तिहारलगत्तै वाइम्याक्स इन्टरनेट

काठमाडौं- नेपाल टेलिकमले तिहारलगतै ‘वाइम्याक्स’ प्रविधिमार्फत इन्टरनेट सेवा वितरण गर्ने भएको छ। राजधानी र बुटवल दुई जिल्लाका ग्रामीण क्षेत्रलाई लक्षित गरेर टेलिकमले तारबिहीन द्रुत गतिको इन्टरनेट उपलब्ध गराउने प्रविधि ‘वाइम्याक्स’ मार्फत दुई लाख लाईन वितरण गर्न लागेको हो।

पहिलो चरणमा टेलिकमले काठमाडौँमा एक लाख र बुटवलमा एक लाख लाइन वितरणका लागि मुख्य पूर्वाधार निर्माण कार्यलाई तीव्रता दिएको कम्पनीका सहप्रवक्ता राजेश जोशीले जानकारी दिए। उनले काठमाडौँमा प्रविधि जडान कार्य सकिएर परीक्षण सुरु भएको र बुटवलमा भने यहाँको परीक्षण सकिएपछि जडान कार्य सुरु गरीने उल्लेख गर्दै यस प्रविधिका लागि आवश्यक पर्ने उपकरणहरू(एन्टेना) ल्याइएको बताए।

यस प्रविधिबाट सेवा लिँदा अधिकतम २० एमबिपिएस र न्यूनतम २५६ केबिपिएससम्म उपलब्ध गराउन सकिने छ। २५६ केबिपिएस भन्दा तलको गतिका सेवा लिन चाहने नेपाल टेलिकमका ग्राहकहरूका लागि भने एडिएसएल प्रयोग गर्न सकिने प्रवक्ता जोशीले बताए। उहाँका अनुसार नयाँ प्रविधि वाइम्याक्स र एडिएसएलको सेवामा ठूलो अन्तर हुने छैन।
वाइम्याक्सबाट अधिकतम् ३५ किलोमिटरसम्म लिज लाईन(दुईवटा कार्यालयबीचको लाइन) प्रयोग गर्न सकिने र यस प्रविधि प्रयोग गरिएको सिमित क्षेत्रमा वाइफाइ चलाउन सकिनेछ। रासस

Leave a Reply

Your email address will not be published.