२१ वर्षदेखि एउटै डेरा

विसं २०४४ मा एसएलसी सकेपछि क्याम्पस पढ्न दाङ सदरमुकाम घोराही जानुपर्दा पहिलोपल्ट डेराको जीवन सुरु भयो। मेरा ठूल्दाजु ऋषिराज चौधरी पहिल्यै क्याम्पस पढिरहेकाले उहाँसँग मिसिएँ। हामी पढ्ने महेन्द्र बहुमुखी क्याम्पस, भरतपुरको एकदमै नजिक थियो डेरा।

२०४५ सालमै जस्तो लाग्छ, स्वतन्त्र विद्यार्थी युनियनको चुनाव थियो। दाजु नेविसंघबाट उम्मेदवार थिए। त्यही डेरामा बस्ने यादव चौधरी पनि दाजु सँगसँगै उम्मेदवार हुँदा विद्यार्थी नेताहरूको बाक्लो आउजाउ हुन्थ्यो। राप्रपा हुँदै अहिले एमाले छिरेर सांसद भएकी गायिका कोमल ओली युवा पञ्चको उम्मेदवार थिइन्। उनी पनि छिरिरहन्थिन् त्यो डेरामा भोट माग्न।

दाइले स्ववियुको त चुनाव जिते तर त्यो डेरा जोगाउन सकेनन्। घरबेटी बस्थे बाहिर जिल्ला। आफन्तलाई जिम्मा लगाएका थिए, घरभाडा उठाउन। तिनले जिम्मेवारी पूरा गर्न नसकेपछि घर खाली गराएर घरबेटीले घर नै भत्काइदिए। तीन तलाको २४ कोठे घरको भाडा उठाउने जिम्मा बरु हामीलाई दिए हुन्थ्यो नि भन्ने लागेको थियो। डेरै भए पनि आफू बसेको घर भत्काउँदा माया लाग्यो।

तेस्रो डेरा

अर्को डेरा भरतपुरमै क्याम्पसभन्दा अलि पूर्व सारियो। पहिलेको डेरामा पानीको धारा थियो तर यहाँ त्यो सुविधा थिएन। कटुवा खोलाको किनारमा रहेको रानी जरुवाबाट पानी ओसार्नु पर्थ्यो। काँचो इँटाको घरमा बस्दा डर डर पनि लाग्थ्यो। घरबेटीले भन्थे, ‘नडराउनु चौधरी, तिम्रो देउखुरीको पाकेको इँटाभदा दाङको काँचो इँटा धेरै बलियो हुन्छ।’ दोस्रो डेरामा अलि बढी बस्नुपर्ने हुन सक्थ्यो तर दाजुले ट्युसन पढाएबापत घरभाडा तिर्नु नपर्ने डेरा पत्ता लगाउनुभयो। पनौरा गाउँमा थियो त्यो डेरा। गौतम थरका ती घरबेटी कृषि विकास बैंकमा हाकिम थिए। छोरी मँसगै इन्टर पढ्थिन्। छोरा हाइस्कुल, बाँकी दुई छोरी साना थिए।

हो, त्यही तेस्रो डेरामा घुस्रिन आइपुगे पिताजी। क्याम्पस पढ्ने जोश चढेको थियो उहाँमा। १५/१६ वर्ष रोल्पा, सल्यानलगायत पहाडमा फरेस्टरको जागिर छाडेर उनी आईए पढ्न आइपुगेका थिए। पाँच वर्ष लगाएर जेनतेन आईए सकेपछि बीए पनि भर्ना भए बूढा। त्यसै बेला दाजु नियमित आईए सकेर बीएमा भर्ना भए। बाबुछोरा एकै बेन्चमा बसेर पढ्थे। म आईए दोस्रो वर्ष पढ्थेँ। यसरी तीनजना सँगै क्याम्पस जाने त्यो सुनौलो दिन थियो। बीए पहिलो वर्ष नेपाली विषय मात्रै कटेपछि पढाइको जिम्मेवारी हामीलाई सुम्पिँदै बूढाले भने, ‘म अब घरव्यवहार हेर्छु। तिमीहरूलाई पढाइमा उत्साह जगाउन आएको थिएँ। मेरो मिसन पूरा भयो।’

तेस्रो डेराका घरबेटी निकै सज्जन थिए। तर, कहिलेकाहीँ खाएपछि पहाडै उचाल्थे। एक दिन निकै मातिएर आए। तैपनि रक्सी लिन पठाए मलाई। दाजुले मलाई खाटमुनि लुकाए, भाइ छैन भनेर। ट्युसन पढाएबापत घरभाडा तिर्नु नपर्ने भए पनि दाजु त्यो डेराबाट आजित भइसकेका थिए। त्यही डेरामा सोही गाउँकी हाइस्कुलकी छात्रा लक्ष्मी चौधरीलाई पनि ट्युसन पढाउँथे दाइले। आफ्ना केटाकेटीलाई, आफूलाई कोठा चाहियो भन्ने मनशाय देखाएपछि हामीलाई अब डेराको समस्या पर्‍यो। हामी लक्ष्मी चौधरीको घरमा सर्‍यौं। त्यहाँ पनि ट्युसन पढाएबापत कोठाभाडा तिर्नु नपर्ने। यहाँ थप बोनस के पनि पाइयो भने घरबाट चामल, दाल, तरकारी ल्याए पनि आफूले पकाउनु नपर्ने भयो। घरबेटीले नै पकाउन थाले।
दाजुले उही लक्ष्मी चौधरीसँग बिहे गरेपछि अझ ससुराल भयो डेरा। अब भने थरीथरीका पकवान पनि पाक्न थाले त्यहाँ। बीए सकेर दाजु मास्टरी गर्न देउखुरी उपत्यका झरेपछि मलाई त्यहाँ बस्न सकस भयो। कटुवा खोलापारि हरिद्वार गाउँमा देउखुरी उपत्यकाका दुई दर्जनभन्दा बढी थारू विद्यार्थी बस्थे। म पनि त्यही हूलमा मिसिएँ। दाजुसँगको आ श्रयका कारण यसभन्दा पहिले कहिल्यै घरभाडा तिर्नु परेको थिएन। अब जोहो गर्नुपर्ने भयो। यहाँ उपाय लाग्यो, साना तथा घरेलु विकास कार्यालयको तीनमहिने साइनबोर्ड लेखन तालिममा पाएको भत्ता। त्यसैले घरभाडा तिरेँ।

