कात्तिकभित्र बजेट ल्याउने एमाओवादी निर्णय

काठमाडौं- एकीकृत नेकपा (माओवादी)ले जुनसुकै हालतमा पनि कात्तिकभित्र पूर्ण बजेट ल्याउने निर्णय गरेको छ। सरकारले गत असार मसान्तमा प्रस्तुत गरेको एक तृतीयांश बजेट यही कात्तिक मसान्तमा सकिने भएकाले राष्ट्रलाई आर्थिक अराजकता र सङ्कटबाट मुक्त राख्नका लागि पूर्ण बजेट नै ल्याउनुपर्नेमा एमाओवादीले जोड दिएको हो।

बजेट र आर्थिक विषयमा कुनै पनि दलले राजनीति गर्न नहुने भन्दै एमाओवादीले बजेटका विषयमा सहमति गर्न आग्रह गरेको छ। बजेटका विषयमा राजनीति गर्नेहरु देश र जनतालाई भड्खालोमा हाल्न चाहेने तत्वहरु रहेको एमाओवादीले ठहर गरेको सो पार्टीका नेता एवम् अर्थमन्त्री वर्षमान पुनले बताए। बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अर्थमन्त्री पुनले देश र जनतालाई ध्यानमा राखेर कात्तिक मसान्तमा पूर्ण बजेट ल्याउने निर्णय गरेको जानकारी दिए।
बैठकले कात्तिक मसान्तभित्र बजेट ल्याउन सरकारलाई निर्देशन दिएको छ भने बजेटको विषयमा सहमति जुटाउन दलका प्रतिनिधिलाई लिखित पत्र पेस गर्ने निर्णयसमेत एमाओवादीले गरेको छ।
एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल निवास लाजिम्पाटमा आज बसेको बैठकले सहमतिका लागि विपक्षी दलहरुसँग अधिकतम प्रयास गर्ने निर्णयसमेत गरेको अर्थमन्त्री पुनले जानकारी दिए। राजनीतिक सहमति नभए पनि कात्तिक मसान्तभित्र बजेट ल्याउने निर्णय भएको मन्त्री पुनले जानकारी दिए।
बैठकले नयाँ चुनाव भएमा त्यसको लागि तयारीमा लाग्ने र संविधान सभाको पुनःस्थापनाको लागि पनि प्रयास जारी राख्ने निर्णयसमेत गरेको छ। रासस

Leave a Reply

Your email address will not be published.