थरुहट आन्दोलनको एक दशक, थारुहरुले के पाए? [विश्लेषण]

दिल बहादुर चौधरी।

नेपालको इतिहासलाई पढ्ने हो र समाजलाई राम्ररी अध्ययन गर्ने हो भने थारुहरु राणाकालदेखि समय समयमा आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारका लागि आवाज उठाउँदै आएका छन्। अधिकारका लागि जीवन बलिदानी समेत दिएका छन्। तर नागरिक तथा राजनैतिक अधिकारको लागि, पहिचानको लागि, छुट्टै ‘थरुहट प्रदेश’ को लागि चाहिं थारुहरुले लडिरहेको भर्खर ‘एक दशक’ पुग्दैछ। यो दशकमा पहिचानको आन्दोलन कसरी शुरु भयो? पछिल्लो सम्भावना के छ? यी बिषयमा यहाँ सानो चर्चा गर्न आवश्यक छ।

बिशेष गरी देशमा बहुदलिय ब्यबस्थाको आगमन पश्चात नेपाली जनताले जुन अपेक्षा राखेका थिए, त्यो पाउन नसकेपछि जनतामा निराशा आयो। काँग्रेस, एमालेले आलोपालो सरकारमा गए, तर जनचाहनाको कदर गर्न सकेनन्। त्यसपछि तत्कालीन नेकपा माओवादीले बि.स.ं २०५२ सालदेखि शुरु गरेको जनयुद्धदेखि थारु, मधेशी, आदिबासी जनजातिहरुमा जातिय तथा क्षेत्रीय स्वशासनसहितको आत्मनिर्णयको अधिकारको कुराले घर गर्दै गयो। अहिले पुरातनबादी सोंचलाई अँगाल्न पुग्नु बेग्लै कुरा हो, तर यथार्थमा भन्ने हो भने उत्पीडित जातिहरुलाई सचेत बनाउने काम माओवादीले नै गरेको थियो। ०६२/०६३ को खुल्ला बाताबरण र सत्ताको स्वादपछि मात्रै माओवादी बिगे्रको हो। बिग्रेकै कारण माओवादी नेताहरुका कथनी र करणीमा फरक आउन थाल्यो र पछि थारु समुदाय उनीहरुप्रति पनि बिश्वास गर्न सकेन। कुरा ठूलठूला गर्ने र नश्लबादलाई शिरोपर गरी हिंड्ने उनीहरुको बानी पनि पर्‍यो। त्यसैले जनयुद्धमा ठूलो संख्यामा सहभागी भएका उत्पीडित थारु जातिहरु ०६२/०६३ पछि माओवादी आन्दोलनमा सहयोग गर्न आनाकानी गर्न थाले।

dil bdr chaudharyयस्तै बेला २०६३ फागुन २९ गते लक्ष्मण (रोशन), मनोज (अंकित), महान, बली, आकाश, प्रतिक्षा लगायत १६ जनाले माओवादीबाट सामुहिक बिद्रोह गरे। पार्टीबाट कोहि निस्कनु राम्रो होइन, फेरी पनि लक्ष्मण थारुको त्यो बिद्रोहले थारु समुदाय उत्साहित थियो। तर हप्ता दिनपछि लक्ष्मणसहितका बिद्रोहीहरु माओवादीमै फिर्ता भए, यसले समुदायमा निराशा छायो। लक्ष्मण थारु लगायतका ३६ जना थारुहरु पुनः २०६४ बैशाख २१ गते पुनः बिद्रोह गरे। तर यसले थारुहरुमा न त हर्ष थियो न त बिष्मात, किन कि उनीहरु बिद्रोह गरेको हप्तादिनभित्रै फर्केको कुरा सबैको मनमा ताजा थियो।

