उन्नती चौधरी।
थारू समुदाय सांस्कृतिकरुपले अन्य समुदायभन्दा आफूलाई धनी भएको दाबी गर्छन्। उनीहरु आफ्नो संस्कृति जोगाउन कुनै न कुनै तह र तप्कबाट अग्रसर छन्। पछिल्लो समयमा थारूहरुको कला संस्कृति अन्जानमै भएपनि जोगिरहेको छ। देश विदेशमा थारूहरुको पहिचान आफैँ प्रचारात्मक भइरहेको छ। सुदूरपश्चिमको विभिन्न धार्मिक स्थल मठ मन्दिरसँगै थारूहरुको कला संस्कृति पनि नबेचिएको भने होइन। आर्थिकरुपले सबल बन्न थारू पहिरन, गरगहना, खानपिन, नाचगान लगायत थारू समुदायले जोगाउँदै आएका केही परम्परागत सीप कलाहरुको सहायताले सुदूरपश्चिमका केही चमत्कारिक व्याक्तित्वहरुले आफ्नो स्वामित्वमा प्रयोग गर्दै आएका छन्। जुन स्वामित्वमा राजनीतिक खेल मजाले अडिएको छ। तैपनि थारू समुदाय संस्कृति जोगाउने नाममा चुप लागेको अवस्था छ।
गैर थारूहरु बारम्बार थारू समुदायको संस्कृतिमाथि धावा बोल्दै टिप्णी गर्छन्। उनीहरु भन्छन्, ‘थारूहरु पर्व मनाउँदा मनाउँदै सिकिए तर पर्वको पीछा भने छोड्दैनन्।’ गुरही मनाउँदै गर्दा मेरो मन पनि त्यस्तै भएको हो। तर हामीले नगरे अगामी पुस्ताहरु झनै थारु कला संस्कृतिबाट बेखबर बन्ने चिन्ता छ। त्यसैले यो वर्षको गुरही पनि भव्य सभ्य र सानदार हुनैपर्छ भन्ने तर्कको पछाडि पुनः हाम फाल्ने संकल्प गरेका छौं।
थारू समुदायले ‘गुरही’ पर्व हरेक वर्ष नागपञ्चमीको दिन मनाउने गर्छन्। ‘गुरही’को आफ्नो विशेषता छ। पछिल्लो समयमा ‘गुरही’बारे अन्य समुदाय पनि जानकार भइसकेका छन्। पहिला पहिला यो पर्वलाई गाँउमा मात्र मनाउने गर्थे। तर पछिल्लो तीन/चार वर्ष यता थारू पत्रकार संघको अगुवाईमा थारूसँग सम्बन्धित सबै संघ संस्था मिलेर यो पर्वलाई संस्थागत गरिसकेका छन्।
दुई वर्ष अगाडि श्रीराम भित्ते पात्रोले थारू समुदायमा दरार पैदा गरिसकेको थियो। ‘गुरही’लाई धनगढीमा भव्य तरिकाले मनाएको देखेर श्रीराम भित्ते पात्रोले बिना सोधखोज नै साउन १ गते ‘गुरही’ पर्व भनेर पात्रोमा उल्लेख गरेको थियो। थारू अगुवाहरुको चौतर्फी विरोधपछि साउन १ गते पात्रोमा उल्लेख नगर्ने सर्त स्विकार्य भएको छ।
के हो ‘गुरही’ पर्व?