काठमाडौंको डेरा

विसं २०५३ मा काठमाडौं उक्लियो यो ज्यान। अनामनगर हनुमानस्थानमा थियो, नेपाल प्रेस काउन्सिल अफिस। १० महिने डिप्लोमा कोर्सको १३औं ब्याचको विद्यार्थी थिएँ म। त्यसैले नजिकै घट्टेकुलोमा मामा पर्ने गणेश चौधरीको डेरामा बसेँ। तर गाउँमा शिक्षिका रहेकी माइजू बर्खे बिदामा महिना दिनका लागि मामाकहाँ आउँदा पो फसाद पर्‍यो। डेराको तल्लो कोठामा पोखराका दाजुभाइ बस्थे। उनीहरूको छुट्टाछुट्टै खाट थियो। म मामाको भान्सामा खाना खाएर उही पोखरेली कान्छाको बेडमा घुस्रिन थाले। जसोतसो टर्‍यो।

तर, गाउँबाट बैनीज्वाइँ कामको खोजीमा काठमाडौं आएपछि छुट्टै कोठा नलिई भएन। संजोगवश त्यही घरमा कोठा खाली भयो। डेरा कति महँगो थियो भने म काम गर्ने रविवार साप्ताहिकको तलबले घरभाडा तिर्न सकिन्नथ्यो। कीर्तिपुरमा नेपाली विषको डिग्री ज्वाइन गर्नुपर्ने भएकाले अन्ततः मैले डेरा कीर्तिपुरमा सारेँ। मित्र टीकाराम उदासीले नेता रामकृष्ण धिना महर्जनको नयाँबजारमा रहेको पुरानो घरमा खोजिदिए डेरा। २०५४ सालदेखि बसिरहेको छु म यो डेरामा। ठ्याक्कै दुई दशकको बसाइमा मैले प्रत्यक्ष अप्रत्यक्ष एक दर्जन अफिस फेरेँ तर डेरा फेर्न सकिनँ। मेरा तीन छोरी कीर्तिपुरको यही डेराबाट नर्सरी पढ्दै एमए पढ्ने भइसके। जब कि मैले एमए पढ्न भनी लिएको डेरा थियो त्यो।

घरबेटीले सुरुसुरुका केही वर्ष ससाना चाडबाडमा पनि बोलाए। गएको वर्ष बा बितेर दसैं मनाउने कार्यक्रम नरहेपछि दसैंमा घर गइएन। तर, घरबेटीले दसैंमा पनि बोलाएनन्। पहिले एउटै कोठामा डल्लिएको म अहिले पूरै फ्ल्याट चारवटा कोठा लिँदा पनि साँगुरो लाग्छ। महिना मर्नेबित्तिकै भाडा कहिल्यै माग्दैनन् घरबेटीले। यही साउनमा मैले १० महिनाको घरभाडा बुझाएँ। त्यसो त एकैपटक १७ महिनाको घरभाडा बुझाएको रेकर्ड पनि छ। यस्ता सजिला घरबेटी कहाँ हुन्छन् र ? यसबारे मैले सामाजिक सञ्जालमा स्टेटस लेख्दा धेरैले पूजा गर्नुपर्ने घरबेटी भनेर कमेन्ट गरेका थिए। तर, डेरामा एउटै कोठा लिएर बस्नेलाई पनि पानीको मात्रा उही र चारवटा कोठाको भाडा तिर्ने म बबुरोलाई पनि पानीको मात्रा उही भएपछि घरभाडा तिर्दा जहिले पनि किचकिच हुन्छ अहिले।

आफ्नै घर ?

दुःख गरेर कीर्तिपुरसँगै जोडिएको भत्केपाटी भन्ने ठाउँमा रिनपान गरेर चार आना जग्गा चार वर्ष पहिले किनियो। अब रिनपान गरेर घर ठड्याउने सपना पनि छ। तर, त्यही बाटो भएर बाहिरी चक्रपथ आउने हल्लाले सपना चकनाचुर भएको छ। एक मनले भन्छ, काठमाडौं मात्रै होइन जहाँ पनि घोषित काम समयमा हुन्न। त्यसैले चक्रपथ आउन समय लाग्ला। टहरो बनाएर भए पनि बस्।

अर्को मनले भन्छ, थोरै रकम भए पनि हात पार। कौडीको भाउमा आउने मुआब्जाभन्दा अहिल्यै जग्गा बेच्नु ठीक। पहिलो मनले जित्दैछ। टहरो बनाएर बस्ने। आखिर भूकम्पपीडित दसौं हजारौं दाजुभाइले टहरोमै जीवन गुजारिरहेका छन्। मुआब्जा पनि हात लागेन भने भैंरग लेटरझैँ रित्तै गाउँ फर्किऊँला। आखिर लप्पनछप्पन नजान्ने सामान्य लेखक, पत्रकारले ठूलो सपना पनि त देख्न हुन्न।

Leave a Reply

Your email address will not be published.