माओवादीको राप र ताप त्यति बेला निकै थियो, सेलाएको थिएन। उनीहरु पुलिस, प्रशासन भन्दा बढी सक्रिय थिए। बिद्रोह गर्नु त्यतिबेला दलबाटै खतरा थियो। तर त्यतिबेला लक्ष्मण थारुमा पनि निकै जोश थियो। अर्धभूमिगत जीवन शैली जिइरहेका उनी ०६४ असार १३ गते धनगढीमा पहिलो चोटी खुल्ला रुपमा पत्रकार सम्मेलन गरे। उनकै अनुरोधमा १६ गते धनगढीमा ‘संयुक्त थारु राष्ट्रिय मोर्चा’को भेला तयारी समिति गठन भयो। २०६४ श्रावण २८ देखि ३० सम्म तीन दिन संयुक्त थारु राष्ट्रिय मोर्चाले पहिलो चोटी थरुहट बन्दको घोषणा गर्‍यो।

०६५ माघ २१ गते सार्बजनिक सेवालाई समावेश बनाउने भनी तत्कालीन सरकारले अध्यादेश जारी गर्‍यो, जसमा तराईका आदिबासी जनजाति, मुश्लिम समेतलाई मधेशी भनी सूचीकरण गर्‍यो। फलस्वरुप थारु लगायतका तराईका आदिबासी जनजाति, मुश्लिममा असन्तुष्टी चुलियो। ०६५ फागुन १९ देखि अनिश्चित कालीन आम हडताल शुरु भयो। जुन आन्दोलनमा ४ (चितवनका बिपिन क्षेत्री, कमल चौधरी, दाङ्गका प्रकाश चौधरी र रामप्रसाद चौधरी शहिद) जना शहिद हुन पुगे। राज्यले निरन्तर दमन गर्दै रह्यो। परिणामस्वरुप ०६९ सालमा पनि ठूलो आन्दोलन भयो। राज्य र शासक जातिहरुले थारुहरुमाथि ब्यापक दमन गरे। आन्दोलन भड्केको भए धेरै संख्यामा धनजनको क्षति हुन सक्थ्यो। शासक जातिहरुले धनगढीमा ‘थारु चोर, देश छोड’ भन्ने नारा पनि लगाए। राज्यले हेपे पनि अधिकारको लागि लड्नु पर्दछ भन्ने भावनाको बिकास भैसकेकोले थारुहरु निरन्तर लडिरहे। ०७३ सम्म आइपुग्दा शहिदमा चिन्कु थारु पनि थपिए।

राज्यको बर्बर दमन जारी रह्यो। फलस्वरुप ०७२ भाद्र ४ गते दुर्गौली गाविसको तोरैयापुरमा (प्रहरी, अखण्डे±थारुहरु) बिचमा घण्टौ झडप भयो। राज्यकै बलमिच्याई र दमनले भाद्र ७ गते ‘टीकापुरमा अप्रत्याशित, अकल्पनीय थारु बिद्रोह’ हुन पुग्यो। राज्यको दमनबिरुद्ध लट्ठी, भट्ठा लिएर थारुहरु निस्के। बिद्रोहमा ८ प्रहरीको ज्यान गयो। गोलीबाट एक बालकको पनि मृत्यु हुन पुग्यो। बालकको मृत्यु प्रहरीको गोलीबाट भएको हो भन्ने थरुहट आन्दोलनकारीको दाबी छ भने बालकलाई थारुहरुले मारे भन्ने प्रहरीको आरोप छ। हत्या आरोपमा प्रहरीले आन्दोलनमा गएका र नगएका २५ थारुहरुलाई पक्राउ गरी कारागारमा राखेको छ। आगो लगाउने र लुटपात गर्नेहरुलाई आफ्नै सगोत्री भएको कारण छुट दिएको छ।

यसरी भन्ने हो भने पहिचानको लागि ‘थरुहट आन्दोलन’ भएको अहिले एक दशक पुग्दैछ। पहिचानको लागि, ‘थरुहट प्रदेश’ को लागि निरन्तर आन्दोलन भैरहेको यो पहिलो दशकमा थारुहरुले के पाए र के गुमाए? समीक्षा गर्न जरुरी देखिन्छ।

के गुमाए?

