पाँच जना थारु व्यक्तित्वहरुको नाममा सडकको नाम राख्ने कैलारी गाउँपालिकाको निर्णय

कैलारी गाउँपालिकाले पाँच जना थारु व्यक्तित्वहरुको नाममा सडकको नाम राख्ने निर्णय गरेको छ । गत माघ १६ गते आयोजित गाउँसभा भेलामा कैलारी गाउँपालिकाका पाँच जना थारु व्यक्तित्वहरुको नामम सडकको नाम राख्ने प्रस्ताव पेस भएको थियो । उक्त प्रस्ताव माघ १७ गते सर्वसम्मतले पारित भएको कैलारी गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरी अंकितले जानकारी दिए । संघीय संरचनामा गइसकेपछि कुनै स्थानीय तहले गरेको यो पहिलो निर्णय हो । यसअघि कुनै पनि स्थानीय तहले यस्तो निर्णय गरेको छैन ।

अध्यक्ष अंकितका अनुसार सुर्मिनाला पुलदेखि बेनौलीगाउँसम्म हिमानन्द महतो डगर, बेनौलीदेखि भगतपुरसम्म विनोद चौधरी डगर, हसुलिया बजारदेखि रानामुरा हुँदै कुकुरभुकासम्म जोखन रत्गैँया डगर, सरकपुरदेखि लोहरपुरसम्म चक्रबहादुर डंगौरा डगर र बैजपुर गाउँदेखि वसन्ता हुँदै भुइँयाफाटासम्म रामप्रसाद पल्परिया डगर बनाउने निर्णय भएको हो ।

हिमानन्द पञ्चायतकालीन मन्त्री हुन् भने विनोद चौधरीलाई तत्कालीन शाही सेनाले बेपत्ता बनाएको थियो । त्यस्तै जोखन रत्गैँयालाई शाही सेनाले गोली हानी हत्या गरेको थियो भने एमलेका पूर्व सांसद चक्रबहादुरलाई माओवादीले गोली हानी हत्या गरेको थियो । त्यस्तै रामप्रसादलाई पनि सेनाले गोली हानी हत्या गरेको थियो ।

त्यस्तै कैलारी गाउँपालिकालाई थारु स्वायत्त क्षेत्र बनाउने प्रस्ताव पनि गाउँसभाले सर्वसम्मतले पास गरेको छ । कैलारीमा ९५ प्रतिशत थारुहरुको बसोबास रहेको भन्दै उक्त प्रस्ताव गाउँसभामा लगिएको अध्यक्ष चौधरीले बताए ।
गाउँसभाले पास गरेको उक्त प्रस्ताव प्रदेशसभामा पठाइएको अध्यक्ष चौधरीले बताए ।

Leave a Reply

Your email address will not be published.