टीकापुर राजबन्दी परिवारलाई एमालेको हप्की, कांग्रेस-माओवादीको सान्त्वना

लखन चौधरी/धनगढी

टीकापुर राजबन्दी परिवारहरुले कैलालीका राजनीतिक दललाई ज्ञापनपत्र बुझाएका छन्। उनीहरुमाथि लगाइएको झुठ मुद्दा तत्काल खारेज गरी रिहाई गरिनुपर्ने माग राखी राजबन्दी परिवारले बुधबार जिल्लास्थित प्रमुख राजनीतिक दलहरुलाई ज्ञापनपत्र बुझाएका हुन्। टोलीले खासगरी सबभन्दा ठूलो दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई ज्ञापनपत्र बुझायो।

यसैबीच नेकपा एमालेको जिल्ला कार्यालयमा पुगेको टोलीलाई एमाले जिल्ला अध्यक्ष दीर्घ सोडारीले अपशब्द प्रयोग गरी दर्व्यवहार गरेको पीडित परिवारको गुनासो छ। ज्ञापनपत्र बुझाउने क्रममा टोली सदस्यहरुले आफूहरुको मागप्रति राजनीतिक दल संवेदनशिल हुनुपर्ने भनाई राख्ने क्रममा जिल्ला अध्यक्ष सोडारीले ‘हामीलाई राजनीतिक पाठ पढाउने?, केपी शर्मा ओली पढाउने अधिकार तपाईँहरुलाई कसले दियो ?’ भनी हप्काएको एक सहभागीले बताए।

जवाफमा सहभागी टोली सदस्यहरुले आफूहरुको घर टोलमा भोट माग्न जाने जो कोहीलाई टाँरा (लौरौ)ले स्वागत गर्ने चेतावनी दिए।

नेपाली कांग्रेस जिल्ला प्रतिनिधि दिपक जोशीले ज्ञापनपत्र बुझ्दै राजबन्दी परिवारप्रति आफूहरु संवेदनशिल रहेको प्रतिक्रिया दिएको थारु नेतृ इन्दु थारुले जानकारी दिइन्।

त्यस्तै नेकपा माओवादी केन्द्रका धनगढी नगर अध्यक्ष निर्मल शाहले संघीयता आफूहरुले उठाएको मुद्दा रहेको बताउँदै राजबन्दी तथा पहिचान पक्षधरको आन्दोलनबारे पार्टी गम्भिर रहेको बताए। प्राप्त ज्ञापनपत्र जिल्ला कमिटीसँगै केन्द्रमा पनि प्रेषित गर्ने उनले प्रतिवद्धता जाहेर गरे।

टीकापुर राजबन्दी कारागार पीडित परिवार संघका संयोजक धनकुमार चौधरी र सहसंयोजक प्रेमकुमारी चौधरी हस्तक्षरित ज्ञापनपत्रमा ‘विगत २० महिनादेखि हाम्रा श्रीमान, दाजु, भाई, बुबा बनावटी झठा मुद्दामा कैलाली कारागारमा बन्दी बनाई राखिएको छ, यदि बास्तवमै चुनाव गराउने हो भने, तत्काल मुद्दा फिर्ता गर्नुपर्छ, अन्यथा सशक्त आन्दोलनको विकल्प छैन’ उल्लेख छ।

कारागार पीडित परिवार संघकी सहसंयोजक प्रेमकुमारी चौधरी ०७२ भदौ ७ गतेको घटनाप्रति आफूहरु दुःखी रहेको र उक्त घटना निन्दनीय रहेको बताइन्। तर वास्ताविक छानबिन बिना हचुवाको भरमा थारु समुदायलाई अपराधी भन्दै निर्दोष थारुहरुलाई जेलमा कैद गरेको उनको दाबी छ।

आफूहरु चुनावको विरोधी नभए पनि निर्दोषलाई जेलमा हुलेर गर्न खोजिएको चुनावमा सहभागी नहुने जनाएका छन्। टीकापुर घटना घटाएको अभियोगमा २३ जना कैलाली कारागारमा र दुई जना नाबालक सुधार गृहमा छन्।

Leave a Reply

Your email address will not be published.