पश्चिम सेती परियोजना निर्माण हुने नै भयो त?

लालबहादुर ऐरी- पश्चिम सेती परियोजना निर्माणसम्बन्धमा चिनियाँ निर्माण कम्पनी थ्री गर्जेजसँग हालै सम्झौता भएपछि डेढ दशकसम्म ठूलो धैर्यता र सपना साँचेर बसेका सुदूरपश्चिमाञ्चल क्षेत्रका जनता अब चाहीँ परियोजना बन्ने नै भयो भन्ने कुरामा ढुक्क हुन थालेका छन्।

सोह्र वर्षअघि सो परियोजना निर्माण गर्नेसम्बन्धमा अस्टे्रलियाको स्नोइ माउन्टेन इन्जिनियरिङ कन्सल्टेन्सी (स्मेक) सँग सम्झौता भएकोमा स्मेकले विभिन्न कारण जनाउँदै परियोजना निर्माणमा देखाएको सुस्तताले स्थानीय बासिन्दामा निरासा छाएको थियो।

सुदूरपश्चिमवासीले आफ्नो क्षेत्रमा देशकै ठूलो जलविद्युत् परियोजना बन्ने भएपछि खुसियालीसँगै आफ्नो क्षेत्रको आर्थिक विकास, रोजगारी एवम् राज्यका आधारभूत पूर्वाधारहरु पनि परियोजना निर्माणसँगै बन्ने आशा र अपेक्षा करिब डेढ दशकसम्म राख्दै आएका थिए।

परियोजना निर्माणका लागि स्मेकसँगको सम्झौतापछि सुदूरपश्चिमवासीले त्यतिबेला धेरै सपना साँचेको बताउँदै सुदूरपश्चिमाञ्चल क्षेत्रीय उद्योग वाणिज्य सङ्घका अध्यक्ष लोकराज भट्टले त्यतिबेलाको अवस्थालाई सम्झदै भन्नुभयो–त्यो गलत पनि थिएन किनकि राज्यका आधारभूत पूर्वाधारको पहुँचबाट समेत वञ्चित यसक्षेत्रका बासिन्दाले त्यति ठूलो परियोजनाबाट केही अपेक्षा राख्नु स्वाभाविकै थियो।

परियोजना प्रभावित क्षेत्रमा लगत लिनेदेखि गाउँमा सूचना केन्द्र स्थापनासम्मका कार्य हुँदा हामीमा उत्साह ल्याउँथ्यो भन्दै पश्चिम सेती प्रभावित क्षेत्र लुहावणीका अगुवा योगेन्द्र बलायर भने– तर समय समयमा परियोजनाका सन्दर्भमा उठ्ने विरोधाभास कुरा र कम्पनीको कार्यसुस्तताले परियोजना निर्माणमा आशङ्का पनि उब्जिन्थ्यो।
उनले अगाडि भने– परिणाम साँच्चिकै स्मेकले पश्चिम सेती नबनाउने नै आयो, जसले हाम्रा करिब १६ वर्षसम्मका आशालाई निरासा र अन्योलमा परिणत गरिदियो, पछिल्लो पटकको सम्झौताले भने हाम्रा सपनालाई पुनर्जन्म दिएको छ।

सो परियोजना सञ्चालनका लागि नेपाल सरकार र चिनियाँ कम्पनी थ्री गर्जेजबीच अर्को सम्झौता भएपछि प्रभावित क्षेत्रका स्थानीयमात्र नभई समग्र सुदूरपश्चिमवासीमा खुसियाली छाएको छ।

‘सेतीको काम हुन्या भयो भन्ना’ (सेतीमा काम हुने भयो भन्छन्) प्रभावित क्षेत्र बन्डोर सैनकी जमुनादेवी धामीले भनिन्–हामीले पनि काम पाउने आशा छ, हाम्रा श्रीमान्ले पनि काम गर्नका लागि भारत नजानुपर्ने हुन्थ्यो।

विश्वमै सबैभन्दा ठूलो जलविद्युत् परियोजना निर्माणको अनुभव भएको थ्री गर्जेजसँग नेपालकै ठूलो जलविद्युत् परियोजना निर्माणका लागि भएको सम्झौतालाई सबै क्षेत्रमा साकारात्मकरुपमा लिइएको छ। निर्माणप्रक्रिया, समय र लगानीका दृष्टिले थ्री गर्जेजसँगको सम्झौता सुदूरपश्चिमका साथै समग्र मुलुककै लागि हितकारी भएको विश्लेषण यस क्षेत्रमा भइरहेको पाइएको छ।

