थरुहट र मधेस प्रदेश अब संसारको कुनै शक्तिले रोक्न सक्दैन : लेखी

राष्ट्रिय जनता पार्टी नेपालका महासचिव राजकुमार लेखीले संविधान संशोधनबिना कुनै हालतमा चुनाव हुन नसक्ने बताएका छन्। सप्तरीको बलुवामा आयोजित शीर्ष नेताहरु सहभागी कार्यक्रममा सम्बोधन गर्दै लेखीले थरुहट र मधेस प्रदेशका लागि राजपाले आन्दोलन गरेको स्पष्ट पारे।

‘हामी स्वायत्त र स्वशासनको माग गरिरहेका छौं। हामीलाई स्वायत्त प्रदेश दिइयोस्। थरुहट प्रदेश र मधेस प्रदेशको स्वतन्त्रतालाई संसारको कुनै शक्तिले अब रोक्न सक्दैन,’ सम्बोधन गर्दै लेखीले भने।

उनले अहिले मुलुकमा दुई प्रकारको राजनीतिक शक्ति भएको दाबी गरे। एक कांग्रेस, एमाले, एमाओवादी जसले जातिवादी, नश्लवादी राजनीति गर्छ। अर्को राजपा जसले संविधान संशोधन गरी जनसंख्याको आधारमा स्थानीय तह बनाउनपर्ने माग गरिरहेको लेखीले बताए।

कार्यक्रम पार्टी केन्द्रीय अध्यक्ष मण्डलका राजेन्द्र महतो, सरदसिंह भण्डारी, अनिल झा र राजकिशोर यादवले सभालाई सम्बोधन गरेका थिए।

Leave a Reply

Your email address will not be published.