हुन त थारुहरुले नगुमाएको कुनै चिज छैन। मान, सम्मान, जिउ, धन सबै। राज्य र शासकहरुले गर्ने अन्याय र अत्याचार त थारुहरुको लागि दाल, भात र तरकारी जस्तै सामान्य हुन पुगेको छ। सत्तासीन दलहरु, उनीहरुका नेताहरु, प्रहरी प्रशासन सबै पहाडबादकै वकालत गरेका छन्, पहाडी ब्राम्हन/क्षेत्रीकै हकहितका लागि थारुहरुलाई हेपेका छन्, चेपेका छन्, यातना दिएका छन्। थारुहरुले शान्तिपूर्ण आमसभा गर्न खोज्दा राज्यको आडमा शासक जातिहरुले आम सभास्थल कब्जा गरेका छन, प्रहरी उनीहरुकै सहयोगी भएको छ। मानवअधिकारकर्मी मौन छन्, तमाम पत्रकार राज्यकै वकालत गर्छन्। आम सभामा आउन लागेका थारुहरुको हातमा रहेको लट्ठी प्रहरीले खोस्छ, अखण्ड नामक पाखण्डहरुको हातमा रहेको लट्ठी नदेखेको स्वाङ पार्छ। सगोत्रीहरुले आन्दोलन गर्दा ६ वाट ७ प्रदेश बन्छ। थारु र मधेशीले आन्दोलन गर्दा लट्ठी चलाउँछ, गोली ठोक्छ, निषेधाज्ञा जारी गर्छ, कर्फ्यु लगाउँछ, जेल हाल्छ। त्यसकारण थारुहरुले नगुमाएको चिज छैन, नगुमाएको भए त तराईका मालिक अहिले दासको अबस्थामा रहने थिएनन्। तर यी आन्दोलनकै कारण भएका हैनन्, बिगतकै शासकीय प्रबृत्तिका पुनराबृत्ति हुन्, निरन्तरता हुन्। एमाले, काँग्रेस, माओवादीले बिगतकै नश्लवादलाई शिरोपर गरेको र परिबर्तित समयको जनआकांक्षालाई आत्मसात नगरेको परिणाम हुन्, उपज हुन्।

थारुहरुले के पाए? 

१. आन्दोलन र विद्रोहले बिश्व सामु चिनिए थारु 

यहाँसम्म आइपुग्दा थारुहरुसँग गुमाउनका लागि बाँकी के नै थियो र उनीहरु गुमाऊन्। उनीहरु गुमाउनु भन्दा धेरै बढी पाए। थरुहट आन्दोलनको यो पहिलो दशकमा थारुहरु निकै जुर्मुराए। उनीहरु हिनताबोधबाट मुक्त भए। जुन खानपानले थारुहरुलाई शासक जातिहरुले अपमानित गर्थे, त्यही खानपान खुलेआम (घोंघी, गँगटो, बंगुर, मुसाको मासु) जिल्लादेखि राजधानी काठमाण्डौका महोत्सवसम्म गर्बका साथ राख्न सफल भए। जुन भेषभूषा (पहिरन) ले उनीहरु अपमानित महशुश गर्थे, त्यो भेषभूषा (लेहँगा, चोलिया, गोन्या, अँगिया) लाई बजारीकरण गर्न सफल भए, लगाउन, देखाउन सफल भए। हिनताबोधले छोडीसकेका, हराइरहेका उनीहरुका चाडपर्ब, रीति संस्कृतिलाई संरक्षण र सम्बर्द्धन गर्न सफल भए, राष्ट्र र अन्तर्राष्ट्र जगतमा चिनाउन सफल भए।

यही दशकमा उनीहरु धेरै अगुवाहरु पाए। हरेक दलमा अहिले थारुहरु केहि संख्यामा अगुवाई गरिरहेका छन्। आन्दोलनले उनीहरु झन झन निखारिंदै गएका छन्। पहिचानको आन्दोलनले उनीहरुलाई एक ढिक्का बनाइरहेको छ। जेलजीवनले नेता हुन नचाहने थारुहरुलाई पनि नेता बन्न सिकाइरहेको छ।

