिलाको संस्कृतिअनुसार प्रतीकात्मक रूपले मटकोर, तिलकोत्सव, स्वयम्बर र विवाह संस्कार सम्पन्न हुन्छन्। रासस

Leave a Reply

Your email address will not be published.