अष्टिम्कीमा कतै रुवाबासी, कतै खुसीयाली

Astimki Vs Flood

सन्तोष दहित, दाङ- हरेक वर्षजस्तै यसवर्ष पनि दाङका थारु चेलहीरु ‘अष्टिम्की’ पर्वको भब्य तयारीमा जुटेका थिए। अष्टिम्कीको तीन दनिअघिदेखि अविरल वर्षाले गाउँमा सन्त्रास फैलियो। नभन्दै मध्यरातमा आएको बाढीले कयौंको घरपरिवार बगाएर लगे।
बबई नदीमा आएको भेलसँगै कतिका सपना तुहिएर गए। अष्टिम्कीको तयारीमा रहेका चेलीहरु शोकमा डुबे। तीन दिनअघिसम्म अष्टिम्कीको भब्य तयारीमा जुटेका उनीहरुको योजना बबईको भेलले क्षणभरमै बगाएर लगिदियो। त्यसका बावजुद पनि केही चेलीहरुले विरहको गीतसँगै अष्टिम्की पर्व मनाएका छन्।

कृष्ण जन्माष्टमीकै दिन मनाइने यो पर्व पश्चिम थारु चेलीहरुको महान् पर्व हो। यस दिन थारु चेलीहरुले घरका भित्तामा चित्र बनाइ पूजाआजा गर्छन्। रातभरि भजनकीर्तन गर्छन्। तर अफसोच यसवर्ष उनीहरु शोकमा डुबे।

दाङमात्र हैन, पश्चिम तराईका सुर्खेत, बाँके, बर्दिया, कैलालीसम्मै बाढीले उद्यम मचायो। ती क्षेत्रमा अहिले पनि हजारौं जनता पीडित छन्। केही दिनअघिसम्म मिठोमसिनो खाएर बसेका हजारौं परिवार यतिबेला घरपरिवारविहीन भएका छन्। उनीहरु चिउरा र विष्कुटको भरमा आफ्नो ज्यान जोगाइरहेका छन्। साँच्चै भन्ने हो भने उनीहरु राहतको पर्खाइँमा छन्।

अविरल वर्षासँगै आएको बाढीले दाङको फूलवारी, धनौरी, श्रीगाउँ, गोलटाकुरी, डुरुवा, सतवरिया, ललमटिया, सिसहनिया र सोनपुरका गाविसका थारुहरु मारमा परेका छन्। यी क्षेत्रका थारु चेलीहरु अष्टिम्की मनाउन नपाएको थारु कल्याणकारिणी सभाका तेजमान चौधरीले बताए। यी क्षेत्रका बासिन्दालाई चाँडोभन्दा चाँडो राहत सामग्री उपलब्ध गराउन उनले नेपाल सरकारसमक्ष मागसमेत गरेका छन्।

अष्टिम्कीको तयारी गरिरहेका बेला अचानक अविरल वर्षासँगै बाढी आएको स्थानीयले बताए। ‘यसपाला मजाले अष्टिम्की पर्व मनाउने तयारीमा थियौं,’ उरहरी-६ मोतिपुरका पीडित जगुराम चौधरीले भने, ‘तर मध्यरातमा आएको बाढीले सबै सम्पत्ति बगाएर लग्यो। एकदमै पीडामा छु।’ उनले सबै सपना एक रातमै चकनाचुर भएको बताए।

बाढीले दाङमा १४ जनाको मृत्यु भइसकेको छ। ५ सय १३ जना घरविहीन बनेका छन् भने दर्जन बढी बेपत्ता छन्।

अघिपछि काममा ब्यस्त रहने थारु समुदाय अष्टिम्की पर्व स्वतन्त्र भएर मनाउने गर्छन्। उनीहरु उक्त दिन श्रीकृष्णको नाममा दिनभरी निरहार ब्रत बस्ने गर्छन्। घरको भित्तामा चित्र कोरी रातभरी गीत गाउँछन्। भोलिपल्ट भने चेलीहरुकहाँ लौव अग्रासन (कोसेली) दिने चलन छ।

Leave a Reply

Your email address will not be published.