८० वर्षीया जुगुन थारुको कथा : ८ दशकमा एकपटक मात्र अस्पताल

कृष्ण मल्ल/बुटवल।

रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित मद्रानी गाउँ जिल्लाको पुरानो थारूबस्तीमध्ये एक हो । यहाँ हजुरआमा, छोरा, बुहारी र एक नातिनी गरी चारजनाको एक परिवार छ । हजुरआमा जुगुन थारू ८० वर्ष पुगिसकेकी छिन् । जीवनका ८ दशकमा उनी मात्र एकपटक अस्पताल पुगेकी छन् । घरका अन्य सदस्यमध्ये बुहारी सावित्री र नातिनी आशिका अहिलेसम्म उपचारका लागि अस्पताल पुगेकै छैनन् । छोरा प्रेमराज भने सानोतिनो रोग लाग्दा अस्पताल गएका छन् ।

‘अस्पताल नहुँदा पहिले हाम्रा पालामा घरमै औषधि बनाएर खाने, झारफुक गर्ने र वैद्यकहाँ जाने चलन थियो,’ ६ दशकअघिको अवस्था सम्झँदै जुगुन भन्छिन्, ‘अस्पताल त कहाँ हुनु, वन–जंगलकै जडीबुटी खोजेर खाने चलन थियो, ठिक पनि हुन्थ्यो ।’ पहिलेका मानिस अहिलेको तुलनामा बिरामी कम हुने गरेको जुगुनको भनाइ छ । ‘काम गर्थे, मज्जाले खान्थे,’ उनले थपिन्, ‘खेतबारीमा अहिलेजस्तो विषादी प्रयोग गर्ने चलन पनि थिएन ।’

३ वर्षअघि रिँगटा (चक्कर) आएपछि एकरात अस्पतालमा भर्ना भएको जुगुन बताउँछिन् । ‘बिरामी भएर कहिल्यै अस्पताल गएको थिइनँ,’ उनले भनिन्, ‘एकरात भने बसेँ ।’ छोरा प्रेमराज पनि आमालाई एकपटक मात्र अस्पताल लगेको बताउँछन् । उनका अनुसार अहिले आमामा कुनै स्वास्थ्य समस्या छैन । सासूआमामा स्वास्थ्यसमस्या नभएको र सबैखाले खानेकुरा खाने गरेको बुहारी सावित्री बताउँछिन् । ‘हामी जे खान्छौँ, त्यही खानुहुन्छ,’ सावित्रीले भनिन्, ‘बूढोपाको भनेर चिल्लो–पिरो कम गरी छुट्टै खाना पकाउनुपरेको छैन ।’ आफू र छोरी आशिका पनि अहिलेसम्म बिरामी भएर अस्पताल नगएको उनी बताउँछिन् । ‘म ४० पुगेँ, छोरी १२ वर्ष पुगिन्, अहिलेसम्म बिरामी भएका छैनौँ, अस्पताल पनि गएका छैनौँ,’ सावित्रीले थपिन् ।

छोरा प्रेमराज थारूले भने आफू कहिलेकाहीँ बिरामी हुँदा अस्पताल जाने गरेको बताए । ‘मलाई पनि ठूलो रोग त्यस्तो केही छैन, तर परिवारका सदस्यमा अस्पताल जाने मै मात्रै हुँ,’ प्रेमराजले भने ।

साभार : हेल्थपोष्ट नेपाल

Leave a Reply

Your email address will not be published.