नयाँ रूपमा फेसबुक

facebookट्याब्लेट वा मोबाइलमा एप्स प्रयोग गरी फेसबुक चलाउनुभएको छ भने डेस्कटप वा ल्यापटपमा चलाउँदाभन्दा फरक खालको अनुभूति गर्नुभएको होला। सफा लेआउट, ठूल्ठूला तस्बिर र रुचिकर न्युजफिड! धन्दा मान्नुपर्दैन, मोबाइलबाटै प्रभावित भई फेसबुकले नयाँ लेआउट बनाइसकेको छ र केही दिनमा नै तपाईंहरू सबैले नयाँ लेआउट हेर्न पाउनुहुनेछ। गएको साता नै फेसबुकले यो नयाँ लेआउट सार्वजनिक गरिसकेको हो। तर, सबैले यो हेर्न सकिने बनाउन भने अलि समय लाग्नेछ।
के–के फरक हुनेछन्?
खासमा न्युजफिडमा नयाँपन देखिने हो। फेसबुकको न्युजफिडमा अहिले तपाईं तपाईंका साथीहरू वा तपाईंले लाइक गर्नुभएका फेसबुक पेजका स्ट्याटस, फोटो वा भिडियोहरू हेर्न पाइरहनुभएको छ। अहिलेको नयाँ न्युजफिडमा भने तपाईं किसिम छान्न सक्नुहुनेछ। मानौँ, तपाईंलाई फोटोहरूमात्रै हेर्न मन लाग्यो, फोटो छान्नुस्। अब तपाईंको न्युजफिडमा फोटाहरूमात्र देख्न पाइनेछ। कुनै लाइक गरेको पेजको मात्रै अपडेट चाहनुहुन्छ भने त्यो पनि पाइने भयो, फलोइङमा क्लिक गरेर। कसैले म्युजिक सेयर गरेको मात्रै हेर्न चाहनुहुन्छ भने म्युजिकमा क्लिक गरे भयो।
आफ्ना निकट साथीहरूलाई एउटा लिस्टमा राखी उनीहरूको मात्र स्ट्याटस अपडेट वा उनीहरूले मात्र सेयर गरेका फोटो वा भिडियोमात्र हेर्न पनि अब यसमा सजिलो हुनेछ।
फेसबुकका अनुसार औसत एक प्रयोगकर्ताले प्रतिदिन २२ मिनेट फेसबुकमा बिताउँछ। यो नयाँ डिजाइन ल्याउनुको उद्देश्य चाहिँ त्योभन्दा बढी समय बिताओस् भन्नु हो। मोबाइल र ट्याब्लेटमा जस्ता ठूल्ठूला फोटोहरूको प्रयोगले प्रयोगकर्ताहरूलाई भुलाउने निश्चित छ। फेसबुकका न्युजफिडमा ५० प्रतिशत फोटो र भिडियो नै हुने र फेसबुक प्रयोकर्ताहरू पनि फोटो र भिडियो सेयर गर्न वा हेर्न नै रुचाउने भएकाले राम्रा खालका फोटो र भिडियो प्रयोग गरे फेसबुकमा बढी लोकप्रिय हुनसक्ने देखिएको छ।
न्युजफिडमा पनि फोटोलाई धेरै महत्व दिइएको छ। फोटोहरूमात्र होइन, फोटो एल्बमहरू पनि ठूला र आकर्षक देखिनेछन्।
कसैले कुनै न्युज वा आर्टिकल सेयर गरेभने त्यसमा रहेका फोटोहरू पनि ठूला देखिनेछन्। त्यतिमात्र होइन, त्यो आर्टिकलका मुख्य कुरा, लेखक र छापिएको संस्थाको जानकारी पनि लिंकमा देखिनेछ।
धेरैले सेयर गरेको लिंक भए सेयर गर्नेहरूको फोटो पनि बायाँ छेउमा देखिने नयाँ व्यवस्था फेसबुकले गरेको छ।
नयाँ लेआउटको फेसबुक छिट्टै पाउन इच्छुक भए तलको ठेगानामा गई प्रतीक्षा सूचीमा क्लिक गर्नुहोस्:
http://www.facebook.com/about/newsfeed

Leave a Reply

Your email address will not be published.