यी ८ माग लिएर आन्दोलनमा उत्रिदैछन् लक्ष्मण थारु

थरुहट थारुवान राष्ट्रिय सम्मेलन तयारी समितिले आफ्ना सात बुँदे माग राखी पत्रकार सम्मेलनको आयोजना गरेको छ। समितिले थरुहट आन्दोलनका क्रममा झुटा मुद्दा लगाई फसाइएकाहरुलाई तुरुन्त रिहाई गर्नुपर्ने, गिरिशचन्द्र लाल आयोगको प्रतिवेदन सार्वजनिक हुनुपर्ने, कर्फ्युका बीच थारुहरुलाई घर जलाउने, लुट्नेहरुलाई कानुनी कारबाही गर्नुपर्ने, थरुहट आन्दोलनकारीसँग सम्झौता गरिएको ६ बुँदे सहमति कार्यन्वयन गर्नुपर्ने, संविधानको अन्तरबस्तुमा पहिचान सहितको नामांकन, सीमांकन एवं अधिकारका लागि संघर्ष समितिको १३ बुँदे माग मुद्दा पुरा गर्नुपर्नेलगायत माग गरिएको छ।

उक्त माग पूरा नभए विभिन्न संघर्षका कार्यक्रमसमेत सार्वजनिक गरिएको छ। जसमा भदौ ७ गते टीकापुरमा थारुहरुको बृहत भेला आयोजना गर्ने, असोज ३ गते थारुहरुको युवा दस्ता सार्वजनिक गर्नुपर्ने लगायत छन्।

काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा थरुहट नेता लक्ष्मण थारुले अधिकारका निम्ति थारुहरु एक कदम पनि पछाडि हट्न नहुने बताए। उनले भदौ ७ गते लाखौ थारुहरुलाई टीकापुरमा भेला गरेर यो सरकारलाई थारुहरुको तागत देखाइदिने बताए।

काठमाडौंमा आयोजित छलफलको कार्यक्रमको भिडियो हेर्नुस्

प्रेस विज्ञप्तिको पूर्ण पाठ

आदरणीय पत्रकार बन्धुहरु
सदियौं वर्षदेखिको शोषण दमन र उत्पीडनको पीडाबाट आजित भइ आत्मसम्मान, पहिचान, न्याय र अधिकारको लागि उठेको थरुहट आन्दोलनको यात्रा १२ वर्ष पुरा गरिसकेको छ । विशुद्ध संविधानको अन्तरबस्तुमा पहिचान सहितको नामाड्ढन, सीमाड्ढन एवं अधिकारका लागि संविधान संशोधन सहित थरुहट आन्दोलकर्मी र नेपाल सरकार बीच भएको २०६५ चैत्र १ गते र २०६९ जेठ १० गते १० बुँदे सहमती सम्झौतालाई हालसम्म पनि कार्यान्वयन हुन सकेको छैन । सामान्य क्षतिपूर्ति, थारु आयोग आदि आशिंक माग सम्बोधन भए पनि संविधानको अन्तरबस्तु संग रहेका अधिकारका १३ बुँदे मुख्य राजनीतिक मागहरु अहिलेसम्म सम्बोधन भएका छैनन् ।

अधिकारका लागि शान्तिपूर्ण संघर्षमा होमिएका निहत्था थरुहट आन्दोलनकर्मी नेता, अभियन्ता, अगुवा, जनप्रतिनिधि, कार्यकर्ताहरुलाई टीकापुर राजनीतिक घटना पश्चात सुनियोजितरुपमा झुठा मुद्दा लगाइ फँसाउने कार्य गरिएको छ । जनताका जनप्रतिनिधि रेशमलाल चौधरीलाई सांसदको शपथ ग्रहण गराई सुनियोजित रुपमा आजिवन काराबास हुन्छ तर देश विखण्डनको माग उठाउने संग सरकारले राजनीतिक सहमति गरी रिहा गर्छ । कर्यू निषेधाज्ञा लागेकै बेला टीकापुरमा रहेका थारुहरुका घर पसल, व्यवसायीक केन्द्र, मिडिया हाउसमा पहिचान एवं थरुहट विरोधीहरुले छानी छानी आगजनी एवं लुटपात गर्ने थारु महिलाहरु उपर दुव्र्यहवार गर्नेहरु उपर सरकारले कारबाही गर्दैन ।

