नश्लवादी मिडियाहरुले रमदैया, पार्वतीहरुको आँशु किन देख्दैनन्? [विचार]

इन्द्रेणी थारु
टिकापुर घटना आफैँमा दुःखद घटना हो, अत्यन्त दुःखद घटना। टिकापुर घटनालाई केवल घटनाको रुपमा मात्रै लिइनु हुँदैन, दुर्घटना मान्नुपर्ने हुन्छ जबसम्म नेपालको सम्माननीय अदालतले टिकापुर घटना सुनियोजित रुपमा घटाइएको हो भनि पुष्टि गर्दैन वा फैसला गर्दैन। २०७२ भदौ ७ गते घटेको टिकापुर घटना झण्डै २ वर्ष पुग्न लागिसक्यो, आजसम्म अदालतले कसैलाई दोषी भनि फैसला गर्न सकेको छैन। तर आफ्नो काम कर्तव्य बिर्सिएर मनगढन्ते रुपमा केही एकपक्षीय मिडियाहरुले थुनामा बन्दी जीवन बिताइरहेकाहरुलाई दोषी भनि हल्ला पिटिरहेका छन्। अदालतले नगरेको फैसला आफैँले गर्दैछन्। केही यस्ता मिडियाहरुको चर्तिकला देखेर थोरै हाँसोसहित कम्ती रिस उठ्दैन धेरैलाई।

टिकापुर घटना भैरहँदा लक्ष्मण थारु टिकापुरमा थिएनन्। टिकापुरको आन्दोलनमा न उनी प्रत्यक्ष सहभागी थिए, न कुनै फोन कल, मेसेज वा इमेलबाट टिकापुर घटना घटाउन उनको कुनै सहभागिता पाइएको छ। आन्दोलनको अगुवाई गरेको थरुहट/थारुवान संयुक्त संघर्ष समितिको पनि कुनै जिम्मेवारीमा पनि उनी थिएनन्। अनि कुन आधारमा उनलाई दोषी भनियो? के उनले आफ्नो नामको पछाडि थारु जोडेका कारण मात्रै उनलाई जेलमा कोचिएको हो? थारु कल्याणकारिणी सभा कैलालीका अध्यक्षका नाताले संघर्ष समितिको नेतृत्व पनि लाहुराम चौधरीले गरेका थिए। टिकापुर घटना भैरहँदा उनी तत्कालीन कैलाली प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठसँग वार्तालाप गरिरहेका थिए। कुन बेला उनी टिकापुरमा नेपाल प्रहरीहरुका हत्या गर्न पुगे? सिडिओसँग छलफल गरिरहेका लाहुरामलाई हत्याको आरोपमा जेल कोचिएको छ केवल आन्दोलनको नेतृत्व गरेका कारण? नेपालमा हुने गरेका आन्दोलनको नेतृत्व तथाकथित उच्च जातिका मान्छेले गरे र चाहे तिनले हजारौँ नेपालीको वीभत्स हत्या गरुन्, त्योचाहिँ ठिक अनि अधिकार प्राप्तीका लागि थारु, मधेसी, आदिबासी जनजातिले आन्दोलन गरे जेलमा कोचिनपर्ने? त्यो पनि बिना कुनै सबुत प्रमाण नै।

गिरफ्तारीपछि पनि सबैभन्दा धेरै शारीरिक यातना पाएका रामप्रसाद चौधरी सधैँ आन्दोलनमा सहभागी हुने गरेका थिए तर टिकापुर घटना हुने दिनमा भने गर्मीले टाउको दुखेका कारण घरमै सुतेका थिए। घरमा सुतिरहेको मान्छेले टिकापुरमा कसरी मान्छे मार्यो होला। केवल आन्दोलनमा सहभागी भएकै कारण थारुहरुलाई गिरफ्तार गर्ने हो भने, आन्दोलनमा हजारौं लाखौ थारुहरुको सहभागिता थियो। आफ्ना सबालहरु नेपालको संविधानमा समेटिनुपर्छ भनिरहँदा थारुहरुलाई जेल कोच्ने हो भने पहिचान प्रेमी, अधिकार प्रेमी सम्पूर्ण थारुहरुलाई जेल कोचियोस्। थारुहरुका निम्ति नेपालमा कति ठूलो जेल बनाइएको छ, हेर्नलाई लालायित छन् थारुहरु।

