देउवा सरकारमा सहभागी नहुने राजपाको निर्णय

राष्ट्रिय जनता पार्टी नेपालले अब बन्ने नयाँ सरकारमा सहभागी नहुने स्पष्ट पारेको छ। बिहीबार बसेको पार्टीको अध्यक्ष मण्डलको बैठकले सरकारमा जाने सोच समेत बनाउने परिस्थिति नरहेको निष्कर्ष निकालेको हो। प्रधानमन्त्री दाहालले बुधबार राजीनामा दिइसकेका छन् र अब नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन गर्ने तयारी छ।

राष्ट्रिय जनता पार्टीले मधेसको मागलाई सम्बोधन गर्न आन्दोलनलाई जोड दिएर अघि बढने निर्णयसमेत गरेको छ। दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा भाग लिने वा नलिने भन्ने विषयमा पनि आन्तरिक छलफल भइरहेको नेता अनिल झाले जानकारी दिए।

राजकिशोर यादव लगायतका केही नेताहरुले निर्वाचनमा जाने अवस्था अझै नरहेको दाबी गर्दै आएका छन्। महन्थ ठाकुरलगायतका नेताहरुले भने कतिपय माग सम्बोधन भएकाले निर्वाचनमा जान सकिने धारणा राख्दै आएका छन्। एक-दुई दिन भित्र निर्वाचनमा जाने कि नजाने भन्ने विषयमा ठोस धारणा तय गर्ने राष्ट्रिय जनता पार्टी, नेपालले जनाएको छ।

Leave a Reply

Your email address will not be published.