बालकलाई सकुशल उद्धार गर्ने छजना प्रहरी सम्मानित

वीरगन्ज- अपहरणमा परेका आठ वर्षीय बालकको सकुशल उद्धार गरेर पर्साको शान्ति सुरक्षा व्यवस्थापनमा महत्वपूर्ण योगदान पुर्‍याएवापत वीरगन्ज उद्योग वाणिज्य सङ्घ र मारवाडी सेवा ट्रस्टले जिल्लाका छजना प्रहरी अधिकृतलाई संयुक्तरुपमा सम्मान गरेको छ। सम्मानित हुनेहरूमा अञ्चल प्रहरी कार्यालय नारायणी वीरगन्जका प्रहरी वरिष्ठ उपरीक्षक सर्वेन्द्र खनाल, पर्साका प्रहरी उपरीक्षक पीताम्बर अधिकारी, सशस्त्र प्रहरी उपरीक्षक नगेन्द्र थापा, प्रहरी निरीक्षकद्वय मनोहर भट्ट र मुक्तिनारायण चौधरी तथा प्रहरी नायब निरीक्षक रुद्र कँडेल रहेका छन्।
अपहरणमा परेको एक सातापछि प्रहरीले यही माघ २२ गते बालक श्लोक अग्रवाललाई भेडियारी गाविसबाट सकुशल उद्धार गरेको थियो। बालकलाई उद्धार गर्न गएको प्रहरी टोली र अपहरणकारीबीच मुठभेड हुँदा प्रहरीको गोलीबाट दुई जना अपहरणकारीको मृत्युसमेत भएको थियो।
भारतको गोरखपुरमा अध्ययनरत अग्रवाल एउटा वैवाहिक कार्यक्रममा सहभागी हुन आफ्नो घर वीरगन्ज आएका बेला गत माघ १३ गते घर अगाडि खेलिरहेको अवस्थामा मोटरसाइकलमा सवार दुई जनाले उनलाई अपहरण गरेका थिए।
कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक खनालले भयरहित वातावरणमा स्वतन्त्र र सम्मानपूर्वक बाँच्न पाउनुपर्ने मौलिक अधिकारको प्रत्याभूतिका लागि नेपाल प्रहरी पूर्णप्रतिबद्ध रहेको बताउँदै आपराधिक आचरण बोकेका प्रहरीलाई पनि कुनै पनि हालतमा उन्मुक्ति दिइने छैन भने।
प्रहरी उपरीक्षक अधिकारीले सीमित स्रोत साधनका बावजुद नेपाल प्रहरीले स्थानीय नागरिकसँगको सहकार्यमा शान्ति सुरक्षाको उच्च व्यवस्थापन गर्दैआएको उल्लेख गरे। सङ्घका अध्यक्ष अशोक वैद्यको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य महेश दासलगायतका वक्ताले राजनीतिक सङ्क्रमण र अपराधीलाई संरक्षण गर्ने प्रवृत्ति नहटेसम्म उद्योगी व्यापारीको अपहरण, हत्या र हिंसाजस्ता घटनामा कमी आउन नसक्ने बताए। रासस

Leave a Reply

Your email address will not be published.