थाकसको नयाँ नेतृत्वलाई भन्नैपर्ने केही कुरा

विनय वैद्य।

हालै सम्पन्न थारु कल्याणकारिणी सभा (थाकस)को २२औं महाधिवेशनबारे विभिन्न चर्चा भइरहँदा थोरै थप्न मन लाग्यो । थारु समुदाय लामो समयदेखि राज्य र ससमाजका अगुवाहरुबाट विभिन्न बहानामा उत्पीडित हुँदै आएका छन् । विभिन्न खालका उत्पीडनको अन्त्य गरी थारु समुदायको हक, हित र संस्कृति संरक्षणका लागि थारु कल्याणकारिणी सभा स्थापना हुनुले समग्र थारु समुदायमा उत्साह वृद्धि हुनु स्वभाविक थियो । लामो इतिहास बोकेको थारु कल्याणकारिणी सभाको २२औं महाधिवेशन सम्पन्न हुँदासम्म यस संस्थाले के, कति र कस्ता कामहरु सम्पन्न गरेको छ भन्ने जवाफ लामो समय त्यस संस्थाको नेतृत्वमा रहेका महानुभावहरुले व्यक्त गर्न सक्नुहुन्छ होला ।

थारुहरुको अग्रणी संस्थाको रुपमा थाकस हुँदाहुँदै वर्तमान समयमा आएर विभिन्न संघ संस्थाहरु स्थापना हुने क्रम बढ्दो छ । यी विभिन्न संस्थाहरु स्थापना हुनुमा थाकसको कमजोरी हो कि भन्ने अनुमान गर्न सकिने अवस्था सिर्जना भइरहेको छ । थाकसको नेतृत्वमा पूर्वी थारु र पश्चिमा थारुबीच विभाजन सिर्जना हुनु, राष्ट्रिय स्तरमा मनाइने माघी तथा गुरही पर्व छुट्टाछुट्टै मनाइनुजस्ता घटनाहरु समेत थाकससँग जोडिएका पक्षहरु हुन् । यस्ता विभिन्न सन्दर्भहरुलाई केलाउँदा थाकस असफल भएको हो कि भन्ने आभाष आम थारु समुदायमा मौलाउनु स्वभाविक हो ।

पछिल्लो समय राज्यसँग पहिचान र अधिकारका लागि थारुहरु संघर्ष चल्यो र चलिरहेको छ । यस्तो आन्दोलनको परिवेशमा थाकसको भूमिका के कस्तो रह्यो भन्ने कुरा आम जनसमुदायलाई छर्लङ्ग भएको छ । व्यक्तिगत रुपमा थारु कल्याणकारी सभाका पदाधिकारीहरुले थारु हकहितका आन्दोलनहरुमा महत्वपूर्ण भूमिकाहरु निर्वाह गरेपनि संस्थागत रुपमा भने थाकसको भूमिका नगण्य देखिन्छ । यहाँ थारु हकहितका लागि भएका आन्दोलन र थाकसको भूमिकाको विषयमा चर्चा गर्नैपर्ने देखिन्छ । लामो समय आन्दोलन चलिरहेको यस अवस्थामा थारु कल्याणकारिणी सभाको भूमिकाले यसको औचित्यलाई प्रस्ट पार्ने छ ।

थारु समुदायको हकहित र पहिचानका लागि संघर्ष गर्दैगर्दा कैलाली टीकापुरमा भएको अप्रिय घटनालाई कसैले पनि बिर्सन सक्दैन । टीकापुर घटनामा जे भयो र जे भइरहेको छ त्यो कसैका लागि प्रिय छैन । हिजो टीकापुर घटनाले साम्प्रदायिकताको रुप लिने खतरा मौलाएको थियो, तर परिस्थितिले त्यसलाई पराजित ग¥यो । तर अहिलेसम्म आएर हेर्दा राज्य र थारु कल्याणकारिणी सभा दुवैको दृष्टिकोण एकैनासको देखियो । न राज्यले टीकापुर घटनालाई न्यायीक आन्दलोलनको रुपमा हे¥यो, न थाकसले नै । हुन त थाकसका तत्कालीन अध्यक्ष र वर्तमान अध्यक्ष दुवै एकै व्यक्ति र पीडित व्यक्ति हुन् । तर पनि अघि उजागर गरेजस्तै व्यक्तिको भूमिका आन्दोलनमा रहेपनि संस्थागत भूमिका भने नगन्य नै छ । फेरि पनि थाकसको अध्यक्षमा निर्वाचित भएको अवस्थामा केही भूमिका खेल्न सक्लानकी भन्नेमा शंका गर्ने ठाउ भने व्यापक देखिन्छ ।

