नयाँ शक्ति पार्टी आज घोषणा हुँदै

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालले आज औपचारिकरूपमा पार्टी घोषणा गर्दैछ। एक लाख सदस्यले दशरथ रंगशालाबाट एकसाथ सपथ लिएर पार्टी घोषणा गर्ने नयाँ शक्ति प्रवक्ता खिमलाल देवकोटाले बताए।

सम्मेलनको पूर्वसन्ध्यामा देशैभरबाट र प्रवासबाट समेत गरेर १४ हजार ५ सय ४६ सदस्यता फारम पार्टी केन्द्रीय कार्यालयमा प्राप्त भएको देवकोटाले जनाए। पार्टी सदस्यताका लागि अनलाइन फारम भर्ने व्यवस्था मिलाइएको थियो। पार्टी घोषणा कार्यक्रममा ७५ वटै जिल्ला र प्रवासबाटसमेत प्रतिनिधिआउनेउनले बताए। आइतबारको घोषणापछि प्रज्ञा प्रतिष्ठानमा छलफल सत्र हुनेछ। पार्टीको राजनीतिक दस्तावेजमा दुई दिन छलफल हुने संगठन विभाग प्रमुख देवेन्द्र पौडेलले बताए।

छलफल सत्रमा तीनवटा दस्तावेज प्रस्तुत हुने बताइएको छ। जसमा संयोजक बाबुराम भट्टराईले राजनीतिक प्रतिवेदन, देवेन्द्र पौडेलले संगठनात्मक तथा विधान प्रतिवेदन र रामेश्वर खनालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने छन्। प्रस्तुत दस्तावेजमाथि ९ वटा समूह निर्माण गरेर छलफल हुने नयाँ शक्तिले बताएको छ। छलफल सत्रबाट अन्तरिम विधानपारित गरिने भए पनि राजनीतिक र सांगठनिकदस्तावेज भने पार्टीको महाधिवेशनले टुंगो लगाउनेछ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरवहादुर देउवालाई अतिथिको रूपमा बोलाइएको छ। शुक्रबार पत्रकारसँग कुरा गर्दै संयोजक भट्टराईले उनीहरूलाई अतिथिको रूपमा बोलाएको र पुनः एकपटक फोन गरेर कार्यक्रममा आउनआग्रह गर्ने बताए।

यस्तै २५ देशका राजदूतलाई अतिथिको रूपमा आमन्त्रण गरेको प्रवक्ता देवकोटाले बताए। भारतबाट पनि विभिन्न पार्टीका नेता आउने बताए। पार्टी घोषणा कार्यक्रममा भारतबाट राष्ट्रिय कांग्रेस युनाइटेडका डिपी त्रिपाठी, जनता दल युनाइटेडका केसी त्यागी र बहुजन समाजवादी सुरधिन्› भदौरिया आउँदैछन्। बिहारका मुख्यमन्त्री नितिशकुमार र आमआद्मी पार्टीका अध्यक्ष अरविन्› केजरीवाललाई कार्यक्रममा निम्तो पठनइए पनि उनीहरू नआउने भएका छन्।बेलायत, कोसोभो, हंगेरी, श्रीलंका, भुटान, भारत, चीन, पाकिस्तान, बंगलादेशमा क्रियाशील राजनीतिक पार्टीलाई पनि आमन्त्रण गरेको नयाँ शक्तिले जनाएको छ। युरोपियन अल्टरनेटिभ, रेड पार्टी नर्वे, द अल्टरनेटिभ डेनमार्कले भने शुभकामना सन्देश पठाएका छन्।

नयाँ शक्तिले मञ्च व्यवस्थापनलाई पनि फरक बनाउने प्रयास गरेको छ। मञ्चमा परम्परागत तरिकाबाट नेता बस्ने र अन्य तल बस्ने पुरानो सिस्टमभन्दा भिन्न प्रयोग गर्न खोजिएको मञ्च व्यवस्थापन उपसमिति संयोजक कुमार पौडेलले बताए। पार्टी घोषणा कार्यक्रममा नेता–कार्यकर्ता दर्शकदिर्घामा सँगसँगै बस्ने उनले जनाए।

