जंग्रार साहित्यिक बखेरीको आयोजनामा साहित्य चिन्तनसहितको कल्वा खवाही सम्पन्न भएको छ। कल्वा खवाही बर्दियाको राजापुर नगरपालिका १०, चख्खापुर गाउँमा सम्पन्न गरिएको हो। थारु समुदायमा धान रोपाई सुरु गर्नुभन्दा अगाडि कल्वा खाने प्रचलन छ।
त्यसो त बिहानको खानालाई कल्वा भन्ने गरिन्छ। तर खेतीपातीको सुरुवातीको रुपमा खेतमा या घर बाहिर खानाखाने प्रचलनलाई कल्वा खाने भनिन्छ। कल्वा खाँदा प्रायः मासु, माछा र सागसहितको खाना खाने गरिन्छ। थारु समुदाय प्रायः खेतीमा निर्भर छ। यसर्थ धानबालीमा किरा नलागुन, ढोंढीको लहराजस्तै धान हर्लक्क बढोस्, उत्पादन राम्रो होस् भन्नका लागि कल्वा खाँदा ढोंढीको साग चढाउने र खाने चलन छ।
सोही संस्कृतिलाई आम सञ्चारमा ल्याउनुका साथै यस प्रचलनबारे जानकार बनाउनका लागि कल्वा खवाहीको नाममा साहित्यिक चिन्तनको कार्यक्रम आयोजना गरिएको बखेरीका अध्यक्ष सोम डेमनडौराले बताए।
सोही अवसरमा उनले थारु भाषा विद्यालयमा ऐच्छिक पाठ्यक्रमको रुपमा विकास गर्न, थारु भाषालाई स्थापित गर्न र भाषालाई अझ समृद्ध र नम्र बनाउनका लागि यूवा साहित्यकारको महत्वपूर्ण योगदान रहेको बारे प्रशिक्षणसमेत दिएका थिए।
कार्यक्रमका विशेष अतिथि रहेका हरचाली साहित्यिक पत्रिकाका सम्पादक सागर कुश्मी संगतले अबका दिनमा कथा विधालाई समेत यस्ता कार्यक्रममा वाचन गर्नुपर्ने र यसको प्रकाशनमा समेत वृद्धि गर्नुपर्नेमा जोड दिए।
कार्यक्रमका प्रमुख अतिथिको रुपमा रहेका हिरगर साहित्यिक बगाल कैलालीका कोषाध्यक्ष गंगाले जंग्रार साहित्यिक बखेरीले थारु साहित्य तथा भाषाको क्षेत्रमा नेतृत्वदायी र प्रेरणादायी भूमिका खेलेको बताउँदै नयाँनयाँ कामका सुरुवातसमेत गरको बताए। बखेरीले पुस्तक प्रकाशनजस्तो थारु भाषाका लागि महत्वपूर्ण दस्तावेजीकरण गरेकोमा प्रशंसासमेत गरे।
कल्वा खवाही जंग्रार साहित्यिक बखेरी बर्दियाका सदस्य श्याम शराबीको अध्यक्षतामा भएको थियो। शराबीले आगामी दिनमा युवा साहित्यकारले थारु साहित्यको तुलनात्मक विकासका लागि शैक्षिक तथा गुणस्तरीय र सचेतनामूलक साहित्य लेखन गर्नुपर्ने सुझाव दिए। थारु साहित्यमा अझै पनि समालोचनाको विकास र अभ्यास नभइसकेकाले यसतर्फ पनि ध्यान दिनुपर्ने बताए। कार्यक्रममा ठाकुर अकेला, अन्जु चौधरी, अनुराग सायर, लबअबिरल, सुरज बर्दियाली, दर्पण कुसुम्या, मस्तराम हारल मनरख्ना, दिलिप रत्गैंया, सुमित रत्गैंया, बीरबहादुर जलन, एम के कसुम्या, मोहन चौधरी, रमेश मिशनलगायतले साहित्य वाचन र गीतसमेत गायका थिए।
सोही अवसरमा थारु भाषाबारे आम समुदायलाई जानकार बनाउनका लागि थारु भाषामा लेखिएको टिसर्टसमेत वितरण गरिएको थियो।