थारु भाषाको पहिलो बालगीत सार्वजनिक [भिडियो]

थारु भाषाको बालअधिकार सम्बन्धी गीत सार्वजनिक भएको छ । थारु फिल्मस् प्रोडक्सनको युट्युब च्यानलबाट सार्वजनिक भएको यो थारु समुदायकै पहिलो बालअधिकार सम्बन्धी गीत भएको दाबी गरिएको छ ।

हमर बाल अधिकार बोलको गीतमा बालबालिकालाई उसको अधिकार दिन आग्रह गरिएको छ । गीतमा इन्दु थारुको शब्द र सिएल चौधरीको संगीत छ भने मनिष थारु र मिस्मिता चौधरीले स्वर दिएका छन् ।

थारु समाजमा बालबालिकालाई शिक्षा दिनुपर्छ, ज्ञानगुनका कुरा सिकाउनुपर्छ भन्ने चेतना अझै आइसकेको छैन । आफ्ना छोराछोरीलाई अझै पनि घरकै काममा सीमित राख्ने चलन रहँदै आएको छ । यही कुरालाई इन्दु थारुले सरल तरिकाले गीतमार्फत् बुझाउन खोजेका छन् । गीतमा भनिएको छ-
भिन्सरिया उठक गोबर ना करहाउ
आनक घर छेगरी भेरी चरहाइ ना पठाउ
स्कुल पठाउ ज्ञानगुनके बाट सिख
परहलिख पइना त हो बालअधिकार

माथि उल्लेखित शब्दले भन्छ, उठ्नेवित्तिकै मलाई गोबर उठाउन नलगाउ, अर्काको घरको भेडा बाख्रा चराउन नपठाउ, मलाई स्कुल पठाउ, पढ्न लेख्न त हाम्रो अधिकार हो ।

इन्दुले गाउँघरमा अझै पनि धेरै बालबालिका शिक्षाबाट वञ्चित रहेको बताइन् । कतिपय आर्थिक अवस्था कमजोर भएर त कतिपयलाई शिक्षाबारे चेतनाको कमीले बालबालिका स्कुलबाट वञ्चित भइरहेको उनले बताइन् । गीतले थोरैमात्र भएपनि थारु समुदायमा चेतना ल्यायोस् भन्ने अपेक्षा रहेको उनले बताइन् ।

‘युट्युबमा नेपाली, हिन्दी, अंग्रेजी धेरै भाषाका बालअधिकारसम्बन्धी गीत भेटिन्छन्, र्याम्सहरु भेटिन्छन् । तर थारु भाषाको कहिल्यै सुन्न पाइँदैन । त्यही भएर बाल गीत बनाउनुपर्छ, थारु समुदायमा यसबारे चेतना फैलाउनुपर्छ भन्ने सोँच आएको हो,’ उनले भनिन् ।

पहिलो पटक स्टुडियोमा गीत रेकर्ड गराएका मनिष र मिस्मिताको गायनबाट आफू प्रभावितसमेत भएको इन्दुले बताइन् । ‘छिट्टै अर्को बाल गीत पनि रेकर्ड गराउँछौं,’ उनले भनिन् ।

संगीतकार सिएल चौधरीले पनि मनिष र मिस्मिताको कलाबाट प्रभावित भएको बताए । दुवै जनाले आफूले सोचेभन्दा राम्रो स्वर दिएको उनको भनाई छ ।

आफ्ना छोराछोरीको कला देखेर मनिष र मिस्मिताका आमा पनि दंग छन् । मनिषका आमा टीका चौधरीले छोराको गायकी देखेर दंग परेको बताइन् । ‘छोराबाट म धेरै प्रभावित भएको छु । ऊ जे चाहन्छ, उसको चाहना पूरा गर्छौं,’ उनले भनिन् ।

त्यस्तै मिस्मिताका आमा आशा चौधरीले पनि छोरीले थारु भाषाको पहिलो बालगीत रेकर्ड गर्न पाएकोमा खुसी छन् । छोरीको चाहनालाई आफूले सधैं प्राथमिकतामा राखेको भन्दै यो गीत गाउन प्रेरित गरेको बताइन् । गीतको भिडियो पनि छिट्टै छायाँकन हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published.