टीकापुरको थारु बिद्रोहले थारुहरुलाई बिश्व सामु चिनाएको छ। त्यो अकल्पनीय घटना नघटेको भएपनि एमाले, काँग्रेस र माओवादीमा रहेका सामन्तहरु थारुहरुलाई सहजै अधिकार दिंदैनथे, यसमा सबै प्रष्ट हुन जरुरी छ। तर यसो भन्दा घटना घट्न आवश्यक थियो भनेको अर्थ नलागोस्, थारु समुदाय त्यस्तो कहिल्यै चाहँदैन। यथार्थमा काँग्रेस एमालेको सरकारले थारुहरुमाथि गरेको क्रूर दमन र दमनमा माओवादी नेताको पूर्ण समर्थनले टीकापुरमा अप्रत्यासित घटना निम्तिएको देखिन्छ।

२. असली अनुहार प्रष्टिएको छ 

दल, नेता, राज्यको असली अनुहार प्रष्टिएको छ। आन्दोलनले दूधको दूध र पानीको पानी प्रष्ट छुट्ट्याएको छ। राज्यले भ्रमित पार्ने प्रयास गरेपनि यतिबेला थारु समुदायका अधिकांश सचेत मान्छे शासक जातिहरुको नश्लबादी चिन्तनबारे स्पष्ट भएका छन्। आन्दोलनमा अगुवाई गर्ने र आन्दोलनमा सहभागी भएकै कारणले उनीहरुलाई पक्राउ गर्ने, हिरासतमै निर्मम यातना दिने, तर सेना प्रहरीकै उपस्थितिमा थारुहरुको घरमा आगो लगाउने, लुटपाट गर्नेहरुलाई केहि नगर्ने कार्यले नेपाल सरकारको र शासकहरुको असली चेहरा बिश्व सामु उदाङ्गो भएको छ। टीकापुरको घटनाले राजनीतिको र नबुझ्ने मान्छेलाई पनि राजनीति बुझ्ने प्रेरणा दिएको छ। राज्यको जुन ओज थियो, तेज थियो अहिले घटेको छ।

३. शासक र राज्यको कारण टीकापुर बदनाम 

जनताको आवाजको कदर गर्नु राज्यको दायित्व हो। तर कतिपय बेला राज्य निरंकुश हुन पुग्छ। निरंकुश राज्यले जनतामाथि अन्याय र अत्याचार गर्न पुग्दछ। जनता राज्यसँग अधिकार माग्दछन्। तर राज्यले अधिकार दिनुको साटो बेवास्ता गर्न थाल्दछ, दमन गर्न थाल्दछ, अनि राज्यसँग जनताको झडप हुन पुग्दछ। लडाई हुन पुग्दछ। थरुहट आन्दोलन र थारुहरुको बिद्रोह पनि कुनै जाति वा समुदायको बिरुद्धमा भएको होइन। टीकापुर घटनामा राज्यका प्रतिनीधिको ज्यान गएको हो, पहाडी समुदायको ज्यान गएको होइन। राज्यमा एकलौटी कब्जा जमाएको कारण त्यहाँ पहाडी ब्राम्हन, क्षेत्रीसँग झडप गरेको जस्तो देखियो। भेद नपाएका जातिबादीहरुले राज्यको दुरुपयोग गर्दै थारुहरुको घर जलाउने, लुटपाट गर्ने, तथानाम गाली गलौज गर्ने कार्य गर्न पुगे। प्रहरी प्रशासनमा जातिबाद हाबी भएका कारण थारुहरुमाथि दुर्ब्यबहार गर्न पुगे। तर त्यो दुर्ब्यबहारले टीकापुरलाई हेर्ने थारु नजरीया फरक भएको छ। उनीहरुको उपस्थितिमा कमी आएको छ। दुर्ब्यबहारमा परिसकेकाहरु टीकापुरको नाम पनि सुन्न चाहँदैनन्। फलस्वरुप टीकापुरको हँसिलो अनुहार अहिले मलिन बन्दै गएको छ।

