रामजानकी विवाह महोत्‍सव हुँदै, हजारौंको भीड

सुरेश यादव, जनकपुर- रामजानकी विवाह महोत्सवको पूर्वसन्ध्यामा आइतबार जानकीको मटकोर (मैथिली परम्परा अनुसार विवाह अगाडी पवित्र जलासयमा बेहुला/बेहुलीका आफन्तले गर्ने पूजा) सम्पन्न भएको छ। जानकी मन्दिरबाट सीताको रुपमा सजिएकी किशोरीलाई रथमा चढाएर विशिष्ट मर्यादा अनुसार जानकी मन्दिरका महन्थ रामतपेश्वर दास लगायत दर्जनौ सन्तमहन्थ तथा विवाह उत्सवमा गाउँ–गाउँबाट आएका महिला श्रद्धालुहरुले मैथिली वैवाहिक गीत गाउँदै गंगासागर पोखरी किनारमा पुगेको थियो। उक्त यात्रामा हजारौं तिर्थालुको सहभागीता थियो। मटकोरमा पोखरीको घाटमा माटो कोरेर मैथिली परम्परा अनुसार सीताको प्रतिमुर्तीलाई नाङ्लोले स्नान गराई पूजा गर्ने चलन छ।
मैथिली परम्पराको वैवाहिक विधिविधानको तालिका अनुसार सात दिनसम्म मनाइने यो महोत्सवको सुरुवात नगर दर्शनबाट भएको हो। त्यसपछि दोस्रो दिन फुलबारी लिला हुँदै तेस्रो दिन धनुष यज्ञ र चौथो दिन तिलकोत्सव मनाइएको थियो। आइतबार मटकोर समापन भए लगत्तै जानकी मन्दिर परिवार वैवाहिक समारोहको तयारीमा जुटेका छन्। मैथिली विधि अनुरुप नै सोमबार राति विवाह उत्सव सम्पन्न भएपछि मंगलबार रामकलेवा गरी रामजानकी विवाह महोत्सव औपचारिक रुपमा समापन हुने जानकी मन्दिर महन्थका उत्तराधिकारी रामरोशन दासले जानकारी दिए। महोत्सवमा देशविदेशबाट आउने पाहुनाहरुलाई लुगाकपडा, मिठाइ र फलफुल लगायत कोसेली दिएर विदाइ गर्ने चलन रहेको दासले बताए।
सोमबार हुने विवाह उत्सवमा दुई लाख भन्दा बढी श्रद्धालुको सहभागीता रहने जानकी मन्दिर स्रोतको दावी छ। सोमबार दिउँसो जानकी मन्दिरबाट निस्कने जानकीको डोली र राम मन्दिरबाट निस्किने रामको डोलामा दुवै मन्दिरका हन्थ तथा पूजारी लगायत हजारौंको सहभागीता हुन्छ। नगर परिक्रमा गरी दुवै डोला दिउँसो दुई बजे रंगभूमि मैदानमा पुगेर मालाफेर गरी पुनः आ–आफ्नो स्थानमा फर्किने र त्यसपछि राति आठ बजे राम मन्दिरबाट जनती सहितको डोला जानकी मन्दिर पुगेर वैवाहिक कार्यक्रम सुरु हुने जनाइएको छ।

तस्बिर : सुरेश यादव

रामजानकी विवाह महोत्सवलाई व्यवस्थित र सुरक्षित बनाउन धनुषाको ग्रामिण क्षेत्रमा रहेको इन्स्पेक्टर नेतृत्वका टोलीहरुसँगै महोत्तरी, सर्लाही, विरगंज र हेटौडाबाट गरी थप एक हजार तीन सय प्रहरी परिचालन गर्न लागिएको जिल्ला प्रहरी प्रमुख एसपी वसन्त पन्तले जानकारी दिए। भिडको मौकामा सीमापारीबाट आउने पाकेटमार तथा लागुऔषध कारोवारीलाई नियन्त्रण गर्न सुरक्षामा खटेका प्रहरीलाई निर्देशन दिइएको पन्तले बताए। सुरक्षाको दृष्टिकोणले जनकपुरको रामानन्द चोक, जिरोमाइल, क्याम्पस चोक, कदम चोक, पिराडी चोक, मिल्स एरिया र भ्रमरपुरा चोकबाट नगर भित्र साइकल, मोटरसाइकल तथा रिक्सा समेत प्रवेशमा निषेध गरिएको छ।

नागरिक पूर्वेली साभार

Leave a Reply

Your email address will not be published.