तात्कालिन नेपाली काँग्रेस सरकारको पालामा आवश्यक गृहकार्य र राजनीतिक सहमति नै नगरी संविधान संशोधनको प्रस्ताव लगि असफल बनाउने नौटंकी गरियो । बहुमतको सरकार भए पनि जनअपेक्षा अनुसार ठोस कार्य गर्न सकिरहेको छैन । बलात्कार, मंहगी, भ्रष्ट्राचार, बेतिथि, यातायात सिन्डिकेट, न्यायालयमा प्रभाव, सुनकाण्ड, वाइडबडी, सिएमसी, गेजुवा, ललिताकाण्ड आदि काण्डै काण्डमा सरकारको असली चरित्र उदाङ्गो भैसकेको छ । नयाँ संविधान जारी पश्चात निर्वाचित दुईतिहाइ बहुमतको नेकपाको सरकार संविधान कार्यान्वयनको दिशामा विभिन्न ऐन कानुन बनाएर लागि परेको छ । जारी गरिएको अधुरो अपुरो संविधानको अन्तबस्तुमा आदिवासी थारु, जनजाति, दलित, मधेसी, मुस्लिम, महिला, अलपसंख्यक, पिछडावर्गका थुप्रै असहमती र असन्तुष्टीहरु रहेका छन् । संविधान संशोधनको माग चौतर्फी रुपमा सशक्त उठीरहेको छ तर सरकार, सत्तापक्ष, प्रतिपक्ष यसप्रति रक्तिभर पनि संवेदनशिल छैनन् । यिनीहरुको माग मुद्धा सम्बोधन नगरी लोकतान्त्रिक गणतन्त्रात्मक हाम्रो मुलकमा “सुखी नेपाली र समृद्ध नेपालको” सपना सार्थक हुन सक्दैन । यसबाट झन मुलुक जटिल परिस्थितिमा फस्दै जाने निश्चिन्त छ ।

यस अवस्थालाई दृष्टिगत गर्दै सम्रग आन्दोलनको समिक्षा एवं विश्लेषण गरी आगामी संघर्षको बाटो तय गर्नका लागि देशै भरीका थरुहट नेता, अभियन्ता, पत्रकार, पेशाकर्मी, महिला, यूवा, विद्यार्थी, संघ संस्थाका प्रतिनिधिहरुको सक्रिय सहभागितामा २०७६ जेठ १८ गते काठमाण्डौमा “थरुहट थारुवान राष्ट्रिय सम्मेलन तयारी समितिको” भेला भव्य एवं सार्थक रुपमा सम्पन्न गरेका छौं । सरकारले हाम्रो माग मुद्दाहरु हालसम्म पनि सम्बोधन नगरेको हुनाले थरुहट आन्दोलनलाई हामीले निरन्तरता दिदै भावी संघर्षका कार्यक्रमहरु तय गर्नका लागि कैलालीको टिकापुरमा थरुहट थारुवान राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेका छौं । भेलाबाट मिनराज चौधरीको संयोजकत्वमा १०१ सदस्यीय “थरुहट थारुवान राष्ट्रिय सम्मेलन तयारी समिति गठन गरी विभिन्न संघर्षका कार्यक्रमहरु घोषणा गरेका छौं । हाम्रा माग मुद्दाहरुलाई सरकार, सत्तापक्ष र विपक्षले सकारात्मकरुपले लिदै राजनीतिक संवाद, छलफल, सहमती एवं वार्तामा आधारमा सम्बोधन गर्न सरकार, सत्तापक्ष एवं विपक्ष दललाई हार्दिक अनुरोध गर्दछौं ।

हाम्रो संघर्षलाई सफल, सार्थक एवं सशक्त बनाउन नेता, अभियन्ता, शिक्षक, वकिल, कर्मचारी, पेशाकर्मी, पत्रकार, बरघर, किसान, मजदुर, महिला, युवा विद्यार्थी आदि लगायत आम नेपाली जनसमुदायमा हार्दिक अपिल गर्दछौं ।

क) माग तथा मुद्दाहरु
१) शान्तिपूर्ण थरुहट आन्दोलनका क्रममा टीकापुर घटना पश्चात षड्यन्त्रपूर्वक विभिन्न अभियोगमा झुठा मुद्दा लगाइ फसाँइएका थरुहट राजबन्दीहरुलाई सरकारले राजनीतिक घटनाकोरुपमा लिदै राजनीतिक संवाद, सहमती र निर्णयको आधारमा मुद्दा फिर्ता, खारेजी तथा आममाफी गरी बन्दीहरुलाई निःसर्त रिहाइ गरियोस् ।

