कर्णाली, बबइ र राप्तीमा पानीको सतह बढ्दो, राजापुरका विभिन्न क्षेत्र डुबानमा

गएरातिदेखि परेको अविरल वर्षाले बर्दियाको बबइ नगरपालिकाको रानीपुरमा १ दर्जन घर डुबानमा परेको छ । तीन घरका परिवारलाई उद्धार गरेर सुरक्षित स्थानमा राखिएको छ। बर्दियामा अहिले पनि भीषण पानी परिहरेको छ। स्थानीय प्रशासन कार्यालय बर्दियाले राजापुरको दौलतपुरमा पनि घरहरु डुबानमा परेको छ । 

प्रमुख जिल्ला अधिकारी विष्णु बहादुर थापाका अनुसार बबइ र कर्णाली नदीमा पानीको बहाव बढेसँग सतह पनि उक्कासिएको छ । थापाका अनुसार मंगलबार बिहान कर्णालीमा पानीको सतह ९.१० मिटर मापन गरिएको छ । कर्णालीमा पानीको तह १० मिटर पुगेपछि खतराको घण्टी बजाइने गरिन्छ ।

यसैगरी बबइमा पनि पानीको सतह ५.७५ मिटर मापन गरिएको छ । बबइमा पानीको तह ६.५० मिटर पुगेपछि  बाढीको चेतावनी दिने गरिन्छ । थापाले पहाडी जिल्ला र बर्दियामा भीषण पानी परिरहेकोले बाढी आउने सम्भावना बढी रहेको बताए ।

उनले बाढीको सम्भावना रहेको भन्दै तटीय क्षत्रेका बासिन्दालाई सुरक्षित स्थानमा बस्न आग्रह गरिएको जानकारी दिए । उनले प्रहरीलाई पनि उद्धारको लागि तयारी अवस्थामा राखिएको जानकारी दिए ।

पानी पर्न नरोकिएपछि तटीय क्षेत्रका बासिन्दा त्रसित छन् । २०७१ साल साउन ३१ गते बबइमा आएको बाढीले ९० हजार मानिस प्रभावित भएका थिए भने ३२ जनाको ज्यान गएको थियो ।

त्यस्तै लगातारको वर्षाले राप्ती नदीमा आएको बाढी खतराभन्दा माथि पुगेपछि सुरक्षा सर्तकताका लागि साइरन बजाइएको छ । कुशुमस्थित बाढी मापन केन्द्रका गेज रिडर भद्रबहादुर थापाका अनुसार राप्ती नदीको बाढी ५ दशम्लब २० सेन्टमिटर पुगिसकेको र बढ्ने क्रम जारी छ ।

बाढी बढ्दै गएपछि राप्ती आसपासका क्षेत्रमा सुरक्षा सर्तकताका लागि साइरन बजाइएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी बखतबहादुर मल्लले बताए ।

कुशुमबाट डुबान क्षेत्रमा बाढी पुग्न ६ घण्टा समय लाग्छ । त्यसैले सर्तकताका लागि साइरन बजाइएको हो । राप्ती नदीका आउने बाढीका कारण आसपासका दर्जन बढी गाउँहरु डुबान, कटान र पटानमा पर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published.