राष्ट्रपतिद्वारा सहमतिका लागि फेरि दबाब

काठमाडौं- राष्ट्रपति रामवरण यादवले प्रमुख चार दलका शीर्ष नेताहरुलाई लामो समयसम्म देशलाई सङ्क्रमणकालमा नराख्न छिटो सहमतिमा पुग्न आग्रह गरेका छन्। उनले शीर्ष नेताहरुलाई बजेट पनि सहमतिमै ल्याउन र सहमतिबाटै राजनीतिक निकास निकाल्न पनि आग्रह गरे। राष्ट्रपति यादवले राष्ट्रपति भवन शीतल निवासमा आज गर्नुभएको छलफलमा आफू यो संस्था (राष्ट्रपति) मा रहेको नाताले पनि छिटो दलहरुबीच सहमति बनेको देख्न चाहेको भन्दै दुईचार दिन समय लागेपनि सहमति निकाल्न जोड दिए।
राजनीतिक दलहरुबीच सहमति नभइकन आफूले केही पनि नगर्ने भन्दै राष्ट्रपति यादवले राष्ट्रलाई सर्वोपरी ठानेर दलहरुबीच हुने निर्णयलाई आफूले मान्ने भएकाले बजेटलगायतका सबै विषयमा चाँडो सहमतिमा पुग्नका लागि भन्नुभएको नेताहरुले छलफल पछि जानकारी दिए।
राजनीतिक गतिरोध अन्त्यका लागि राष्ट्रपतिले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, नेपाली काँग्रेसका सभापति सुशील कोइराला, नेकपा (एमाले)का अध्यक्ष झलनाथ खनाल र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका अध्यक्ष विजयकुमार गच्छदारलाई बिहान राष्ट्रपति भवन बोलाएका थिए।
निर्वाचनमा जाने कुरामा लगभग सहमति भएको तर निर्वाचनमा जाने प्रक्रिया, संविधान संशोधन र संविधानसभाको सङ्ख्यालगायतका विषयमा अब शीर्ष नेताहरु वार्तामा बसेर सहमतिमा पुग्ने भेटपछि ती नेताले पत्रकारलाई बताए।

‘चार मुख्य दलहरुबीच सहमति गरेर नआइकन म केही गर्दिनँ, तपाइँहरु चाँडै सहमतिमा पुग्नुस्, तपाइँहरुले गरेको निर्णय म मान्छु र बजेटलगायतका सबै कुरामा सहमति गरेर आउनुस्”, छलफलमा राष्ट्रपतिले राख्नु भएको भनाइ उद्धृत गर्दै नेपाली काँग्रेसका सभापति कोइरालाले भने।

सभापति कोइरालाले एकलौटीरुपमा चुनाव घोषणा गरेपछि विश्वासको सङ्कट देखिएकाले विश्वासको वातावरण बनाउन सहमति चाहिएको बताए। ‘मुलुकलाई सङ्क्रमणकालमा धेरै दिनसम्म नराख्न छिटो सहमति गर्नुस्, सहमतिले नै बजेट ल्याउनुस् र सहमतिबाटै राजनीतिक समाधान खोज्नुस्,’ मधेसी मोर्चाका अध्यक्ष गच्छदारले पनि छलफलमा राष्ट्रपतिले भन्नुभएको भन्दै पत्रकारलाई बताए।
मधेसी मोर्चाका अध्यक्ष गच्छदारले संविधान सभाको पुनःस्थापना असम्भव छ र अहिलेको सबैभन्दा उचित समाधान भनेको निर्वाचन हो भनेर आफूले भन्दै आएको स्मरण गराउँदै त्यसमा अब ठूला दल सहमतिमा पुगे सायद अब त्यो बदलिँदैन भनेर
उनले सहमतिले नै चुनाव हुन्छ भन्दै सहमतिकै सरकारमा कुरा अड्किएको बताउनु भयो। राष्ट्रिय सहमतिको सरकार पनि निर्माण हुने र कात्तिकभित्रै सहमतिको लागि प्रयास गर्ने, नभए मङ्सिरको दोस्रो हप्तासम्म सबै कुरा टुङ्गिने उनको भनाइ थियो।

दलका नेताहरुले भने अब ताजा निर्वाचनमा जाने कुरामा प्रतिबद्धता जनाएका छन्। सम्भव भए कात्तिकभित्रै र नभए मङ्सिरको दोस्रो सातासम्म चुनाव, राष्ट्रिय सहमति सरकार र बजेटलगायतका विषयमा सहमतिमा पुग्ने भनाइ नेताहरुले राष्ट्रपपतिसमक्ष राखेका थिए। तर मूल कुरा राष्ट्रिय सहमतिको सरकार गठनको विषय भने अझै जटिल रहेको नेताहरुको भनाइ थियो।

एमाओवादीका अध्यक्ष दाहालले दलहरुबीच धेरै विषयमा छलफल भइराखेको र कयौंमा सहमति नजिक पुगिएको तर एकाध विषय जटिल भएकाले त्यसमा पनि सहमति बनाउने कोसिस गरिरहेको कुरा राष्ट्रपतिलाई अवगत गराएको बताए।

नेकपा (एमाले)का अध्यक्ष खनालले सरकार, सरकारमा रहेका दलहरु र प्रतिपक्षी दलहरुबीच सहमति नबनेकामा राष्ट्रपतिले चिन्ता प्रकट गर्नुभएको जानकारी दिए। उनले अरु सङ्कट झेल्दै जान सकिएला तर आर्थिक सङ्कट झन् खतरनाक हुने हुनाले बजेट कसरी ल्याउने भन्नेमा सहमति नहुनु चिन्ताको विषय भएको बताए। ‘त्यसो हुनाले पनि सहमति जरुरी छ, पार्टीहरु गम्भीरतापूर्वक, नियमित र लगातार बसेर सहमतिमा पुग्नुस् भन्ने राष्ट्रपतिको भनाइ थियो,’ अध्यक्ष खनालले भने। रासस

Leave a Reply

Your email address will not be published.