४. लड्ने साहसमा वृद्धि :

आन्दोलन र बिद्रोहले थारुहरुलाई अधिकारको लागि लड्ने क्षमतामा बृद्धि भएको छ। उनीहरु बेला बखत अरु दलको आव्हानमा शासक जातिहरुकै लागि लडे। तर यो पहिलो दशकमा उनीहरु आफ्नै लागि लडेका छन्। सदाबहार शासनमा बसिरहेकाहरुलाई चुनौती दिएका छन्। उनीहरु भनिरहेका छन् कि २१ औं शताब्दी समानताको शताब्दी हो, त्यसकारण समान अधिकार देऊ, सम्मानपूर्ण ब्यबहार गर। हरेक अन्तर्क्रिया, गोष्ठी, सभामा शासक जातिहरुका अन्याय र अत्याचारको बिरुद्धमा बेहिचक, बेझिझक बोलेका छन्। लडाई लामो जान सक्छ भन्ने कुरा पनि राम्ररी बुझेका छन्। उनीहरुको लड्ने साहसमा बृद्धि भएको छ।

अबको सम्भावना 

यतिबेला देशमा पाँच बिचार हाबी छन्

पहिलो धारणा पहाडबादी ब्राम्हन/क्षेत्रीबादी धारणा हो। जसलाई एमाले पार्टी र काँग्रेसका केहि नेताहरुले अँगालेका छन्। जुन धारणा भन्दछ, ‘तराई नेपालको हो, तर तराईबासी बिदेशी हुन्, त्यसकारण उनीहरुको सीमांकनको माग, समानुपातिक सहभागिताको माग देश टुक्रयाउने माग हो, जुन सम्भव छैन, त्यसकारण थारु, मधेशीहरुलाई दबाएर, पेलेर लानुपर्छ।’

दोश्रो काँग्रेसका केहि नेताहरु र नेकपा माओवादी केन्द्रको धारणा हो। जुन धारणा भन्दछ ‘थारु, मधेशी, आदिबासी जनजातिहरुलाई पूर्ण अधिकार दिनु हुँदैन, यिनीहरुलाई फकाई फुलाई बिस्तारै गलाउँदै लानुपर्छ, ता कि उनीहरु यथास्थितिमै चित्त बुझाउन्।’ फोरम लोकतान्त्रिक यसको नजिक छ। उसलाई सरकारमा सामेल गरिदिए पुग्छ। दोहोरो चरित्रको कुरा गर्दै सत्तामा पुगिराख्नु उसको मुख्य ध्येय हो।

तेश्रो धारणा नयाँ शक्तिको हो। जो पहाड र तराईका जनतालाई पूर्ण अधिकार दिनुपर्दछ र देशलाई टुक्रा हुनबाट जोगाउनु पर्दछ भन्छ र प्रयास जारी राखेको छ।

चौथो धारणामा मधेशबादी दलहरु, थरुहट आन्दोलनकारीहरु पर्दछन्। उनीहरुको धारणा धारणा छ, अढाई सय बर्षदेखि तराई पहाडको उपनिबेशको रुपमा रहेको छ, त्यसबाट मुक्ति पाउनु पर्दछ, तराईलाई पहाडमा नराखी २ वटा प्रदेशमा बाँडिनु पर्दछ, राज्यको हरेक निकायमा समानुपातिक सहभागिता गराउनु पर्दछ, अर्थात सबै जनता नेपाली भएर समान अधिकारसहित सम्मानजनक रुपमा बाँच्न पाउनु पर्दछ। तर जब एमाले पार्टी र काँग्रेस, माओवादीका केहि नेताहरुले उनीहरुलाई हँकुवा हाँक्दै लखेट्दै लगातार धकेल्दै छेउसम्म पुर्‍याउन थाल्दछन्, तब उनीहरुमा तराईलाई स्वतन्त्र पार्न आवश्यक छ भन्ने बिचार पनि मनमा आउन थाल्दछ र आगो भई ओकल्न थाल्दछन्। यो बेलाबखत मधेशी थारु नेताहरुको मुखबाट सुनिन थाल्छ।