पौडेलका अनुसार पार्टीका नेतालाई छुट्टै मञ्च व्यवस्था नभए पनि अन्य पार्टीका नेता, भाइचार संगठन र आमन्त्रित अतिथिलाई भने मञ्च व्यवस्था गरिएको छ। सबै अतिथिको मञ्चसमेत दर्शकदिर्घापट्टि नै व्यवस्था गरिएको र मुख्य मञ्चमा उद्घोषक मात्र रहने पौडेलले बताए।

रंगशालामा मूल गेट र भित्र दुईवटा सहायक गेट गरी तीनवटा गेट निर्माण गरिएको छ भने ६ फिट अग्लो स्टेज बनाइएको छ। सबै अतिथि पूर्वी गेटबाट कार्यक्रम स्थल पुग्नेगरी मिलाइएको पौडेलले बताए। भूकम्पले क्षति पुर्याएको प्याराफिटलाई ध्यान दिँदै त्यहाँ बस्न निषेध गरिएको उनले जानकारी दिए। कार्यक्रमलाई सहजरुपमा हेर्नका लागि चारवटा डिजिटल पर्दा राखिएको छ।

प्रचार–प्रसार शैलीमा पनि नयाँ शक्तिले नयाँ ‘ट्रेन्ड’ देखाएको छ। राजनीतिक दलको महाधिवेशन आउँदै गर्दा सहरका भित्ता नारा, ब्यानर र पोस्टरले भरिने गरे पनि नयाँ शक्तिले त्यस्तो गरेन। प्रचार–प्रसारमा प्रविधि र आमसञ्चारका माध्यम प्रयोग गरेको छ। युट्युब विज्ञापनदेखि पत्रपत्रिकामा उसले विज्ञापन गरेको छ। टेलिभिजन विज्ञापनमा पार्टी संयोजक बाबुराम भट्टराई आफैं देखिएका छन्। दैनिक पत्रिकादेखि अनलाइनमा समेत उसले विज्ञापन गरेको छ भने सामाजिक सञ्जालमा सक्रियता बढाएको छ।

उपत्यकाका कालिमाटी, कुपन्डोल, रत्नपार्क, तीनकुने गरी चार स्थानबाट ट्राफिक व्यवस्थामा असर नपर्ने गरी जुलुस निस्कने देवकोटाले बताए।

यस्तो छ अनुमानित खर्च

नयाँ शक्तिले पार्टी घोषणा कार्यक्रम सम्पन्न गर्न करिब १ करोड ५ लाख लाग्ने अनुमान गरेको छ। प्रवक्तादेवकोटाले जारी गरेकोविज्ञप्तिमा १ लाख १४ हजार ५ सय ४६ सदस्यको रेकर्डअनुसार सदस्यता शुल्कबाट १ करोड २० लाख २७ हजार ३ सय ३० प्राप्त हुने जनाइएको छ। छलफल सत्रमा १५ सय प्रतिनिधि रहने र प्रवेश शुल्क ५ सयका दरले७ लाख ५० हजार संकलन हुने अनुमान छ। छलफल सत्रमा सचिवालय सदस्यबाट १० हजार प्रवेश शुल्क लिइने छ। जसबाट ६ लाख ६० हजार प्राप्त हुनेछ।

नयाँ शक्तिले अन्तरिम केन्द्रीय परिषदका सदस्यलाई कम्तीमा पाँच हजार नघटाइ स्वेच्छिक सहयोग गर्न अनुरोधसमेत गरेको देवकोटाले बताए। जसबाट कम्तीमा१० लाख उठ्ने अनुमान छ। अहिलेसम्म समर्थकबाट २५ लाख सहयोग संकलन भएको विज्ञप्तिमा उल्लेख छ। बैंक खातामा अहिले ७लाख २७ हजार ९ सय ९३ रुपैयाँ रहेको पनि नयाँ शक्तिले जनाएको छ। उसले जम्मा १ करोड ७६ लाख आम्दानी अनुमान गरेको छ।

प्रचार–प्रसारमा ३७ लाख खर्च भएको जनाइएको छ। पार्टी घोषणा सभा व्यवस्थापनमा २० लाख, छलफल सत्रको खर्च १२ लाख, प्रतिनिधिलाई बसोवाससहित व्यवस्थापनमा १४ लाख, जनपरिचालन खर्च १० लाख र विविध खर्चमा १२ लाख अनुमान गरिएको देवकोटाले बताए।

नागरिक दैनिकबाट साभार। तस्बिर सौजन्य : नागरिकन्युज/विजय गजमेर

Leave a Reply

Your email address will not be published.