वैशाख ३० गतेदेखि चरणबद्ध आन्दोलन हुन्छ : लक्ष्मण थारु

टीकापुर घटनामा जेल परी छुटेका लक्ष्मण थारु दोस्रोपटक जिल्ला दौडाहामा निस्किने भएका छन्। यसपटक उनको यात्रा झापासम्मै रहेको छ। यसअघि उनी पश्चिम जिल्ला बर्दियादेखि नवलपरासीसम्मका युवाहरुसँग भेटघाट गरेका थिए।

लक्ष्मण थारुका अनुसार उनी २२ गते बर्दिया र बाँकेका युवाहरुसँग कोहलपुरमा छलफल गर्नेछन्। २३ गते भैरहवामा छलफल गरी सोही दिन साँझ चितवनका युवाहरुसँग बस्ने उनले बताए।

त्यसपछि २४ गते बारा, पर्सा र रौतहटका युवाहरुसँग छलफल गरी २५ गते सिरहा पुग्ने लक्ष्मण तयारी छ। २६ गते उनी उदयपुर र सप्तरीका युवाहरुसँग छलफल गर्नेछन्। सप्तरीमा हुने थारुहरुको राष्ट्रिय भेलामा सरिक भएर उनी २७ गते सुनसरी मोरङका युवाहरुसँग छलफल गर्नेछन्।

सबैसँग छलफल गरेपछि वैशाख ३० गते आन्दोलन घोषणा गर्ने उनले बताए। यो यात्रामा लक्ष्मणसँगै टीकापुर घटनामा जेल परेका बन्दीहरु सहभागी हुनेछन्।

लक्ष्मण थारुले आन्दोलको स्वरुपबारे विस्तृत नबताएपनि ३० गतेबाट चरणबद्ध आन्दोलनको सुरुवात हुने जानकारी दिए। ‘यो मेरो दोस्रो यात्रा हो। पहिलो यात्रामै आन्दोलन घोषणा गर्न हामीमाथि दबाब थियो। सबै जिल्लाका थारु युवाहरुसँग बसिसकेपछि आन्दोलन घोषणा गर्ने भनेका थियौं। वैशाख ३० गते आन्दोलन घोषणा हुन्छ,’ थारुवानसँगको टेलिफोन कुराकानीमा उनले भने।

जिल्ला अदालत कैलालीले टीकापुर घटनामा पक्राउ परेका २६ मध्ये सांसद रेशम चौधरीसहित ११ जनालाई जन्मकैद फैसला सुनाएको छ। उनीहरु सबैको रिहाई हुनुपर्ने माग राख्दै थारुहरु आन्दोलित हुँदै आएका छन्।

Leave a Reply

Your email address will not be published.