गायनसँगै मोडलिङ गर्दै श्रीनिवास चौधरी [भिडियो]

विगत एक दशकदेखि सांगीतिक क्षेत्रमा लागेका सञ्चारकर्मी तथा गायक श्रीनिवास चौधरी थारुहरुको प्रख्यात गायकको रुपमा परिचित छन्। निकै मिठो स्वरका धनी गायक चौधरी आफू कुमार सानुको ठूलो फयान भएको बताउँछन्। सुरुवाती दिनमा कुमार सानुकै टोनमा गीत गाएको उनले सुनाए।

२०५९ साल देखि सांगीतिक क्षेत्रमा लागेका चौधरी बुटवलको बागेश्वरी संगीतालय तथा लुम्बिनी कलाकेन्द्रमा सुरेश सेन्चुरी तथा सौगात सायरसँग गायन प्रशिक्षण लिएका हुन्। उनले थारु, नेपाली, भोजपुरी र हिन्दी गरी तीन सयभन्दा बढी गीत गाइसकेका छन्।

सुरुका दिनमा थारु र भोजपुरी गीतमा जमेका उनी पछिल्लो समय नेपाली गीतलाई प्राथमिकता दिन थालेका छन्। उनले तीन दर्जनभन्दा बढी नेपाली गीतहरु गाइसकेका छन्। उनले आधुनिक र पप दुबैमा आफूलाई फिट ठान्छन्। त्यही कारण पछिल्लो समय उनी स्टेज कार्यक्रमका लागि पनि व्यस्त कलाकारमा गनिन्छन्।

उनको आदिवासी थारु हम्रे गीत पनि धेरैले रुचाएका छन्। आदिवासी र थारुहरुको बारेमा बनाइएको उक्त गीत उनले सोमती थारुसँग गाएका छन्। त्यस्तै माघीबारेको गीत पनि चर्चित गीतमा पर्ने गर्छ। अघिल्लो वर्ष माघीको अवसरमा उनले नवगायिका अन्नु चौधरीसँग उक्त गीत गाएका थिए। उक्त गीतको अहिले भिडियो सुटिङको तयारी भइरहेको उनले बताए।

उनले हालसालै ‘चैन करार’ बोलको गीत सार्वजनिक गरेका छन्। जसमा शब्द संगीत सावन मर्चाहाले दिएका छन्।  गीतमा गायक चौधरी आफैँले मोडलिङसमेत गरेका छन्। उनलाई निरा चौधरीले अभिनयमा साथ दिएकी छन्।

Leave a Reply

Your email address will not be published.