सांसद सञ्जय गौतमको नेतृतवमा बनेको संसदीय अनुगमन टोलीले टिकापुर घटनामा नेताहरुको अभिव्यक्ति र उक्साहट बढी जिम्मेवार भएको रिपोर्ट निकाल्यो। अभिव्यक्ति दिनेहरुमा नेताहरु अमरेश कुमार सिंह, राजेन्द्र महतो, उपेन्द्र यादवहरु रहेको रिपोर्टमा उल्लेख छ। संसदीय टोलीले पनि कहीँ कतै लक्ष्मण थारु, लाहुराम, रामप्रसाद, रेशम थारु वा बन्दी बनाइएका अन्य थारुहरुको नाम उल्लेख गरेको छैन। दिनभर मजदुरी गरेर साँझ बिहानको छाक टार्ने वीरबहादुर, किसुनलाल, विश्राम थारुहरु आन्दोलनमा गएको र मान्छे मारेको कहीँ कतै उल्लेख गरिएको छैन। संसदीय टोलीले समेत दोषी बताएको नेतारुहलाई खोइ गिरफ्तार गर्न सकेको सरकारले कि मजदुरी गरेर छाक टार्ने तिनै निर्दोष वीर बहादुरहरुलाई जेल कोच्ने सम्मको मात्रै पावर छ।

टिकापुर घटनापश्चात भदौ ८ गते थारुहरुका पसल र घरहरुमा छानी छानी आगो लगाइयो र लुटियो पनि। रेशम थारुको रिसोर्टको सम्पति लुटिने क्रम अझै पनि जारी छ। सामान्य अवस्थामा त्यसो गरिएको होइन, सरकारले कर्फ्यु लगाएका बेला आगो लगाइयो। सेना परिचानलन गरिएका बेला थारुहरुलाई लुटियो। के थारुका निम्ति मात्रै कर्फ्यु लगाइएको थियो? खोइ चुँसम्म पनि बोल्न सकेको मिडियाले? टिकापुर घटनापश्चात टिकापुरका थारुहरुको चरमरुपमा मानवअधिकार हनन् भयो, मुखमा बुजो लगाएर किन बसेको मानवअधिकार आयोग? थारुहरुको मानव अधिकार हनन् कति मात्रामा र कसरी भयो, एमनेष्टी इन्टरनेशनलको रिपोर्ट आयो। तर गिरफ्तार गरिएका बन्दीका मुखमा पुकार खाएर पुलिसले थुक्दा देखेर पनि नदेखेझैँ गर्यो मानवअधिकार आयोगले।

पूर्वी तराई मधेसमा घरमै रहेका महोत्तरीका ४ वर्षे बालक रोहन चौधरी, अर्का बालक चन्दन पटेलको हत्या नेपाल प्रहरीले गरिरहँदा मानव अधिकार आयोग कहाँ थियो? सप्तरीका दिलिप शाह, पसल हिँडेका सप्तरी मलेठका सञ्जन मेहता, मजदुरी गरी फर्किरहेका मलेठकै पिताम्बर मण्डल, पोलियो खोप पुर्याएर आउँदै गरेका सिनियर अहेब आनन्द शाहलगायत कैयौं सर्वसाधारण निहत्थाहरुलाई प्रहरीले टाउको र छातीमा ताकेरै गोली चलाउँदा के आयोग हेरेर मजा लुटिरहेको थियो? मानव अधिकार आयोगले सम्पूर्ण नेपालीहरुको अधिकारको ठेक्का लिएको छैन, तथाकथितहरुको पेवा हो भनि व्यवहारमा देखाइसक्यो, अब घेाषणा पनि गरे अनौठो केही हुने छैन।

