राजपाको महाधिवेशन वैशाखमा हुने, रेशम चौधरीलाई रिहाई गर्न माग

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको राष्ट्रिय महाधिवेशन वैशाखमा हुने भएको छ । तीन दिनसम्म चलेको राजपा नेपालको राजनीतिक समितिको बैठकले आगामी २०७६ वैशाख ७, ८ र ९ गते राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको हो ।

२०७४ वैशाख ७ गते छवटा दल मिलेर राजपा नेपाल गठन भए पनि २०७४ असार ३० गते निर्वाचन आयोगमा दर्ता भएकोलाई आधार मानेको छ । र, पार्टी दर्ता गराउँदा पार्टी गठन भएको एक वर्षभित्र महाधिवेशन गर्ने भनिएको छ । यो कुरा पार्टीको विधानमा पनि उल्लेख गरिएको छ ।
निर्वाचन आयोगले पनि पत्र पठाएर विधानमा उल्लेख भएअनुसार महाविधेशन सम्पन्न गराउन आग्रह गरेको छ। तर, राजपा नेपालको विधान २०७४ को धारा–२२ (१०) मा ‘राष्ट्रिय जनता पार्टी नेपालको केन्द्रीय महाधिवेशन एक वर्षभित्र सम्पन्न गरिनेछ’ लेखिएकोमा त्यसलाई ‘दुई वर्षभित्र सम्पन्न गरिनेछ’ भनी संशोधन गर्ने निर्णय बैठकले गरेको छ ।

महाधिवेशनका लागि विधान संशोधन गरेको निर्णय आयोगलाई पठाउने पार्टीका महासचिव एवं प्रवक्ता केशव झाले जानकारी गराए।
पार्टीको अर्को बैठक असार २१ गते बस्ने बताइएको छ। बैठकमा प्रस्तुत भएको मस्यौदा विधानलाई अध्ययन गरी २१ गतेको बैठकमा छलफल गर्ने बताइएको छ।

अध्यक्ष मण्डलका सदस्यहरु महेन्द्र राय यादव, अनिलकुमार झा र राजेन्द्र महतो पार्टीको मस्यौदा विधान पेस गर्नुभएको छ । पार्टी अध्यक्ष मण्डलमा प्रस्तुत गरिएको पार्टीको मस्यौदा विधान परिमार्जन गरी अर्को बैठकमा पेस गर्न उपाध्यक्ष सर्वेन्द्रनाथ शुक्ल, सहअध्यक्ष लक्ष्मणलाल कर्ण र उपाध्यक्ष बृषेशचन्द्रद्र लाल रहने गरी तीन सदस्यीय समिति बनाएको छ ।

त्यसैगरी, बैठकले मधेस आन्दोलनको विषयमा छानविन गर्न बनेको उच्चस्तरीय आयोगले पेस गरेको प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ । थुनामा रहेका सांसद रेशम चौधरी लगायत बाँके, महोत्तरी र सिरहासहित विभिन्न स्थानमा बन्दी जीवन बिताइरहेका नेता, कार्यकर्ताको मुद्दा फिर्ता गरी रिहा तथा संविधान संशोधन गर्न माग गरेको छ ।

Leave a Reply

Your email address will not be published.