थाकस दक्षिण कोरिया र कतारबाट बाढी पीडितलाई राहत संकलन

कारी महतो/चितवन
थारू कल्याणकारिणी सभा (थाकस) दक्षिण कोरिया र कतार शाखाले बाढीपीडितका लागि राहत संकलन गरेका छन् । थाकस दक्षिण कोरियाले १ लाख ५ हजार ५ रुपैयाँ र थाकस कतार च्याप्टरले ५५ हजार रुपैयाँ संकलन गरेका छन् ।

थाकस दक्षिण कोरियाले संकलन गरेको रकम न्युज२४ टिभिका सिधा कुरा जनतासँग कार्यक्रमका संचालक रवि लामिछानेलाई हस्तान्त्रण गरिएको थाकस दक्षिण कोरियाले जनाएको छ । रवि लामिछानेको टिमले दिर्घकालीन पुनर्निमाणको योजना अगाडि बढाएकोले आर्थिक सहयोग गर्ने व्यक्तिहरुको इच्छा र चाहना अनुसार संकलन भएको रकम वहाँको अभियानलाई हस्तान्त्रण गरिएको कुरा थाकस दक्षिण कोरियाका अध्यक्ष पुष्प चौधरीले फोनबाट थारुवान डट कमलाई जानकारी गराए । उक्त रकम अध्यक्ष पुष्प चौधरीको धर्मपत्नी रेम्का चौधरीले रवि लामिछानेका सहकर्मीलाई हस्तान्त्रण गरिएको कुरा अध्यक्ष पुष्प चौधरीले बताए ।

राहत संकलन अभियानका लागि थाकस दक्षिण कोरियाका उपाध्यक्ष शिव चौधरीको संयोजकत्वमा एक समिति गठन गरिएको जनाइएको छ । डाक्नेश्वरी पातो सप्तरीमा स्थायी घर भएका अध्यक्ष पुष्प चौधरी र रत्ननगर–७, मैनाहा चितवनमा स्थायी घर भएका उपाध्यक्ष शिव चौधरीको तथा संस्थाका सम्पूर्ण सदस्यहरुको सहयोग र पहलमा राहत रकम संकलन गरिएको थियो ।

स्थापनाकालदेखि नै मानवीय सेवामा सहयोग गर्दै आएको थाकस दक्षिण कोरियाले आगामी दिनहरुमा पनि यस्तै आपत विपदमा हातेमालो गरि सहयोग गर्ने र अबको केहि दिनदेखि नै चितवनका घाइते सन्जीत महतोका लागि सहयोग संकलन गर्ने कुरा पुष्प चौधरी र शिव चौधरीले बताए ।

उता थाकस कतारले संकलन गरेको ५५ हजार रुपैयाँ थाकस केन्द्रीय समिति मार्फत बाढीपीडितहरुलाई उपलब्ध गराउने कुरा उदयपुर जिल्लाको चौडन्डिगढी नगरपालिका–९, ज्यामिरे घर भई हाल कतारमा रहनु हुने थाकस कतारका प्रथम उपाध्यक्ष नारायण चौधरीले बताए । उक्त सहयोग रकम थाकस कतारले आयोजना गरेको थारु मिलन समारोह तथा बनभोज कार्यक्रममा बाढीपीडितका लागि संकलन गरिएको समेत उपाध्यक्षले जानकारी गराए । कार्यक्रम संस्थाका अध्यक्ष अरबिन्द चौधरीको अध्यक्षतामा भएको थियो ।

Leave a Reply

Your email address will not be published.