थारूहरुले ‘गुरही’ किन मनाउँछन्? कसरी मनाउँछन्? यो पर्व मनाउनुको कारण के हो? भन्ने विषयमा अन्य समुदायहरुले जान्ने इच्छा देखाउनु स्वाभाविककै हो। ‘गुरही’ नागपञ्चमीको दिन थारू समुदायका युवा यूवतीहरु आफ्नो सांस्कृति झल्किने लेहेँगा र चोलियामा सजिएर रमाइलो गर्दै कपडाको पुतला सेलाउने (अस्राउने) गर्छन्। जसलाई ‘गुरही’ भनिन्छ।
थारू समुदायका पुर्खाले गुरही पर्वको अलिखित इतिहासको लघु कथा सुनाउने गर्छन्। उनीहरुको भनाई अनुसार गुरही थारू समुदायको पहिलो पर्व हो। गुरही अर्थात् नागपञ्चमीको दिन गर्मीयामको मृत्यूवरण हुन्छ। जाडोयामले जन्म लिन्छ। यो पर्व मौसमी इतिहाससँग सम्बन्धित भएकाले होला पुर्खाहरुको भनाईअनुसार कुनै युगमा इन्द्रलोगले एक परिलाई जासुस अर्थात् दूत बनाएर मृतलोग अर्थात् मानव बस्तीमा अनुगमन गर्न अनुरोध गरेको थियो। ती परिले मानव बस्तीमा आएर एक वर्ष अध्ययन गर्ने सम्झौता भएको थियो। तर ती परि मानव बस्तीको काम करबाहीमा प्रभावित भइसकेकी थिइन्। उनलाई मानवसँगको उठबसले मानव बस्ती छोड्न गाह्रो भयो। चबैतिरको हरियालीले उनको मन उमंग भएको थियो। त्यही क्रममा उनको अनुगमनको अवधि समाप्त भयो। जुन दिन नाग पञ्चमी परेको थियो। त्यही दिन इन्द्रलोगले परिलाई बोलायो। परि एक वर्षको अवधिमा मानव बस्तीमा थुप्रै साथीसंगी बनाइसकेकी थिइन्। उनले आफू जाने दिन मानव बस्तीसँग भनिन्, ‘तिमीहरुको बस्तीमा तिमीहरुलाई दुःख दिने जति पनि रोग व्याधा, विषलु किरा फट्यांग्र छन्, तिमीहरुको दुश्मन जति छन्, ती सबै म आफूसँगै लिएर जान्छु।’ बस्तीका मान्छेहरु खुसी भएर परिको विदाईको लागि सबै आफ्ना सांस्कृति झल्कने लेहेँगा फरिया र चोलीमा सजिएर गाउँदेखि परसम्म अ-आफ्नो थालीमा खानेकुरा लिएर विदाई गरेका थिए।
त्यही सम्झनामा थारू समुदायले परिलाई सम्झँदै कपडाको पुतला बनाएर थालभरि मकैको भुजा, चाना, केराउ, भटमासको भुजा लिएर हरेक वर्ष परीको नाममा सेलाउने गर्छन्। त्यो दिन मानिसको दुश्मन गाउँ छोडेर भाग्ने गरेको जनविश्वास छ।
यो पर्वबारे केही अगुवाहरुको फरक तर्क पनि छ। उनीहरुका अनुसार कुनै युगमा एउटा राजा थिए। उनको दुई सन्तान एक छोरा र एक छोरी थिए। ती छोराछोरीबीच एकदमै मधुर सम्बन्ध थियो। जहाँ गए पनि सँगै जाने गर्थे। उनको छोरा जहिले सर्पको पूजा गर्थे र छोरी आफ्नो दादाको पूजा थाली बोकेर दादालाई पुजा गर्न सहयोग गर्थिन्। तर मन्दिरभित्र भने कहिल्यै प्रवेश गरेनन्। एक दिन केटाको बहिनी पनि आफ्नो दादासँग मन्दिरभित्र प्रवेश गरिन्। जब केटाले पंजाको पाठमा केन्द्रीत भए अनि केटाको अंगरक्षक सर्प केटालाई मणि दिन बाहिर निस्कियो। सर्प देखेर केटी हतारहतार गर्दै आफ्नो दादालाई टोक्छ छ कि भन्दै सर्पलाई मारिदिए। त्यसपछि केटाले आफ्नो बहिनीलाई सर्पको जानकारी दिए। केटीले आफ्नो दादासँग क्षमा माग्दै अन्जानमा भएको गल्तीप्रति क्षमाप्रर्थी मागे। त्यही भएर नागपञ्चमीको दिन हालसम्म गुरही पर्व मनाउँदै आएका छन्।