बढ्दो ऊर्जा सङ्कटका बेला पश्चिम सेती परियोजना निर्माणबारे भएको सम्झौताले ऊर्जा सङ्कट सामाधानको बाटो पहिल्याएको विश्लेषण गाउँस्तरदेखि नै हुन थालेको छ। ऊर्जा सङ्कटका कारण व्यावसायिक क्षेत्र धरासायी भइरहेका बेला सो सम्झौता सकारात्मक भएको र यसको कार्यान्वनले नेपालको व्यावसायिक क्षेत्रले ऊर्जा सङ्कटबाट मुक्ति पाउने व्यवसायीको विश्वास छ।

परियोजना सम्पन्न भएपछि सुदूरपश्चिममा उद्योग व्यापार अभिवृद्धिको ढोका खुल्ने विश्वास व्यक्त गर्दै नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य प्रकाशबहादुर साउद भने- परियोजना निर्माणबाट ऊर्जा सङ्कट न्यूनीकरणमा सहजता आई मुलुकले आर्थिक विकासको बाटो लिनेमा दुईमत छैन।

सो परियोजनाबाट उत्पादित जलविद्युत् मुलुकमै खपतका लागि भएकाले पनि आर्थिक विकासमा परियोजना कोसेढुङ्गा सावित हुने जलस्रोतविज्ञहरु बताउँछन्। जलस्रोतविज्ञ पत्रकार विकास थापा भन्छन्– नेपालका लागि लोडसेडिङ अन्त्यको सर्वोत्तम विकल्प विद्यमान जलस्रोतको उपयोग नै भएकाले देशकै बढी विद्युत् उत्पादन क्षमता भएको पश्चिम सेती निर्माणको कति महत्व छ भन्ने स्पष्ट हुन्छ। स्थानीय बासिन्दाको जीवनस्तर सुधारका लागि त परियोजना झनै महत्वपूर्ण छ भन्दै थापाले भने– तर त्यसका लागि स्थानीय बासिन्दा नै बढी सजग र सहयोगी बन्नु जरुरी छ।

परियोजना निर्माणका लागि भएको सम्झौता तत्काल कार्यान्वयनमा आउनुपर्ने माग गरिरहेका स्थानीय बासिन्दाले पनि रोजगारी, स्थानीयस्तरमा पूर्वाधारको विकास, घरेलु उत्पादनको व्यापारलगायतका विकास तथा आर्थिक लाभका सम्भावना निकै बढ्ने अपेक्षा राखेका छन्।

सरकारी क्षेत्रबाट निर्माण हुननसकेका आवश्यक सडक, भवनलगायतका विकासका पूर्वाधार निर्माण हुने विश्वास व्यक्त गर्दै प्रभावित क्षेत्र डडेल्धुरा, बेलापुरका खडक कैनीले भने–परियोजनाबाट प्राप्त हुने रोयल्टीले यस क्षेत्रको अन्य विकासका लागि सरकारी बजेटको मूख ताक्नुपर्ने अवस्था पनि रहने छैन।

परियोजनाबाट स्थानीय क्षेत्रमा १२ प्रतिशत रोयल्टी प्राप्त हुनेछ। जुन रकम स्थानीय क्षेत्रको विकासका लागि पर्याप्त हुने देखिन्छ। ७५० मेघावाट विद्युत् उत्पादन क्षमता रहेको पश्चिम सेती परियोजनाको कुल लागत एक अर्ब ६० करोड अमेरिकी डलर हुने जनाइएको छ। सम्झैाताअनुसार १० प्रतिशत स्थानीय बासिन्दाले शेयर लगानी गर्न पाउनेछन् भने २५ प्रतिशत लगानी नेपाल सरकार र बाँकी थ्री गर्जेजको हुनेछ। सम्झौताअनुसार परियोजनाको निर्माणकार्य सन् २०१९/२० मा सम्पन्न हुनेछ।

परियोजना निर्माणका लागि भएको अन्तिम सम्झौतापछि हर्षित स्थानीय बासिन्दा अहिले परियोजना कार्यान्वयनको व्यग्र पर्खाइमा छन्। स्थानीय बासिन्दाको एउटै आवाज र माग छ–सम्झौता तत्काल कार्यान्वयनमा ल्याइयोस्, त्यसमा नेपाल सरकार र सम्झौताकर्ता थ्री गर्जेज पनि गम्भीर बनोस्। स्थानीय बासिन्दाले विगतमा जस्तै १६ वर्षसम्मको आशा निरासामा परिणत नहोस्, परियोजनाबाट हाम्रा अपेक्षा पनि पूरा होस् भन्नेमा बढी जोड दिएका छन्। रासस

Leave a Reply

Your email address will not be published.