कैलालीको ११ प्रमुखमा १९ भन्दा बढी थारु उम्मेदवार, थारु-थारुबीच प्रतिस्पर्धा

लखन चौधरी/धनगढी।
दोस्रो चरणको स्थानीय तह निर्वाचनमा कैलालको ११ स्थानीय तहको प्रमुख पदमा १९ भन्दा बढी थारु उम्मेदवारले प्रतिस्पर्धा गर्ने भएका छन्। जिल्लाको १३ स्थानीय तहमध्ये ११ वटा स्थानीय तहको प्रमुखमा विभिन्न राजनीतिक दलबाट उम्मेदवारी पाएका थारुहरुले प्रतिस्पर्धा गर्ने भएका हुन्। कतिपय तहमा थारु उम्मेदवारबीच पनि प्रतिस्पर्धा हुने देखिएको छ।
जिल्लामा क्रियाशिल नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, संघीय समाजवादी फोरम-नयाँ शक्ति गठबन्धन, राप्रपालगायत दलबाट नगरपालिकाको मेयर तथा गाउँपालिकाको अध्यक्षमा थारु उम्मेदवार चयन भएका छन्।
प्रमुख राजनीतिक दलमध्ये नेकपा माओवादी केन्द्रले गाउँपालिका तथा नगरपालिकाको प्रमुख पदमा सबैभन्दा वढी थारु उम्मेदवारलाई चयन गरेको छ।
नेपाली कांग्रेस कैलालीले घोडाघोडी नगरपालिकाको मेयरको लागि रीता चौधरीलाई चयन गरेको छ। जानकी गाउँपालिकाको अध्यक्षमा गंगा चौधरी र बर्दगोरिया गाउँपालिकाको अध्यक्षमा बलिराम चौधरीको नाम टुंगो लगाएको नेपाली कांग्रेस क्रियाशिल सदस्य तथा थारु अगुवा प्रभातकुमार चौधरीले जानकारी दिए।
कैलारी गाउँपालिका अध्यक्षका दुई आकांक्षी उम्मेदवारहरु थारु नै रहेकाले उक्त गाउँपालिकामा थारु उम्मेदवार नै चयन हुने निश्चित छ। कैलारी गापामा रामचरण चौधरी र राजसमझ चौधरी कांग्रेसका आकांक्षी उम्मेदवार हुन्।
नेकपा माओवादी केन्द्र कैलालीले जिल्लाको १३ स्थानीय तहमध्ये ६ तहको प्रमुखमा थारु उम्मेदवार बनाएको छ। पार्टीका केन्द्रीय सदस्य तथा कैलाली इन्चार्ज हरि चौधरी उत्सवका अनुसार धनगढी उपमहानगरपालिकाको मेयर पदमा रामसमझ राना, कैलारी गाउँपालिकाको अध्यक्षमा लाजुराम चौधरी, भजनी नगरपालिकाको मेयरमा शेरबहादुर थारु, घोडाघोडी नगरपालिकाको मेयरमा लक्ष्मण चौधरी, जोशीपुर गाउँपालिकाको अध्यक्षमा भक्त थारु र जानकी गाउँपालिकाको अध्यक्षमा फूलराम थारुलाई उम्मेदवार बनाएको छ।
नेकपा एमाले कैलाली पनि थारु उम्मेदवारलाई प्राथमिकता दिएको छ। नेकपा एमाले कैलाली अध्यक्ष दिर्घ सोडारीले घोडाघोडी नगरपालिकाको मेयरमा ममता प्रसाद चौधरी, कैलारी गाउँपालिका अध्यक्षमा रामप्रसाद चौधरी, उपाध्यक्षमा झुमा देवी चौधरीलाई चयन गरेको बताए।
त्यस्तै जानकी गाउँपालिका अध्यक्षमा जगत बहादुर चौधरी, जोशीपुर गाउँपालिकाको अध्यक्षा प्रेमलाल चौधरीलाई उम्मेदवार बनाएको अध्यक्ष सोडारीले जानकारी दिए। गौरीगंगा नगरपालिकाको उपमेयरमा अञ्चला चौधरी र भजनी नगरपालिकाको उपमेयरमा मधुमति चौधरीलाई उम्मेदवार बनाइएको छ।
त्यस्तै, संघीय समाजवादी फोरम र नयाँ शक्ति नेपाल संयुक्त गठबन्धनले पनि जिल्लाको अधिकांश तहको प्रमुखमा थारुलाई नै उम्मेदवार बनाएको छ। संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य होरीलाल चौधरीका अनुसार कैलारी गाउँपालिका अध्यक्षमा गंगादेवी चौधरी, उपध्यक्षमा अनिल चौधरी, गौरीगंगा नगरपालिकाको उपमेयरमा कौशिला चौधरी, घोडाघोडी नगरपालिकाको उपमेयरमा सुशिला चौधरी, भजनी नगरपालिकाको उपमेयरमा सीता बाँटर, जोशीपुर गाउँपालिका अध्यक्षमा चन्द्रप्रकाश चौधरी, उपाध्यक्षमा उषा कठरिया, जानकी गाउँपालिका अध्यक्षमा जनककुमार चौधरीलाई उम्मेदवारमा छनौट गरेको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी कैलालीले तीन वटा स्थानीय तहको प्रमुखमा थारु उम्मेदवार बनाएको छ। भने एक जनाको टुंगो लाग्न बाँकी रहेको जनाइएको छ। उक्त पार्टीको जिल्ला प्रवक्ता छत्र शाहीले घोडाघोडी नगरपालिकाको मेयरमा छोटेलाल चौधरी र टीकापुर नगरपालिकाको मेयरमा रामकृष्ण चौधरीलाई चयन गरेको छ। भने जानकी गाउँपालिका अध्यक्षमा मानबहादुर चौधरीलाई छनौट गरेको छ। भजनी नगरपालिकामा भने टुंगो लाग्न बाँकी रहेको बताउँदै उनले आकांक्षी मेयर पदका उम्मेदवार राजकुमार चौधरी र इन्द्रकुमार मल्ल मध्ये राजकुमार चौधरीको सम्भावना वढी रहेको उल्लेख गरे।
बिजयकुमार गच्छदार र भानुराम थारु नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमले भने अझै उम्मेदवारको टुंगो लगाउन सकेको छैन। उक्त पार्टीका केन्द्रीय सदस्य माधव थारुले केही दिनभित्र उम्मेदवारको टुंगो लाग्ने बताए।
कैलालीमा धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका, गौरीगंगा नगरपालिका, घोडाघोडी नगरपालिका, लम्की चुहा नगरपालिका, भजनी नगरपालिका र टीकापुर नगरपालिका रहेको छ। कैलारी गाउँपालिका, जोशीपुर गाउँपालिका, मोहन्याल गाउँपालिका, वर्दगोरिया गाउँपालिका, चुरे गाउँपालिका र जानकी गाउँपालिका गरी १३ वटा स्थानीय तह रहेको छ। जसमध्ये चुरे र मोहन्याल गाउँपालिकामा थारु उम्मेदवारको उम्मेदवारी आउने सम्भावना न्यून देखिएको छ। उक्त दुई गाउँपालिकामा थारु समुदायको बसोबास न्यून रहेकोले पनि सम्भावना कम देखिएको बताइएको छ।

Leave a Reply

Your email address will not be published.