चैत-वैशाखसम्म नयाँ निर्वाचन हुन्छ : प्रम

काठमाडौं- प्रधानमन्त्री बाबुराम भट्टराईले आगामी चैत-वैशाखसम्म नयाँ निर्वाचन हुने बताएका छन्। रिपोर्टर्स क्लबले दसैं तथा तिहारको अवसरमा आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री डा भट्टराईले चुनावका निम्ति केही समयभित्रै दलहरूबीच सहमति हुने दाबी गरे। उनले भने, ‘राजनीतिमा केही हुँदैन भन्दा पनि प्रक्रिया अगाडि बढिरहेको हुन्छ, अहिले पनि त्यस्तै भइरहेको छ, केही समयभित्रै राष्ट्रिय सहमति कायम हुन्छ।’

सबै दललाई मान्य हुने गरी राष्ट्रिय सहमतिको सरकार गठन गर्ने विषयमा पनि छलफल भइरहेको जानकारी दिँदै प्रधानमन्त्रीले सहमतिबिना राष्ट्रले निकास नपाउने बताए। राष्ट्रिय सहमतिको बाधक आफू नभएको बताउँदै प्रधानमन्त्री भट्टराईले चाँडै राष्ट्रिय सहमति कायम होस् भन्ने आफ्नो चाहना रहेको स्पष्ट पारे।

कार्यक्रममा नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले वर्तमान सरकारकै कारण देश सङ्कटमा फस्दै गएको बताए। सरकार आफूखुसी चलेका कारण समस्या पैदा भएको बताउँदै उनले दसैँपछि आन्दोलनमा जान सरकारले विपक्षी दलहरुलाई बाध्य पारिरहेको उल्लेख गरे।
आन्दोलनको कुनै विकल्प नदेखिएको बताउँदै अध्यक्ष खनालले भने, ‘देशलाई सही राजनीतिक दिशामा लैजान र संविधान निर्माणका लागि पनि आन्दोलनकै जरुरत परेको छ।’

नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले वर्तमान राजनीतिक सङ्कटको निकासका लागि विघटित संविधान सभाको पुनःस्थापना नै उत्तम विकल्प भएको बताए। वरिष्ठ नेता देउवाले भने, ‘संविधान सभाको पुनःस्थापना नै कम जोखिमपूर्ण बाटो हो, विवादित विषयमा सहमति जुटाएर दुईचार दिन मात्रै संविधानसभा पुनःस्थापना गर्न सकिन्छ।’

नेपाली कांग्रेस पनि के गर्ने भन्ने विषयमा अझै प्रष्ट नभएको उनको भनाइ थियो। पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाले दलहरूले नचाहेकै कारण देशले राजनीतिक निकास पाउन नसकेको बताए। सो कार्यक्रममा विभिन्न राजनीतिक दलका नेताहरू, उद्योगी, व्यवसायी, पत्रकार, सरकारका उच्च अधिकृतलगायतको उपस्थिति थियो। रासस

Leave a Reply

Your email address will not be published.