आशाले भनिन्- धेरै पढेपछि ‘मैडम’ बन्छु

नेपालगन्ज- पारिवारिक अवस्था अत्यन्त कमजोर भएकी बाँके जिल्ला कोहलपुर–८ की १६ वर्षे किशोरी आशा चौधरी थारुको प्रवेशिका परीक्षा उत्तीर्ण गरेपछि ‘शिक्षिका’ बन्ने इच्छा छ। अहिले आठ कक्षासम्म अध्ययन गरेकी आशा बाँके युनेस्को क्लबमार्फत स्वीडेन जाने कार्यक्रममा परेपछि सञ्चारकर्मीसँगको भेटमा उनले भनिन, “म धेरै पढेपछि ‘मैडम’ बन्छु।”
शिक्षिकालाई मैडमका रूपमा बुझेकी सरल स्वभावकी आशाको सानो छँदा करिब मर्नै लागेको विद्यालय अध्ययन गर्ने सपना २०६५ सालपछि मात्र पूरा भएको हो। बाँके युनेस्को क्लबले युनिसेफको सहयोगमा सहरी बाल केन्द्रित शिक्षा कार्यक्रम सञ्चालन गरेपछि घरेलु कामदार आशालाई पनि १० महिने अनौपचारिक शिक्षा दिएर कक्षा पाँचमा विद्यालय भर्ना गरिएको थियो।
ती किशोरीको अध्ययनप्रतिको लगनशीलता र परिश्रमबाट प्रभावित भएर क्लबको सिफारिसमा युनिसेफले विश्वभरिका घरेलु बालश्रमिकको सम्मेलनका लागि उनलाई पनि छनोट गरेको हो।

आशा चौधरी। तस्बिर : रासस
आशा चौधरी। तस्बिर : रासस

भोलि बिहीबार काठमाडौँबाट स्वीडेनका लागि उडान भर्ने आशासँगै सप्तरी जिल्ला बदगाँवाकी १७ वर्षीया किशोरी हमिसा खातुन पनि जाँदैछिन। ती दुवै किशोरीले स्वीडेनमा आयोजना हुने आफू सरहका बालबालिका तथा किशोरीसँग अन्तरसम्वाद गर्नुका साथै आफ्नो जीवनका भोगाइका विषयमा औपचारिक सभालाई जानकारी पनि गराउने क्लबका अध्यक्ष परवेजअलि सिद्धिकीले बताउनुभयो।
“म स्वीडेनवाट फर्केपछि झन् मिहेनत गरेर पढछु, अनि सामाजिक सेवामा पनि सक्रिय हुन्छु” –आमा सोहोगी र बुवा लल्लु थारुको मिहेनती छोरी आशाको प्रण छ। बाँके युनेस्को क्लबले यहाँ सञ्चालन गरेको सहरी बाल केन्द्रित शिक्षा कार्यक्रममा १८० जनालाई १० महिनाको अनौपचारिक शिक्षापछि विद्यालय भर्ना गरेकामा आशा त्यसमध्येकी अब्बल छात्रा हुन्।

नेपालगन्ज निवासी बद्रीनारायण थापाको घरमा घरेलु कामदारका रूपमा कार्यरत आशाले आफ्नो अध्ययन पनि सँगै बढाएकी छिन्। “म यहाँ पढ्न बसेको हो, आमाबुबाले घरमा राखेर पढाउँछन् भने मात्र म घर जान्छु, हैन भने प्रवेशिका परीक्षासम्म म त्यो घर छाडदिन”–आशाको सोझो भनाइ छ।
करिब १० दिनको स्वीडेन यात्रामा जाने अवसर प्राप्त गरेकी आशालाई बाँके युनेस्को क्लबले मङ्गलबार साँझ सञ्चारकर्मीको उपस्थितिमा औपचारिक बिदाइ गरेको थियो। रासस

Leave a Reply

Your email address will not be published.