जुनजस्तै चम्किदै गायक रोशन रत्गैँया

सन्तोष दहित/दाङ।
‘हुने विरुवाको चिल्लो पात’ भने झैँ रोशन रत्गैँया पनि हुने विरुवाको चिल्लो पातमध्ये एक हुन् । छोटो समयमा आम दर्शक र श्रोताहरुको मन जीत्न सफल भएका युवा गायक रोशन रत्गैँया अहिले आम मानिसहरुको मन मनमा बसिसकेका छन् ।

दंगीशरण गाउपालिका वडा नं. ४ निवासी गायक रोशन रत्गैँयाले नेपाली र थारु भाषामा करिब ३ दर्जन बढी गीतम स्वर दिइसकेका छन् । उनको गीतहरु पछिल्लो समयमा भाइरल बन्दै गएका छन् । हालैमात्र गायक रत्गैँयाले ‘आउ नाचौं’ भाग २, को गीतमा स्वर दिएका छन् । उनले गीत आफ्नै युट्युबमार्फत सार्वजनिक गरेका छन् । अहिलेसम्म करिब २५ लाख मानिसहरुले हेरिसकेका छन् । यो गीतमा चर्चित नायिका शिल्पा पोख्रेल र युवा मोडेल वीर चौधरीको अभिनय रहेको छ ।

केही वर्ष मध्यपश्चिम एफएममा प्राविधिक र कार्यक्रम प्रस्तोताको रुपमा परिचत रहेका रत्गैँया ४ वर्ष अगाडि काठमाडौं छिरेका थिए । सानैदेखि गीतसंगितमा रुचि राख्ने युवा गायक रत्गैँयाको पहिलो गीत ‘तिमीले मुटु टुक्रा पार्यो नि’ हो । चर्चित गायिका अन्जु पन्तको साथमा ‘तिमीले मुटु टुक्रा पार्यो नि’ गीतमा स्वर दिएपछि रत्गैँया एकाएक चर्चामा आएका थिए ।

त्यसपछि उनले पत्रकारिता पेसालाई छोडेर गीत संगीतलाई मुख्य पेसाको रुपमा अंगाल्न थाले । २०७१ देखि उनले राजधानीलाई कर्मथलो बनाएर गायन क्षेत्रमा निरन्तर लागिरहेका छन् । अहिले शास्त्रीय संगीत तृतीय वर्षमा अध्यनरत गायक रत्गैँया ‘तिमीले मुटु टुक्रा पार्यो नि’, सोल्टिनीको माया, आउ नाचौं भाग १, आउ नाचौं भाग २, मेरी कान्छी सुन न, नक्कली ठिटीलगायत करिब एक दर्जन नेपाली गीतमा स्वर दिएका छन् ।

रत्गैँयाका नेपाली गीतमात्र नभइ थारु भाषाको गीत पनि उत्तिकै सुपरहिट छन् । थारु भाषामा पनि उनले दुई दर्जनभन्दा बढी गीतमा स्वर दिइसकेका छन् । ‘ठुन्यार ठुन्यार, बरा बरा मुर्घा, सिटरी बयाल बहल, टुहाँर आखिसे जुझल मोर आँखी, सबजन जुट्लसे, आइल शनिबार पार्टी करि यार, मस्टैली, हर याद पियायिठ, हर रात हर दिन, ए प्यारी, कैलाली बैनियामे, रहर रहर, डिजे वाला लगायत गीतमा रत्गैँयाले स्वर दिएका छन् ।

‘आउ नाचौं’ जस्तै थारु भाषाको ‘बरा बरा मुर्घा’ र ‘ठुन्यार ठुन्यार’ गीत पनि सामाजिक सञ्जालमा भाइरल बनेका छन् । अंग्रेजी विषयमा मास्टर डिग्री गरिरहेका गायक रत्गैँया पुर्वदेखि पश्चिम थारु समुदायको लोकप्रिय गायकको रुपमा चिनिन्छन् ।

Leave a Reply

Your email address will not be published.