‘थारु समुदायले राज्यसित अधिकार माग्ने क्रममा टीकापुर घटना’

साउनदेखि तराइ–मधेस क्षेत्रमा चर्केको आन्दोलनका घटना छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले मंगलबार टीकापुरको स्थलगत निरीक्षण गरेको छ। आयोग अध्यक्ष गिरिशचन्द्र लाल कर्ण सहितको टोलीले राजनीतिक दल, नागरिक समाजका अगुवा र पीडित पक्ष संग छलफल गरेको हो।

‘टीकापुरमा समुदायबीच एक आपसमा विरोधी भावना नभएको देखियो,’ छलफलपछि उनले भने, ‘थारु समुदायले राज्यसित अधिकार माग्ने क्रममा टीकापुर घटना भएको देखिन्छ।’ फरक फरक मागका कारण घटना भएकाले यहाँका दुई समुदायबीच केही दूरी बढेपनि त्यसको राजनीतिकरुपमै समाधान खोजिनुपर्ने उनको भनाई छ।

आयोग मधेस/थरुहट आन्दोलनकारी र सरकारबीचको सहमतिमा गठन भएकाले समस्या समाधान हुनेमा आफू विश्वस्त रहेको अध्यक्ष कर्णले बताए । घटनाका पीडित र स्थानीयले दोषीलाई कारवाही र निर्दोषलाई अनाहकमा दुख दिन नहुने बताएका थिए।

थारु समुदायका अगुवाहरुले टीकापुर घटनालगत्तै पक्राउ गरेर आफ्ना आफन्तहरुलाई अनाहकमा मुद्दा लगाइएको दाबी गरेका थिए। टोलीले आगजनी पीडितको घर निरीक्षण गरे। अध्यक्ष कर्णले आयोगमा करिब १ हजार १ सय उजुरी परेको जानकारी दिए। ‘ती सबै उजुरी केलाउन हामीलाई दिइएको ६ महिनाको समयले पुग्दैन। सरकारले म्याद थप गर्नुपर्छ,’ उनले भने।

गणेश चौधरी/कान्तिपुर

Leave a Reply

Your email address will not be published.