पाँचौ भनेको सि.के राउत बिचारधारा छ, जो शान्तिपूर्ण बिचार प्रबाह गर्दै बिस्तारै छाउँदैछ र स्पष्ट भाषामा मधेश स्वराज वकालत गर्दछ। नेपाली राज्यको उत्पीडनबाट जोगिन मधेश स्वतन्त्र हुनै पर्दछ भन्ने बिचार राख्दछ।

यी पाँच धारणालाई हेर्ने हो भने जति एमालेबाद हाबी भयो, जति केपी, भीम रावल, शेरबहादुर देउबा, लेखराज भट्टहरु थारु र मधेशीहरुलाई दास सम्झनेछन्, त्यति नै थारु, मधेशी, जनजातिहरुको धारणामा अलगावबाद हाबी हुँदै जाने सम्भावना प्रबल छ। संसारमा दमनले मनलाई जितेको अबस्था छैन, माया प्रेम र भातृत्वले मात्र मन जित्न सम्भब हुन्छ। समग्रमा भन्दा भोलीको दशक, भोलीको समय अझ सोचनीय हुनेछ, किन कि यो धर्तीमा भोली अझ सचेत थारु, मधेशी, आदिबासी जनजातिहरुको आगमन हुँदैछ। तिनले धोती प्रदेशको खुलेआम वकालत गर्नेछन्। पाकेको आँप मात्रै होइन, धेरै काँचो आँप पनि झर्न तयार हुने सम्भावना बढ्दैछ।

 अन्त्यमा के भन्न सकिन्छ भने देशमा रहेका उत्पीडित जातिहरु (थारु, मधेशी, आदिबासी जनजाति, मुश्लिम, पिछडा बर्ग) पहिले यो वा त्यो नाममा अरुको लागि आन्दोलन गरे। बि.स.ं २०६२/०६३ को आन्दोलनपछि उनीहरु आफ्नो लागि आन्दोलन थालेका छन्। बाह्रबुँदे समझदारी, बिस्तृत शान्ति सम्झौताका सारभूत कुरालाई, तत्कालीन राज्य पुनर्संरचना आयोगका कुरालाई लागू गरेको भए शायद देशमा अहिलेको अबस्था आउँदैनथ्यो होला। तर राजतन्त्रलाई फाल्ने र पहाडी ब्राम्हन/क्षेत्रीहरुको जातिय राज्यलाई अझ संस्थागत गर्ने काँग्रेस, एमाले, माओवादीका शीर्ष नेताहरुको भित्री चाहनाले गर्दा देश नराम्रो दलदलमा फँस्न पुगेको छ। राज्यका तमाम कोशिशका बाबजुद पनि अहिले उत्पीडित जातिहरु एक हुँदैछन्, संघीय गठबन्धन त्यसैको एक उदाहरण हो। थारु र मधेशीको मुद्दा पनि अहिले एक भएर आएको छ, संयुक्त रुपमा आवाज बुलन्द भैरहेको छ। भोलीको दिनमा एमालेको यही अतिबाद रहिरह्यो भने मधेशबादी दल र सि.के. राउतको एक आवाज नहोला भन्न सकिन्न। त्यसकारण दलदलबाट निकाल्ने हो भने एमालेहरु, काँग्रेस र नेकपा माओवादी केन्द्रले तराई नेपालको हो र त्यहाँका आदिबासीहरु, बासिन्दाहरु बिदेशी हुन् भन्ने भावनालाई त्याग गर्न सक्नु पर्दछ। उनीहरु नेपाली हुन्, उनीहरुको पनि चाहना छ, अधिकार छ, सीमाको रक्षा उनीहरु गरिरहेका छन् भनी सम्मान गर्नुपर्दछ र आवाजको कदर गर्नुपर्दछ। यसैमा देश र जनताको कल्याण छ। धन्यबाद!

लेखक थारु नागिरक समाजका अगुवा हुन्।

Leave a Reply

Your email address will not be published.