थारू समुदायमा हरेक पर्वको अ-आफ्नै इतिहास छ। सबैको आफ्नै कहानी छ। पुर्खाहरुले रचेको संस्कृतिको कहानी जे जस्तो भए पनि राज्य थारू समुदायको संस्कृतिलाई स्वीकार्न तयार भएको छैन। गैर थारूले मनाउँदै आएको पर्व तिज, गौरा पर्व, ल्होसार, छठ इत्यादी पर्वहरु नेपाली भित्ते पात्रोमा उल्लेख भएको हुन्छ। पर्व अनुसार सार्वजनिक विदा या स्थानीय बिदा भनेर विदा संकेटले थारू समुदाय पनि सो विदामा रमाउन बाध्य हुन्छन्। तर थारू समुदायले मनाउँदै आएको पर्व गुरही, चिरै भजहर, अइतवारी माघ पर्वबारे हालसम्म पनि कहीँ कतै उल्लेख भएको छैन।
वर्षौदेखि थारू समुदायले आफ्नो रीति तिथिअनुसार मनाउँदै आएको पर्वबारे विभिन्न कार्यक्रम गरी राज्यलाई जानकारी गराउँदै आए पनि सुनुवाई हुन सकेको छैन। दुई वर्ष लगतार श्रीराम भित्ते पात्रोले आफ्नो पात्रोमा थारू समुदायले मनाउँदै आएको पर्व गुरही साउन १ गते उल्लेख गरेर गरेर थारू समुदायमा नै भ्रम फैलाई दिएको थियो। श्रीराम भित्ते पात्रोले गुरही पर्वलाई विबादीत बनाएर पर्वलाई नै समाप्त गर्ने चलखेल गरेको आशंकामा अघिल्लो वर्ष थारू समुदायले साउन २३ गते प्रमुख जिल्ला अधिकारीलाई प्रमुख आतिथ्यतामा आमन्त्रित गरी राज्यको ध्यानाकर्षण गराएका थिए।
थारू समुदायले आफ्नो कला सांस्कृति र रहनसहनप्रति राज्य गम्भिर बनोस् भनि गुरही पर्व भव्य तरिकाले मनाए पनि राज्यको निकायबाट बालुवामा पानी हालेसरह भएको छ। थारू समुदायले आफ्नो हरेक पर्वबारे पटक-पटक जानकारी गराउनुपर्ने, विदाका माग गर्नुपर्ने संस्कार भने कायमै छ।
मनोविज्ञान किन फरक
थारू समुदायको अलिखित इतिहासको कारण दस्तावेजीकरणमा चुनौति छ। त्यही चुनौतिलाई सामना गर्न फरक फरक मनोविज्ञानहरुको सुत्र प्रयोग भइरहेको छ। पछिल्लो समयमा थारू संस्कृतिमाथि नजानिदो पाराले राज्य या गैरथारूहरुको हस्तक्षेपका कारण थारू संस्कृति विलिन हुने सम्भावना देखिन्छ। ती चुनौतिको सामना गर्न भने केही थारु अगुवाहरु तमतयार छन्। उनीहरु हरेक वर्ष आफ्नै गोजीमा भएका रकमबाट संस्थागतरुपले संस्कृति जोगाउने प्रयत्न गरिरहेका छन्।
संस्कृति प्रेमीहरुमाथि पनि कहिले काहीँ विभिन्न बाधा अवरोधको बाँधले निरासा पैदा हुन्छ। त्यो बाँधलाई भत्काउन थारू समुदायमा मनाउँदै आएको कला संस्कृतिहरुको जर्गेनाका लागि राज्यबाट आवश्यकता अनुसारको बजेट पारित गराउनुपर्ने देखिन्छ।
नेपालको संविधानले हरेक जाति भाषा कला र संस्कृतिको संरक्षण र सम्बर्द्धन गर्नुपर्ने उल्लेख गरेको छ। तर विडम्बना मान्नुपर्छ राज्यले थारू समुदायलाई हेर्ने मनोविज्ञान नै फरक छ। राज्यले संस्कृति जोगाउने नाममा मात्र होइन, उनीहरुको वृद्धिविकासमा बाधा पार्न कुनै न कुनै जाल बुनिरहेको हुन्छ। राज्यले पछाडि परेका वर्गको कोटा निर्धारण गरेर पुनः भुलभुलैयामा फालिरहेको छ कि? भन्ने भान हुन्छ। होइन भने हामी किन सधैं अरुको लहैलहैमा लागेर आफ्नो संस्कृति बहिस्कार गर्दैछौं। हामी किन अफ्नो संस्कृतिभन्दा अरुको संस्कृतिप्रति मोहित हुदैछौं। आफ्नो संस्कृतिप्रति अरुलाई किन प्रभावित गर्न सकिरहेका छैनौं? यस विषयमा हामी सबै जागरुक बन्नैपर्छ।