रारा राष्ट्रिय नाटक महोत्सवमा हिट्‍वा मञ्चन

थारु समुदायको प्रचलित लोककथामा आधारित नाटक हिट्‍वा रारा राष्ट्रिय नाटक महोत्सवमा मञ्चन गरिएको छ। कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरस्थित नेपाल प्रहरीको ब्यामहलमा नाटक मञ्चन गरिएको हो। रारा राष्ट्रिय नाटक महोत्सवमा सातै प्रदेशबाट १३ वटा नाटक सहभागी छ। जसमध्ये हिट्‍वा थारु भाषातर्फ एकमात्र नाटक छनौट भएको थियो। हिट्‍वा ५ नम्बर प्रदेशबाट छनौट भएको थियो।

सुशील चौधरीको लेखन तथा झकेन बिसीको निर्देशन रहेको नाटक शान्तिका लागि युवा सञ्जाल र सैडान नाटक घर बर्दियाले निर्माण गरेको हो। रारा राष्ट्रिय नाटक महोत्सवमा सहभागी भएर मञ्चन गर्न पाउनु थारु नाट्यकर्मीको लागि गौरवको कुरा भएको शान्तिका लागि युवा सञ्जालकी अध्यक्ष शिवानी चौधरीले बताइन्। तर सुर्खेतको थारु बाहुल्य क्षेत्रमा नाटक महोत्सव भएपनि थारु भाषाको एकमात्र नाटक छनौट भएको सुन्दा दुखित भएको बताइन्।

‘हामीले थारु भाषा सँस्कृति तथा कलालाई संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले नाटक मञ्चन गर्दै आएका छौं। राष्ट्रिय स्तरमा नाटक मञ्चन गर्न पाउनु हामी सबै कलाकारको लागि गौरवको कुरा पनि हो। तर ठूलो संख्यामा रहेको थारु क्षेत्रमा थारु भाषाका अन्य नाटकहरु पनि सहभागी गर्न सकेको भए महोत्सवको रौनकता बढ्नेथ्यो,’ शिवानीले भनिन्।

उनले यो नाटकलाई देशब्यापीरुपमा मञ्चन गरिने बताइन्। ‘हाम्रो कला सँस्कृतिलाई उजागर गर्न यो नाटकलाई केन्द्रीय राजधानीसहित देशब्यापीरुपमा मञ्चन गर्ने भनेका छौं। त्यसको लागि तपाईँहरु सबैको साथ र सहयोगको अपेक्षा गरेको छु,’ उनले भनिन्। यो नाटक बर्दियाको राजापुर, जानकीनगर र टीकापुरमा मञ्चन भइसकेको छ।

नाटकमा शिवानी चौधरी, चन्द्रप्रसाद चौधरी, निरज चौधरी, रमेशकुमार चौधरी, पारु थारु, उषा चौधरी, हीरा थारु, दीपक सिंह थारु, विमल थारु, हीरामोती चौधरी, मुस्कान थारु, संगीता चौधरी र रुपक चौधरीको अभिनय हेर्न सकिन्छ ।

यो पनि पढ्नुस्:

हिट्‍वा र हस्तक्वारीको प्रेममा कथामा आधारित नाटक ‘हिट्‍वा’

Leave a Reply

Your email address will not be published.