जनगणनामा तेस्रो तथा समलिङ्गीको सङ्ख्या उल्लेख नभएकोप्रति आपत्ति

ललितपुर- राष्ट्रिय जनगणनाको अन्तिम तथ्याङ्कमा समलिङ्गी तथा तेस्रोलिङ्गीको सङ्ख्या उल्लेख नभएकोमा नीलहिरा समाजले आपत्ति जनाएको छ। समाजका कार्यकारी निर्देशक सुनिलबाबु पन्तले आज विज्ञप्ति प्रकाशन गरी जनगणनामा समलिङ्गी तेस्रोलिङ्गीको सङ्ख्या उल्लेख नहुनु दुःखद भएको उल्लेख गरे। 
पहिचान पाउन निरन्तर १२ वर्षदेखि सङ्घर्ष गर्दै आएको समलिङ्गी तेस्रोलिङ्गीलाई जनगणनाको अन्तिम तथ्याङ्कमा समावेश नगरेर सरकारले पिडा दिएको नीलहिरा समाजले उल्लेख गरेको छ।
समाजले दस/दस वर्षमा हुने जनगणनामा समलिङ्गी तेस्रोलिङ्गी समुदायलाई समावेश नगरेर राज्यले पहिचान पाउने सङ्घर्ष ओझेलमा पार्न खोजेको जनाएको छ। यसरी नेपाली नागरिक भएको पहिचानसहितको नागरिकता नदिन, जनगणनामा सङ्ख्या नै उल्लेख नगर्ने जस्ता काम राज्यबाट भइरहे चुप लागेर नबस्ने नीलहिरा समाजले चेतावनी दिएको छ।
समाजको तथ्याङ्कअनुसार नेपालमा समलिङ्गी तथा तेस्रोलिङ्गीको सङ्ख्या चार लाख छ। रासस

Leave a Reply

Your email address will not be published.