२) टीकापुर घटना बारे सत्य तथ्य छानबिन गर्नका लागि तात्कालिन नेपाल सरकारले पूर्व न्यायाधीश गिरिश चन्द्र लाल दास नेतृत्वको न्यायीक समिति, सर्वदलिय संसदीय समिति र राष्ट्रिय मानवअधिकार आायोगको प्रतिवेदनहरु तुरुन्त सार्वजनिक गरियोस् ।

३) थरुहट आन्दोलनको क्रममा दुःखद टिकापुुर घटना पश्चात २०७२ भदौ ८ गते निशेधाज्ञा कर्फ्यु लागेकै समय थारुहरुको घर पसल तथा व्यवसायीक केन्द्रहरुमा गरिएको आगजनी, लुटपात, डाँकाचोरी गर्ने तथा संलग्न अपराधीहरुलाई तुरुन्त पक्राउ गरी कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरियोस् ।

४) थरुहट संयुक्त संघर्ष समिति र नेपाल सरकार बिच मिति २०६५ चैत्र १ गते भएको ६ बुँदे सम्झौता र थारु संयुक्त संघर्ष समिति बिच मिति २०६९ जेठ १० गते गरिएको १० बुँदे सम्झौताको अक्षरसः अविलम्ब कार्यान्वयन गरियोस् ।

५) विशुद्ध संविधानको अन्तरबस्तुमा पहिचान सहितको नामाङ्कन, सीमाङ्कन एवं अधिकारका लागि संघर्ष समितिको १३ बुँदे माग मुद्दाहरु अविलम्ब पुरा गरियोस ।

६) संघीय निजामति कर्मचारी विधेयक संशोधन गरी तथा लोकसेवा आयोगले भर्खरै प्रकाशन गरेको विज्ञापन संविधानको मूल मर्म भावना विपरित भएको हुनाले क्लस्टर अनुसार जातिय जनसंख्याको आधारमा अनुपात मिलाई समावेशी आरक्षणको कोटा सुनिश्चित्ता गरियोस् ।

७) आदिवासी थारु समुदायको राष्ट्रिय पर्व “माघ” (माधे संक्रान्ती) लगायत आदिवासी जनजातिका ल्होसार, उभौली, उधौली आदि लगायत राष्ट्रिय सांस्कृतिक पर्वहरुमा राष्ट्रिय रुपमा सार्वजनिक विदा गरियोस ।

८) राना थारुहरुको छुट्टै भेष भूषा, संस्कार, संस्कृति एवं पहिचान रहेको हुनाले आदिवासीको रुपमा छुट्टै सूचिकृत गरियोस् ।

ख) संघर्षका कार्यक्रमहरु
१) साउन २० गतेसम्म केन्द्र, प्रदेश, जिल्ला, क्षेत्र, नगर, गाउँ वडासम्म तयारी समिति तथा आन्दोलनका लागि विभिन्न उपसमितिहरु गठन तथा पुनःगठन गरी सोको बिस्तृत विवरण केन्द्रीय तयारी समितिमा पठाइ सक्नुपर्ने ।

२) प्रचारात्मक अभियान (पत्रकार सम्मेलन, अपिल, पोष्टर, पर्चा, भित्तेलेखन, माइकिङ, तुल ब्यानर, साइनबोर्ड झुण्ड्याउने÷राख्ने, विभिन्न मिडियाहरुमा लेख रचना, अन्तरर्वाता) निरन्तर गर्ने ।

३) प्रतिनिधि तथा प्रदेश सभामा थारु सांसदहरुबाट माग मुद्धा सम्बोधनका लागि सरकारको ध्यानाकर्ष गराउदै संसदमा बोल्न दबाब सृजना गर्ने ।

४) २०७६ भदौ ७ गते बृहत राष्ट्रिय भेला टिकापुर कैलालीमा थरुहट थारुवान राष्ट्रिय सम्मेलन भव्यरुपमा गर्ने ।

५) २०७६ असोज ३ गते थारु, थरुहट, आदिवासी जनजाति, मधेसी, मुस्लिम विरोधी संविधानमा रहेका व्यवस्थाका धाराहरु जलाउने एवं कालो दिनको रुपमा विरोध गर्दै देशै व्यापी सशक्त मनाउने ।

६) २०७६ असोज ३ गते थरुहट यूथ फोर्सको राष्ट्रिय सम्मेलन गर्ने ।

मिनराज चौधरी
संयोजक
थरुहट थारुवान राष्ट्रिय सम्मेलन तयारी समिति

Leave a Reply

Your email address will not be published.