राजधानीमा साहित्य मेला सुरु

Ncell litfest2013काठमाडौं‍- एनसेल नेपाल साहित्य मेला (लिटरेचर फेस्टिबल)को तेस्रो संस्करण आजदेखि कमलादीको प्रज्ञा प्रतिष्ठानमा सुरु भएको छ। एनसेलको प्रायोजनमा बुकवर्म फाउन्डेसनले आयोजना गरेको चारदिने महोत्सवको उद्घाटन गर्दै राष्ट्रकवि माधवप्रसाद घिमिरे नेपाली संस्कृतिलाई साहित्यिक कृतिले नै जिउँदो राखेको बताए। राणाकालीन अवस्थाको समेत आफू प्रत्यक्षदर्शी रहेको बताउँदै उनले भने, ‘पुस्तक पढ्न नै बन्देज हुने कठोर राणाकालीन समयदेखि अहिले पुस्तककै लागि यति ठूलो मेलाको प्रत्यक्षदर्शी हुन पाउँदा मलाई गर्व लागेको छ।’ ९४ वर्षको उमेरमा यस्तो साहित्यिक महोत्सवमा सहभागी हुन पाउनुलाई आफूले गौरवको विषय मानेको बताउँदै उनले यस्तो मेलाले राष्ट्रिय साहित्यकारको परिचयलाई अन्तर्राष्ट्रिय उचाइमा पुर्‍याउन मद्दत गर्ने विश्वास व्यक्त गरे।
नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति वैरागी काइँलाले यो मेला साहित्यको मात्र नभएर सम्पूर्ण नेपाली वाङ्मयको नै मेलाका रूपमा परिभाषित गरे। अन्तर्राष्ट्रिय साहित्यकारसँग सम्वाद र आफ्ना अनुभव साटासाट गर्ने मञ्चका रूपमा रहेको उनले बताए।
मेलाको प्रयोजनबारे प्रकाश पार्दै यसका निर्देशक अजित बरालले लेखक–पाठकको प्रत्यक्ष सम्बन्ध स्थापित गर्ने, साहित्यको स्तर वृद्धि गर्ने र नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय बजारमा समेत स्थापित गर्ने उद्देश्यले मेला आयोजना गरिएको जानकारी दिए।

डा तीर्थबहादुर श्रेष्ठले “नेपाल चिनौँ” विषयमा बोल्दै नेपालीहरू आफ्नो देश पहिचान गराउने हरेक समारोहमा एकजुट भएर एकता प्रदर्शन गर्ने धारणा व्यक्त गरे। कार्यक्रममा लेखकद्वय प्रज्ज्वल पराजुली र फराह गुझनाभीले साहित्यिक पत्रिका ललितको दोस्रो संस्करणको विमोचन गरे।
कात्तिक ११ गतेसम्म चल्ने सो मेलाको आजको सत्रमा लेखक अभि सुवेदी, सञ्जीव उप्रेती, शारदा शर्मा, युवराज घिमिरे, नारायण वाग्ले, सुधीर शर्मा, खगेन्द्र सङ्ग्रौला, मुमाराम खनाल, सुविन भट्टराई, उपेन्द्र सुब्बा, कुमार नगरकोटी, बुद्धिसागरलगायतले ‘साहित्यमा ग्ल्यामर’ ‘लेखकको दृष्टिकोणमा लेखक’ विषयमा आ–आफ्नो धारणा राखेका थिए।
मेलामा साहित्य, कला, समाजशास्त्रदेखि अर्थशास्त्र, सिनेमालगायतका विषय रहेका छन्। विजयकुमार पाण्डे, सीके लाल, हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, नयनराज पाण्डेलगायत नेपाली लेखक र भारतबाट लेखक रविन्दर सिंह, शोभा डे, एनी जेदी, प्रज्ज्वल पराजुली, प्रकाश ऐयर, बेलायतबाट नेड ब्युम्यान र बंगलादेशबाट फराह गुझनभीलगायतका सात जना विदेशी लेखक महोत्सवमा सहभागी रहेका छन्। रासस

Leave a Reply

Your email address will not be published.