समग्र परिवेश हेर्दा थाकस धेरै खुम्चिएको अवस्थामा रहेको छ । थाकसको नेतृत्वबाट समेत धेरै आश गर्ने ठाउँसमेत देखिँदैन । किनकि थाकसको नेतृत्व हिजो जे थियो आज पनि त्यही छ । थाकसका अध्यक्ष स्वयं टीकापुर घटनाका पीडित हुन्, तर सरकारसँग पहुँचको आधारमा र पदकमो आधारमा अरुको टाउकोमा दोष थुपारेर आफूलाई थारुहरुको मसिहाको रुपमा प्रस्तुत गर्न छोड्नु भएको छैन । आज राज्यले रेशम चौधरीलाई जनताको जनमतका वावजुद दोषी करार गरिरहँदा थारु आन्दोलनका मसिहा हुँ भन्नेहरु आफ्नो लाभको लागि सरकारको पिछलग्गु बनेको देखिन्छ ।

थाकसको महाधिवेशन सम्पन्न भयो, नेतृत्व चयन भयो, घोषण पत्र पनि जारी भयो । तर, यो सम्मेलनले न समग्र थारु समुदायलाई समेट्न सक्यो, नसमग्र थारु समुदायका मुद्दा सम्बोधन भयो, न सबल नेतृत्व नै चयन भयो । साँचो अर्थमा थाकसलाई आम थारु समुदायको नेतृत्वदायी संस्थाको रुपमा स्थापना गर्ने हो भने थारु समुदायको मुद्दाहरुमा प्रष्ट भएर अगाडि बढ्न जरुरी छ । आगामी दिनमा थाकसको नेतृत्वले व्यक्तिवादी चरित्र देखाएमा समग्र थारु समुदायले थारु हकहितको लागि नेतृतवदायी अर्को संस्थाको विकल्प रोज्न बाध्य हुने अवस्था प्रष्ट छ । अहिलेको नेतृत्व आफैँ टीकापुर घटनाको पीडित हुँदाहुँदै उक्त घटनाबारे थाकसले नबोल्नु नै नेतृत्वको नियत र क्षमतालाई प्रष्ट पार्छ ।
अन्त्यमा स्वयंम राज्य र थारु समुदायबाट अदृश्य रहेको अवस्थामा नयाँ नेतृत्वले कसरी थाकसको सफल नेतृत्व गनसक्छ, त्यो समयले देखाउनेछ । हिजोकै नेतृत्वको निरन्तरताको रुपमा आजको नेतृत्व रहेकाले धेरै आश गर्ने अवस्था छैन । तर, मिनराज चौधरीलगायत निर्वाचित पदाधिकारीहरुलाई शुभकामनासहित सफल कार्यकालको शुभेक्षा व्यक्त गर्दछु ।

राष्ट्रिय थारु कलाकार मञ्चको संयोजकको हैसियतले थाकसले कलाकारहरुका लागि समेत प्रष्ट नीति ल्याओस भन्ने अपेक्षा गर्दछु । थाकसले फेरि पनि हिजोका दिनहरुजस्तै निष्कृय रहेको अवस्थामा यसको विकल्पमा समग्र थारु समुदायको हकहितका लागि आवश्यक पर्ने अर्को संस्था जन्माउनसमेत हामी सक्षम रहेको जानकारी अनुरोध गर्न चाहन्छु ।

संयोजक, राष्ट्रि थारु कलाकार मञ्च

Leave a Reply

Your email address will not be published.