टिकापुरका थारुहरु घरेलु हतियारसहित आनदोलनमा सहभागी भएको भनि समाचारमा त्यसताका खुब पढ्न र सुन्न पाइयो। टिकापुर घटनाका क्रममा २ वर्षे बालकको दुःखद निधन पनि भयो। ती २ वर्षे बच्चाको गोली लागि मृत्यु भएको पनि सुनियो। हिजो घरेलु हतियारसहित आन्दोलकारीहरु आएको भन्ने मिडियाले नै आन्दोलनकारीहरुले बच्चा मोरेको भनि फैसला गर्दैछ। थारुहरुको घरेलु हतियारअर्न्तगत लठ्ठी, गुलेली भाला बर्छी हसिया हथौडा पर्छन् र ती घरेलु हतियारबाट गोली निस्कदैन भन्नेसम्म पनि हेक्का छैन तथाकथित मिडियालाई, जसले थारुहरुले बालकको हत्या गरेको गलत प्रचार गर्दैछन्। अपराधी उम्कि हुँदैन भन्नका लागि बच्चाको मृत्युपश्चात उक्त बालकको पोष्टमार्टम रिपोर्टका लागि किन बोल्न नसकेको त्यस्ता मिडियाले। तर यदि थारुहरुले बोकेको लठ्ठीबाट बन्दुकको गोली निस्कन्छ भने थारुहरुले गर्व भने गर्नैपर्छ।

आन्दोलन होस् चाहे युद्ध होस् सबैभन्दा धेरै पीडा महिलालेनै सहन पर्ने। प्रहरी मृतकका श्रीमतीहरुका आँशु र जेल जीवन बिताइरहेकाहरुका श्रीमतीहरुका आँशुमा कुनै अन्तर छैन। यी दुवै पक्षका श्रीमतीहरुका आँशुहरुसँग फरक फरक तरिकाले यहाँका मिडिया, राजनीतिक दल र मानवअधिकार आयोग खेल्दैछन्। थोरै पनि मानवता बाँकी छ भने एउटा पक्षको आँशु नेपाली मिडियामा बिक्ने र अर्को पक्षको आँशु नबिक्ने हुँदैन थियो।

वीर बहादुरको गिरफ्तारी पछि उनकी बिरामी श्रीमती रमदैया मजदुरी गरी जेनतेन ३ छोराछोरीको छाक टार्छिन्। त्यस्तै विश्रामकी श्रीमती पार्वती मजदुरी गर्न बाध्य छिन्। व्यवसाय गर्नका लागि लाहुरामले बैंकबाट ऋण निकालेका थिए, उनको गिरफ्तारी पछि उनको व्यवसाय चौपट भयो। अहिले बैंकले उनको घरजग्गा लिलाम गर्दैछ। लक्ष्मण थारुले काठमाडौंमा थारु भिलेज नामक होटल सञ्चालन गरेका थिए। गिरफ्तारी पछि उनको होटल वयवसाय बन्द अवस्थामा छ। टिकापुर घटनाको झुठा मुद्दा लगाइ बन्दी जीवन बिताइरहेकाहरुको जीवन त कष्टकर छ नै, सँगसँगै उनीहरुका परिवारको पनि उस्तै बिचल्ली छ। केही बन्दीहरुका परिवारको घरमा खानलाई चामलको पनि अभाव रहन्छ, कोही शिक्षा र स्वास्थ्य जस्तो आधारभूत आवश्यकताबाट पनि वञ्चित रहनुपरेको छ। यसरी बिना कुनै प्रमाण बन्दी बनाइएका निर्दोषहरुलाई मात्रै सजाय दिएको छैन सरकारले उनीहरुका पूरा परिवारलाई सजाय दिइरहेको छ। अपराधीहरुको पहिचान गरी निर्दोषहरुलाई छिटो भन्दा छिटो जेल मुक्त गरीयोस् भन्ने चाहना हो। तर हामी सर्वसाधारणका चाहनाको जिरो भ्याल्यु हुन्छ सत्ता र शक्तिसामु।

Leave a Reply

Your email address will not be published.