भवनकुमार थारु बने नेकपा बर्दिया अध्यक्ष

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टी एकता भएको झण्डै एक वर्षपछि जिल्ला अध्यक्ष र सचिवको टुंगो लगाएको छ। नेकपाले सार्वजनिक गरेको सूचीअनुसार थारु समुदायका एकजनामात्र जिल्ला अध्यक्ष भएका छन्। सचिवमा भने कुनै थारु अटाएनन्। नेकपाले माओवादीका तर्फबाट भवनकुमार थारुलाई बर्दियाको अध्यक्ष बनाएको छ। तत्कालीन एमालेको तर्फबाट भने कुनै थारुहरु अध्यक्ष वा सचिवमा परेनन्।

भवनकुमार थारुको जन्म बिसं २०२७ साल पुस १८ गते बर्दियाको बदालपुर कृष्णनगरमा भएको हो। उहाँको परिवार हाल मोतीपुर गाविस ७ सतरियामा बस्छ । उनी २०५४ सालमा माओवादीमा प्रवेश गरेका थिए। २०५४ चैतमा थारु राष्ट्रिय मुक्ति मोर्चामा संगठित भएका थारु २०५५ सालको सुरुमै पार्टी सदस्यता लिएर एरिया समितिको सदस्य भएका थिए।

४ महिनाभित्रै उनी एरिया सेक्रेटरीसमेत बनेका थिए। उनी २०५६ सालमा जिल्ला सदस्य, २०५७ मा क्षेत्रीय इञ्चार्ज र २०६० सालमा बाँके र बर्दियाको सेक्रेटरी भएर काम गरेका थिए। ०५९ सालमा अखिल नेपाल किसान संघ(क्रान्तिकारी) को भेरी कर्णाली अध्यक्ष भएर काम गरेका थारु ०६६ सालमा थारु राष्ट्रिय मुक्ति मोर्चाको केन्द्रीय सदस्य भएर पनि काम गरे।

२०६० सालमा उनलाई माओवादीले आफ्नो लडाकु संगठनमा सरुवा गरेपछि ८ महिना छैटौ डिभिजनको राजनीतिक कमिसार भएका थिए।
व्यवस्थापन संकायबाट प्रमाणपत्र तह उत्तीर्ण गरेका थारुले राजनीतिमा लागेर ठूलो क्षति पनि व्यहोरेका छन्। उनकी जीवन संगीनी गीता थारु,  भाइ जगतलाई सशस्त्र जनयुद्धको बेला बेपत्ता पारियो भने भाइ बुहारीलाई सेनाले हत्या गरेको थियो।

Leave a Reply

Your email address will not be published.