पहिला बचत गरेर बाँकी रकम खर्च गरौं : मेयर लालमणि चौधरी

कारी महतो/खैरहनी।

हामीले आम्दानी गरेको रकम पहिला खर्च गर्छौं र बाँकी रहेको रकम मात्र बचत गर्छौं तर खैरहनी नगरपालिकाका मेयर लालमणि चौधरीले आफूले गरेको आम्दानीबाट केहि रकम सर्वप्रथम अनिवार्य बचत गरेर बाँकी रहेको रकम खर्च गर्न नगरबासीलाई सल्लाह दिएका छन् । खैरहनीको पर्सा बजारमा रहेको उपासना बचत तथा ऋण सहकारी संस्था लिमिटेडको छैटौं वार्षिक साधारण सभाको प्रमुख अतिथिको रुपमा आमन्त्रित मेयर चौधरीले उदघाटन मन्तव्यको क्रममा उक्त सल्लाह दिएका हुन् ।

उनले भने “आम्दानीबाट खर्च गरी बाँकी रहेको रकमलाई बचत भन्ने गरिएकोमा हामीले आफ्नो आम्दानीबाट केहि प्रतिशत रकम पहिला बचत गरौं त्यसपछि बाँकी रहेको रकम खर्च गर्ने बानीको विकास गरौं ।” सहकारीलाई दिर्घकालमा प्रतिफल दिने साझा चौतारीको संज्ञा दिदैं उनले भने “चौतारीमा रोपेको बोटबिरुवाले तुरुन्तै शितलता प्रदान गर्न सक्दैन तर १०—१५ वर्षपछि चौतरीले दिर्घकालसम्म शितलता दिए जस्तै सहकारीमा नियमित बचत गर्दा भविष्यमा निकै फाइदा पुग्छ ।”

६ वर्ष अगाडि स्थापना भएको उपासना बचत तथा ऋण सहकारी संस्थाले कार्यक्षेत्र विस्तार गरी नयाँरोड पर्सामा नयाँ व्यवस्थापन गरी कार्य आरम्भ गरेको ४ महिना मात्र भएको छ । उक्त चार महिनाको अवधिमा ३ करोड भन्दा बढी कारोबार गरेको आर्थिक समितिका संयोजक सुरेश कुमार चौधरीले बताए ।

साधारण सभामा सहकारी संस्थालाई विभिन्न दृष्टिकोणले सेवा पु¥याएको शेयर सदस्यहरु र कर्मचारीलाई सम्मान गरिएको छ । उक्त सहकारीमा हालसम्म एक हजार तीन सय शेयर सदस्य आबद्ध रहेको संस्थाका अध्यक्ष रोमनसिंह चौधरीले बताए । उनले संस्थाले १४ जना कर्मचारीहरुलाई प्रत्यक्ष रोजगारी दिएको बताए ।

सभामा संस्थाका कोषाध्यक्ष श्याम नारायण चौधरीले संक्षिप्त रुपमा आर्थिक प्रतिवेदन प्रस्तुत गरे । उदघाटन सत्रमा खैरहनी नगरपालिका वडा नं. ४ का वडाध्यक्ष देवबहादुर बस्नेत लगायतले शुभकामना दिए ।

Leave a Reply

Your email address will not be published.