प्रदेश ७ को नाम ‘सुदूरपश्चिम’ र स्थायी राजधानी गोदावरी दुईतिहाईले स्वीकृत

लखन चौधरी/धनगढी।

७ नम्बर प्रदेशको स्थायी राजधानी गोदावरी र नाम ‘सुदूरपश्चिम’ प्रदेश दुईतिहाई बहुमतले प्रदेश सभाबाट स्वीकृत भएको घोषणा गरिएको छ ।

शुक्रवार बसेको प्रदेशसभा बैठकमा नाम र राजधानीबारे सुझाव संकलन गर्न गठित विशेष समितिका संयोजक तारालामा तामाङले प्रतिवेदन स्वीकृत गरियोस् भनी गरिएको प्रस्ताव र प्रदेशसभा सदस्य वीरमान चौधरी र शान्ति नेपाली समर्थनमा रहेको प्रतिवेदन दुईतिहाईले स्वीकृत गरिएको घोषणा भएको हो ।

स्वीकृत भएको प्रतिवदेन अनुसार स्थायी राजधानी कैलाली जिल्लाको गोदावरी नगरपालिकाको वडा नम्बर ४ र २ तेघरीस्थित नेपाली सेनाको व्यारेक रहेको स्थानदेखि उत्तरपश्चिम, गोदावरी–धनगढी–डडेल्धुरा सडकदेखि पश्चिम, गोदावरी खोलादेखि पूर्व र गोदावरी बजारदेखि दक्षिणको चारकिल्ला क्षेत्रमा पर्ने भएको हो ।

यसैबीच, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका १२ र राष्ट्रिय जनता पार्टीका २ जना गरी १४ जना प्रदेशसभा सदस्यले बैठक वहिष्कार गरी सो बैठकबाट बाहिरिएका छन् । राजधानी अनुपयुक्त स्थानमा भएको भन्दै उनीहरूले विरोध जनाउँदै बहिष्कार गरेका हुन् ।

शुक्रवार बिहान ११ बजेबाट शुरू भएको बैठक प्रतिपक्षीको विरोधको कारण बीचमा स्थगित गरिएको थियो । पुनः सञ्चालन भएको बैठकमा पनि विरोधपछि बहिष्कार गरिएपछि सत्ता पक्षका प्रदेशसभा सदस्यको बहुमतबाट स्वीकृत गरिएको घोषणा गरिएको हो । प्रतिपक्षी दलका प्रदेशसभा सदस्यले संसदमै नाराबाजी समेत गरेका थिए ।

Leave a Reply

Your email address will not be published.